गसिप

प्रकाश सपुत अनुपस्थित, उनकै चर्चा

By खबरहब

October 17, 2024

काठमाडौं– गायक प्रकाश सपुतको केन्द्रीयमध्ये एक भूमिकामा रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदै छ । कलमपोखरीस्थित एक हलमा बिहीबार यसको ट्रेलर सार्वजनिक भयो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका केन्द्रीय पात्र नायकद्वय विजय बराल, मुकुन भुसाल र नायिका अञ्जना बराइलीसहित अन्य कलाकार उपस्थित थिए । प्रकाश सुपत आएनन् ।

किन प्रकाश अनुपस्थित ? भन्ने प्रश्नमा निर्देशक सरोज पौडेलको जवाफ थियो, ‘खोइ उहाँ वसन्तको सुटिङमा व्यस्त हुनुहुन्छ होला !’

प्रकाशले फिल्मका प्रचार समाग्री र गीतहरु फेसबुकमा पनि सेयर गरेका छैनन् । सोहीकारण पनि उनको खोजी भएको हो ।

निर्माण पक्ष र प्रकाशबीच खटपटको विषयले पनि कार्यक्रममा स्थान पायो । निर्माता विनोद पौडेलले यसबारेमा खुलेर बोले ।

निर्माता पौडेलका अनुसार प्रकाशसँग ‘वसन्त’भन्दा पछि ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शन गर्ने सहमति भएको थियो । आफ्नो लेखन, निर्देशन र अभिनय रहेने फिल्म ‘वसन्त’ पहिला प्रदर्शन गर्ने सहमति भएरै प्रकाश ‘पूर्णबहादुरको सारङ्गी’मा अनुबन्ध भएको पौडेलले स्वीकार गरे ।

पौडेलले भने, ‘प्राविधिक कारणले पूर्णबहादुरको सारङ्गी पहिला प्रदर्शन गर्नुपर्ने भएपछि प्रकाशसँग छलफल भएको हो । उहाँ ठीकै छ भनेर हिड्नुभएको हो । उहाँहले प्रचार सामाग्री केही सेयर गर्नुभएको छैन । आज पनि आउनु भएन । कुरा यही हो ।’

१२ बजेको शोका लागि हल खाली गर्नुपर्ने चापमा कार्यक्रम सुरु भएको थियो । समय अभावले ट्रेलरबारे पत्रकार र निर्माण पक्षबीच करिब सात मिनेट प्रश्न–उत्तर भयो । जति भयो, प्रकाशकै मात्रै चर्चा भयो ।

पूर्णबहादुरको सारङ्गीको ट्रेलर यस्तो छ :