ब्रेकिङ स्टोरी

रविलाई म्याद थपका लागि आज अदालत लगिँदै

By खबरहब

December 17, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउने भएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसअघि लामिछानेमाथि अनुसन्धानका लागि सात पटक म्याद थपिइसकेको छ ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको समेत मुद्दा भएकाले ९० दिन अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ ।

लामिछानेविरुद्ध आगामी शुक्रबारसम्म जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको पुस ५ गते ९० दिन पुग्दैछ । लामिछानेलाई पनि जोशी पक्राउ परेको मितिबाट म्याद मिलाइएको प्रहरीले जनाएको छ ।