काठमाडौं- यो वर्ष लगातार दुई हिट फिल्म ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’ दिएकी नायिका हुन् अञ्जना बराइली । उनको पछिल्लो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनरत छ ।
फिल्मका निर्माता विनोद पौडेलका अनुुसार उक्त फिल्मले सुरुवाती १५ दिनमा ३० करोडको व्यापार गरेको छ । यही फिल्मकी नायिका अञ्जना भने अर्को फिल्ममा ‘डोरी’मा अनुबन्ध भएकी छन् ।
निर्देशक अरुण लामाका अनुसार फिल्ममा उनको केन्द्रीय भूमिका रहेको छ । उनीसँग कागजी सम्झौता भइसकेको लामाले जानकारी दिए ।
निर्देशक लामाको भनाइअनुसार यो फिल्म पारिवारको आर्थिक बोझ कम गर्न जोखिमपूर्ण निर्णय लिने र दुष्चक्रमा फसेका युवाको कथामा आधारित छ । ती युवाको घटनाक्रमलाई हाँसो, त्रास र रोचक ढंगले पर्दामा प्रस्तुत गर्ने उनको दाबी छ ।
यसअघि नै फिल्ममा नायक प्रवीण खतिवडा, प्रकाश घिमिरे, शिशिर वाङ्देल, कविता आले, राज पौडेललगायतका कलाकार अनुबन्ध भइसकेका छन् ।
यस फिल्मको कथा निर्देशक लामा आफैँले लेखेका हुन् । जी सेभेन प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मको निर्माता मिस्टर एक्सु र कार्यकारी निर्माता राज थापा हुन् ।
निर्देशक लामाका अनुसार मंसिर दोस्रो साताबाट छायाङ्कनमा जाने तयारी छ । फिल्म सन् २०२५ मा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।