काठमाडौं- चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ । चन्द्रागिरि–४ गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाताभित्रै थप १५ श्ययाको नगर अस्पताल बनाउन लागिएको हो ।
मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो । गत असार २० मा चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनीका बीचमा दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो ।
करबाहेक रु १७ करोड ४९ लाख ३४ हजार एक सय ९९ मा तीन तल्ले भवन बन्ने जनाइएको छ । नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेल, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल लगायतले संयुक्तरुपमा सो भवनको बुधबार शिलान्यास गरे । सो अवसरमा उपप्रमुख श्रेष्ठले नयाँ बन्ने भवनले चन्द्रागिरि नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् भने कार्यकारी अधिकृत अर्यालले भवन निर्माण समयै सम्पन्न गर्न आग्रह गरे ।
यसैबीच नगरपालिकाले बुधबारदेखि विद्युतीय घर नक्सा पास प्रणाली कार्यान्वयनमा ल्याएको छ । अब घर नक्सापास सम्बन्धि सबै काम विद्युतीय माध्यमबाट हुने जनाइएको छ ।