ब्रेकिङ स्टोरी

‘१२ गाउँ’ : अपवाद बन्दै बहस छेड्न सफल

By संगम ढकाल

October 18, 2024

काठमाडौं – यो दशैँ नेपाली फिल्मका लागि विशेष रह्यो । असोज २४ अर्थात् फूलपातीबाट तीन फिल्म ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आए । घटस्थापनाबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले पनि उच्च अकुपेन्सीका साथ यी तीन फिल्मसँगको प्रतिस्पर्धामा स्थान बनायो ।

‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘बेहुली फ्रम मेघौली’ सामाजिक कथा आधारित फिल्म हुन् । ‘१२ गाउँ’ एक्सन जनराको फिल्म हो ।

सुपरहिट नेपाली फिल्मका घरेलु दर्शक संख्या करिब पाँच लाख हो । ५१ दिन मनाउन सफल फिल्म उही पाँच लाख वरपर संख्याका दर्शकले हेरेका हुन्छन् ।

बक्स अफिस रिपोर्टलाई आधार मान्दा दशैँका ६ दिन (फूलपाती असोज २४ देखि २९ गतेसम्म) करिब ६ लाख दर्शक फिल्म हलमा पुगेको पाइन्छ । दशैँमा यति उल्लेख्य संख्यामा दर्शक हलमा पुगेको इतिहास छैन ।

फिल्म क्षेत्रका जानकारहरू दर्शकमा हलको उपस्थिति बाक्लिनुको जस ‘१२ गाउँ’लाई दिन्छन् । यस फिल्मले ‘दशैँमा एक्सन फिल्म चल्दैन’ भन्ने मान्यतालाई पनि भत्काएको छ ।

‘१२ गाउँ’ को अकुपेन्सीले फिल्मी वृत्तमा नयाँ बहस छेडेको छ । चलचित्र क्षेत्रमा सक्रिय नामहरूले ‘दर्शकले नयाँ प्याट्रनका फिल्म खोज्न थालेछन्’ भन्ने अड्कलबाजी लगाउन थालेका छन् ।

अर्थात्, दर्शकले पछिल्लो दशक बनेका सामाजिक र यथार्थवादी फिल्मभन्दा फरक स्वादका फिल्म खोज्न थाले । धेरैको अनुमान हो – दर्शकले खोजेको नयाँ स्वाद ‘एक्सन जनारा’ हो ।

अब एक्सनको लहर ?

बितेका दशकमा सामाजिक कथामा आधारित फिल्ममा ‘ह्युमर’ मिसाएर बढीभन्दा बढी दर्शकलाई हलमा तान्न सफल मेकरहरू मध्येमा पर्छन्– दीपकराज गिरी र निर्देशक तथा लेखक प्रदीप भट्टराई ।

उनीहरू दुईमा पनि अब दर्शकले यर्थाथवादी र सामाजिक फिल्मको विकल्पको स्वाद खोज्ने समय आएको बुझाइ छ ।

दीपक भन्छन्, ‘हरेक १० वर्षमा सिनेमाको प्याट्रन परिवर्तन हुन्छ । सामाजिक कथामा ह्युमर मिसाएर फिल्म बनाउन थालेको दशक भयो । अब यो परिवर्तन हुने समय भयो । दक्षिण भारतीय फिल्म हेरेर हुर्किएको पुस्ताको स्वाद सम्बोधन गर्न एक्सन फिल्म आवश्यक रहेछ ।’

निर्देशक भट्टराईको मत पनि दीपकको भन्दा फरक छैन । उनी भन्छन्, ‘स्वाभाविक रूपले दर्शकले निश्चित समयमा नयाँ स्वाद खोज्नुहुन्छ । यो नयाँ स्वाद खोज्ने समय हो भनेर नकार्न सकिँदैन । हामीले यो कुरा थाहा पाउन जरुरी छ कि सबै जनारको दर्शक उत्तिकै हुनुहुन्छ । अहिले बनिरहेको फिल्मका दर्शक पाँच लाख छन् भने एक्सन, थ्रिलर, हरर जनारा रुचाउने पनि उत्तिकै हुनुहुन्छ ।’

यद्यपि, अब एक्सन फिल्मकै लहर आउनेमा भने ठोकुवा गर्न नसकिने उनी बताउँछन् ।

यो पटक दशैँमा १२ गाउँको अकुपेन्सीले दर्शकको एक्सन फिल्ममा आकर्षण रहेको भन्दा अतिशयोक्ति नहुने निर्देशक जनकदीप पराजुलीको तर्क छ । उनको आशंका छ, ‘अबका दिनमा एक्सन जनराका फिल्मले स्थान बनाउँछन् कि ?’

लेखक तथा समीक्षक सामीप्य तिमल्सेना ।

समीक्षक तथा लेखक सामीप्य तिमल्सेना ‘१२ गाउँ’ को अनुपेन्सीलाई अपवाद मान्छन् । यो फिल्मको व्यापारका पछाडि ‘स्टार किड’को आगमन र छक्का पञ्जाको विकल्प प्रमुख कारक रहेको उनको विश्लेषण छ ।

‘स्टार किडको स्वागतमा दर्शकले साथ दिएका थुप्रै उदाहरण छन् । १२ गाउँको अकुपेन्सीमा पनि अभिनेता विराज भट्टका छोरा समीरको डेब्यूको प्रभाव छ,’ उनी थप्छन्, ‘सामाजिक सञ्जालमा छक्का पञ्जा टिमलाई एकोहोरो खेदिएको देखियो । विभिन्न कारणले छक्का पञ्जाको विकल्प खोज्न पनि यो फिल्म हेरेको पाइएको छ । यो सामाजिक सञ्जाल हेर्दा स्पष्ट हुन्छ ।’

नेपाली फिल्म निर्माणको प्याट्रन परिवर्तन हुने सङ्घारमा रहे पनि १२ गाउँकै कारण एक्सन फिल्मको लहर आइनहाल्ने उनको विश्लेषण छ । फिल्म निर्माणको नयाँ प्रवृत्ति विकास गर्ने कन्टेन्ट आफूले १२ गाउँमा नपाएको सामीप्य बताउँछन् ।

भन्छन्, ‘१२ गाउँ एक्सनको लहरै ल्याउने खालको सशक्त फिल्म होइन । यो पुरानै ढर्राको एक्सन फिल्म हो । यसको अकुपेन्सी अनपेक्षित भयो । यो अपवादको व्यापार हो । यसलाई माइलस्टोन मानेर फिल्म बन्छन् जस्तो लाग्दैन । बने भने जोखिममा पर्छन् ।’

उनी थप्छन्, ‘१२ गाउँमा नवीनता केही छैन । माइलस्टोन मान्नुपर्ने पाटो पनि छैन । प्याट्रन परिवर्तन गर्न लुटजस्तो फिल्म चाहिन्छ । कलात्मक रूपमा यसले लुटलाई पनि भेट्न सकेको छैन । लुटले छाडा शब्द, यथार्थवादी संवाद र चरित्र फिल्ममा राख्ने प्रवृत्ति नै विकास गरेको थियो । यी पक्षमा १२ गाउँ कमजोर नै छ ।’

दशैँले ल्याएको माहोल

यो दशैँमा चार फिल्म प्रदर्शनमा आउँदा सुस्ताएको सिनेमा बजार केही हदसम्म माथि उठाउन सहयोग पुगेको चलचित्रकर्मीहरूको बुझाइ छ । दर्शकबाट चारै फिल्मले सकारात्मक प्रतिक्रिया पाउनु सुखद पक्ष रहेको निर्देशक जनकदीप पराजुली बताउँछन् ।

भन्छन्, ‘फिल्म प्रदर्शनको सङ्घारमा रहँदा सिनेक्षेत्र एकदमै गर्मागर्मी बनेको थियो । दर्शकमा पनि उत्सुकता पैदा गरेको थियो । यो पटक नेपाली फिल्म कस्ता बन्दैछन् भनेर दर्शक हलमा गएको अवस्था हो जस्तो मलाई लाग्छ । दर्शकले सबै फिल्मलाई मन पराउनु पनि भयो । यो फिल्मको व्यापारका लागि दीर्घकालीन फाइदाको पक्ष हो ।’

निर्देशक जनकदीप पराजुली ।

यही दशैँबाटै चलचित्र क्षेत्रले नयाँ नायकका रूपमा समीरलाई पाउनु पनि उपलब्धिको पाटो रहेको उनी बताउँछन् । भन्छन्, ‘दर्शकले उहाँको काम मन पराउनुभएको रहेछ । विराजजीले सिनेमा क्षेत्रलाई नयाँ नायक (समीर) दिन राम्रै गृहकार्य गर्नुभएको रहेछ ।’

त्यस्तै, दशैँमा पनि एक्सन फिल्मको व्यापार राम्रो हुने रहेछ भन्ने सन्देश यो पटक पाइएको निर्देशक प्रदीप भट्टराई बताउँछन् ।

भन्छन्, ‘पहिला एक्सन फिल्म चल्दैन भन्ने नै आमबुझाइ थियो । यो पटक त दुईभन्दा बढी फिल्म पनि हलमा चल्दा रहेछन् र व्यापार पनि गर्दा रहेछन् भन्ने पुष्टि भयो । अनि दशैँमा फिल्मको जनाराले पनि त फरक पर्दो रहेनछ नि !’