ब्रेकिङ स्टोरी

रवि लामिछानेको ‘ब्याड फ्राइडे’ – प्रचण्डको सन्देश, पक्राउ पुर्जी र प्रहरीको घेरा

By खबरहब

October 18, 2024

काठमाडौं – हप्ताको अन्तिम अर्थात्‌ सप्ताहन्त शनिबारको अघिलो दिन शुक्रबारलाई कामकाजी मानिसहरू ‘गुड फ्राइडे’ मान्छन्‌ । भोलिपल्ट बिदा हुने हुनाले शुक्रबारको साँझदेखि नै साथीभाइ र परिवारसँग रमाउन थाल्ने चलन छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पार्टी सभापति रवि लामिछाने पनि अघिल्लो दिन बिहीबारसम्म पार्टी कामकाजमै थिए । तर, शुक्रबार बिहानसम्म उनको हकमा ‘गुड फ्राइडे’ हराइसकेको थियो ।

गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक छँदा सञ्‍चालक गितेन्द्रबाबु राईसँग मिली पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अवैध रूपमा ल्याइ अपचलन गरेको आरोपमा उनीविरुद्ध यसअघि नै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेकै थियो । संसदीय छानबिन समितिले पनि लामिछानेलाई दोषी करार गरिसकेको थियो ।

सहकारी ठगी प्रकरणमा केही प्रक्रिया बाँकी थियो त लामिछानेको पक्राउ ! सत्तारुढ दलका नेता/कार्यकर्ताले लामिछानेलाई दशैँअघि नै पक्राउ गरिने बताइरहेका थिए ।

तर, संसद्‌को चौथो ठूलो दलको सभापतिलाई ‘कर्‍यापझ्याप’ पार्नका लागि प्रहरीले सम्भवतः सरकारकै निर्देशन पर्खिएको थियो । पछिल्लो समय रक्षात्मक र मौन देखिएको सरकार पनि ‘केही गरेर नागरिकको ध्यान आकृष्ट गर्नुपर्ने’ बाध्यतामा देखिन्थ्यो । त्यस निम्ति सरकारका अघि सहकारी ठगीमा मुछिएका र संसदीय समितिबाट दोषी ठहर भएका रवि लामिछाने पक्राउको ‘रेसिपी’ थियो ।

सरकार अन्ततः ‘लामिछाने रेसिपी’ चलाउने निर्णयमा पुग्यो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले त अघिल्लो दिन बिहीबार बसेको संक्रमणकालीन न्यायसम्बन्धी बैठकमै लामिछानेलाई पक्राउ गर्नेबारे भएको सामान्य छलफलको आशय बुझेका थिए । त्यसैले शुक्रबार बिहान विपक्षी दलहरूको बैठकमा दाहालले लामिछाने पक्राउ पर्नसक्ने बताइदिए ।

यो पनि-

विपक्षी दलको बैठकमा प्रचण्डले भने – रविजी पक्राउ पर्न सक्नुहुन्छ

दाहालको कुरा सुनेपछि लामिछानेले यसबारे अन्य दलको धारणा बुझ्न खोजेका थिए । तर, अन्य दलले ‘दोषी हो भने कारबाही भोग्नुपर्ने’ बताइदिएपछि रवि निराश देखिएका थिए । आफू दोषी नभएको र दोषी भए सजाय भोग्न तयार भएको तर्क गर्दै उनी बैठक सकेर बाहिरिएका थिए ।

बैठक सकेपछि आफ्नो गाडी संसद्‌ भवनमै छाडेर लामिछाने उपसभापति अर्यालको गाडी चढेर पार्टी कार्यालय चमती पुगेका थिए । मध्याह्न १२ बजेतिर पार्टी कार्यालय पुग्नुअघि नै रास्वपाका समर्थक चमतीमा जम्मा हुन थालेका थिए ।

रास्वपा पार्टी स्रोतका अनुसार पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रहरी अधिकारीहरूले आज (शुक्रबार) नै समात्नेगरी पक्राउ पुर्जी जारी हुँदै गरेकाले आवश्यक व्यवस्था मिलाएर तयार रहन ‘अनुरोध’ गरेका थिए । त्यस्तो सूचना पाएपछि अब जुनसुकै हालतमा पक्राउ पर्ने बुझेका लामिछाने बेचैन देखिन्थे । कार्यकर्ता तहमा पनि यो सन्देश पुगिसकेको थियो ।

अन्ततः शुक्रबार दिउँसो नै जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्रन प्रहरीलाई अनुमति दियो । रविसहित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका १४ जनालाई समात्न प्रहरीलाई अदालतले अनुमति दिएको थियो ।

अदालतबाट अनुमति लिएर प्रहरीले तत्कालै लामिछाने सहितलाई समात्न पक्राउ पुर्जी जारी गर्‍यो । लामिछानेसहित विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भयो ।

यो पनि-

यस्तो छ रवि लामिछानेलाई समात्न जारी पक्राउ पुर्जी

कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंलाई ‘मानिस पक्राउ गरी पठाइदिन’ पत्राचार गर्‍यो ।

पत्र प्राप्त हुनासाथ प्रहरी टोली शुक्रबार अपराह्न रास्वपाको पार्टी कार्यालय चमती पुग्यो । रास्वपा कार्यालयको परिसर प्रहरीको तीनवटै कार्यालयका अधिकृत र जवानहरूले भरिएको थियो ।

प्रहरी टोली पुगेपछि पनि झण्डै डेढ घण्टासम्म लामिछाने पार्टी कार्यालय परिसरमा झरेनन् । दोस्रा र तेस्रा तहका नेताहरूले पार्टी कार्यालयमा जम्मा भएका कार्यकर्तालाई संयमित हुन आग्रह गर्दै थिए ।

आवश्यक व्यवस्थापन गरी कार्यालय प्राङ्गणमा झरेका लामिछानेले थोरै समय कार्यकर्तालाई सम्बोधन गरे । आफूले कुनै पनि अपराध नगरेको दाबी गर्दै उनले आफूमाथि पुरै राज्य खनिएको बताए ।

उनले भने, ‘अभियानको आसा भरोसामाथि प्रहार भएको छ । म अदालती प्रक्रियालाई सम्मान गर्छु । तर राजनीतिक प्रतिरोधको हेक्का राख्छु । आदरणीय दाजुभाइ दिदी बहिनी मैले कुनै अपराध गरेको छैन । राज्यले सम्पूर्ण शक्ति लगाएर म विरुद्ध लागेको छ । म यसको डटेर सामना गर्छु ।’

पार्टी कार्यालयको कार्यकक्षबाट ग्राउण्डमा निस्कँदा ‘रवि दाइ हाइ हाइ’ भन्दै हुटिङ लगाएका कार्यकर्ता रविलाई पक्राउ गरी प्रहरीले पोखरातर्फ लैजाँदै गर्दासम्म प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध नाराबाजी गर्दैथिए ।

तर, सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दिनहुँ दोहोर्‍याइरहेका रविलाई त्यस्तो सफाइ र कार्यकर्ताको नाराबाजीले पक्राउ हुनबाट रोक्न सकेन । अन्ततः दशैँको मैजारो नहुँदै शुक्रबारको दिन रवि लामिछानेका लागि ‘ब्याड फ्राइडे’ भैदियो ।

कास्की जिल्ला अदालतको अनुमतिबाट प्रहरीले शुक्रबार जारी गरेको पक्राऊ पूर्जीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि दुईवटा अभियोग लागेका छन्, एउटा– सहकारी ठगी र अर्को संगठित अपराध ।

संगठित अपराधको अभियोगमा प्रहरीले दुई महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । सहकारी ठगीसम्बन्धी कानूनको तुलनामा संगठित अपराधसम्बन्धी कानून निकै कडा मानिन्छ ।

यो पनि-

रविमाथि दुई अभियोग : सहकारी ठगी, संगठित अपराध