ब्रेकिङ स्टोरी

राष्ट्रियसभा निर्वाचन : कृष्ण सिटौला कति सुरक्षित ?

By ज्ञानु घिमिरे

January 18, 2024

काठमाडौं– राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ । कोशी प्रदेशको हकमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला मतभारको हिसाबले बहुमतमा छन् । तर, गणितले साथ दिँदादिँदै पनि उनी केही जोखिममा देखिएका छन् ।

गठबन्धनमा तर्फबाट कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला उम्मेदवार छन् । राप्रपाले बिरानगरका पूर्वउपप्रधानपञ्च समेत रहेका उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । एमालेले पर्शुराम अधिकारीलाई उम्मेदवार बनाएको छ । तर, एमालेले आफ्नो उम्मेदवार उठाए पनि कृष्ण सिटौलालाई राष्ट्रियसभामा रोक्न राप्रपालाई सहयोग गर्नेमा अध्यक्ष लिङ्देन आशावादी देखिन्छन् ।

राप्रपा अध्यक्ष लिङदेनले केही दिन अगाडि खबरहबसँगको कुराकानीमा निर्वाचनको अन्तिम तयारीसम्म परिदृश्य फेरिने संकेत आएको बताएका थिए । तर, एमाले र राप्रपाले बेग्लाबेग्लै उम्मेदवार उठाए । निर्वाचन आयोगले तोकेको पुस २९ भित्र कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । राप्रपा र एमाले बेग्लाबेग्लै लड्दा सिटौलाको जित लगभग निश्चितजस्तै छ ।

कुनै राजनीतिक परिवर्तन नभए सिटौलालाई जित्न सहजै छ । तर, कोशीको राजनीति हो, गत साल पनि राष्ट्रियसभाको चुनावमा गठबन्धनका उम्मेदवार हेमराज राई हारेर एमालेका सोनाम ग्याल्जेन शेर्पाले जितेको नजिर छ । यही कारणले गर्दा कांग्रेस नेता सिटौला अहिले विभिन्न जिल्लाको दौडधूपमा लागेका छन् ।

कसको कति मतभार ?

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्छन् । एकजना प्रदेशसभा सदस्यको मतभार ५३ गणना गरिन्छ । कोशी प्रदेशमा ९३ सांसद छन् । उनीहरुको कुल मतभार ४ हजार ९ सय २९ हुन जान्छ ।

(प्रदेशसभाका मतदाताहरुको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्)

कोशी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल हो । उसित ४० सिट छ । राप्रपासँग ६ सिट छ । गठबन्धनतर्फ कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ सिट छ ।

हेर्नुहोस् प्रदेशसभाको सिट र मतभार–

स्थानीय तहको कुरा गर्दा कोशी प्रदेशमा १३७ वटा पालिका छन् । ती पालिकाका प्रमुख र उपप्रमुख गरी २७४ जनाले मतदान गर्न पाउँछन् । स्थानीय तहका एक जनाको मत बराबर १९ मतभार गणना गरिन्छ । यसो गर्दा कोशी प्रदेशमा स्थानीय तहका मतदाताको कुल मतभार ५ हजार २ सय ६ हुन जान्छ ।

(प्रदेशसभाका मतदाताहरुको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्)

कोशी प्रदेशका स्थानीय तहमा कांग्रेस र एमालेको पोजिसन लगभग बराबरजस्तै छ । स्थानीय तहका २७४ मतदातामध्ये कांग्रेससँग ११३ जना छन् भने एमालेसँग ११२ जना छन् । त्यस्तै, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४, जसपासँग ४ र राप्रपासँग ३ जना मतदाता छन् । स्थानीय तहमा धरानका हर्क साम्पाङसहित ३ जना स्वतन्त्रको मतभार ५७ रहेको छ ।

स्थानीय तहका एकजना मतदाताको मतभार १९ तोकिएको छ ।

हेर्नुहोस् कोशीमा स्थानीय तहको मतभार–

कोशीमा प्रदेशसभा सदस्य र पालिका प्रमुख–उप्रमुखको कुल मतभार १० हजार १ सय ३५ हुन जान्छ । यसमा जसले बहुमत ल्याउँछ, उसैले राष्ट्रिय सभा सदस्य पदमा जित हात पार्छ ।

कोशीको समग्र दलीय मत भार हेर्दा गठबन्धन दलसँग ५ हजार ४३६ मत छ । यता एमालेसँग ४ हजार २४८ मात्रै मत छ । राप्रपासँग ३ सय ९४ र स्वतन्त्रसँग ५७ मतभार छ । एमाले, राप्रपा र स्वतन्त्रको सबै जोड्दा पनि गठबन्धनको भन्दा कमै हुन्छ ।

हेर्नुहोस् कोशीको कुल मतभार–

सिटौला सुरक्षित कि जोखिममा ?

अब प्रश्न उठ्छ, गणित नै यस्तो राम्रो साथ दिएको अवस्थामा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला ‘डेञ्जर जोन’मा छन् भनेर दाबी गर्न सकिन्छ ? कि उनी सुरक्षित जोनमा छन् ? एकपटक गणितको जोखिम हेरौं ।

प्रदेशसभामा गठबन्धनको भन्दा एमालेको मतभार ३७१ कम छ । राप्रपासँग ३१८ छ । एमाले र राप्रपा मिल्दा गठबन्धनको मतभार ५३ बढी हुन्छ, अर्थात् एकजना सांसदको भोट पुग्दैन । यो अवस्थामा गठबन्धनतर्फका एकजना सांसद अनुपस्थित रहँदा वा क्रस भोटिङ यताउति भइदिँदा प्रदेशसभामा कृष्ण सिटौलालाई बहुमत नपुग्न सक्ने जोखिम देखिन्छ ।

स्थानीय तहतर्फ एमालेसँग गठबन्धनको भन्दा ८१७ मतभार कम छ । यो भनेको ४३ जना स्थानीय जनप्रतिनिधिको मत हो । प्रदेशसभाबाट यसलाई कभर गर्ने हो भने १६ जना सांसद बराबरको मत हो यो । तर, नेपाली कांग्रेसभित्रको अन्तरविरोधका कारण कांग्रेसका ११३ जनप्रतिनिधि मध्ये ४३ जनाले गठबडी गरे, या केही अनुपस्थित रहिदिए भए यसले सिटौलालाई जोखिममा पार्न सक्छ । तथापि ४३ जना जनप्रतिनिधि भनेको ठूलो संख्या भएकाले सिटौलालाई प्रदेशबाट भन्दा स्थानीय तहबाट जोखिम कम हुने देखिन्छ ।

तर, स्थानीय तहमा माओवादीका ३१, एकीकृत समाजवादीका ७ र जनता समाजवादीका ४ समेत गरी ४२ जनप्रतिनिधि छन्, उनीहरुको विश्वास सिटौलाले कति जित्न सक्छन्, त्यसैमा उनको जित भर पर्छ । गठबन्धनको विश्वास मात्र होइन, आफ्नै पार्टीभित्रको अन्तरघातबाट पनि उनले जोगिन जरुरी देखिन्छ ।

अब राजनीतिक जोखिमको चर्चा गरौं ।

कांग्रेस नेता सिटौला राष्ट्रियसभाको अध्यक्ष बन्ने रणनीतिक योजनाका साथ कोशी प्रदेशबाट राष्ट्रियभाको उम्मेदवार बनेका हुन् । त्यसैले उनलाई हराइयो भने राष्ट्रियसभाको अध्यक्ष बन्नबाटै रोक्न सकिन्छ भन्ने विपक्षीले सोच्नु स्वाभाविकै छ । ०७९ मा उनलाई प्रतिनिधिसभामै आउन नदिन झापा क्षेत्र नम्बर ३ मा एमाले र राप्रपाले गठबन्धन गरेका थिए । एमाले अध्यक्ष ओलीले सिटौलालाई हराएर राजेन्द्र लिङदेनलाई जिताइदिएका थिए । त्यसर्थ अहिले पनि ओली र लिङदेन मिलेर सिटौलालाई पहिलेजस्तै गर्छन् कि भन्ने अनुमान लगाउने गरिएको छ । कम्तिमा लिङदेनले ओलीबाट यही कुराको आशा गरेर उद्धव पौडेललाई सिटौलासँग भिडाएका छन् ।

तर, यहाँ ४२४८ मतभार रहेको एमालेले ३९४ मतभार भएको राप्रपालाई सघाउँछ भन्ने सम्भावना त्यति बलियो देखिँदैन । यो अवस्थामा राजेन्द्र लिङदेनले झापाका आफ्ना प्रतिद्वन्दी सिटौलालाई रोक्न एमालेका उम्मदेवार पर्शुरामलाई सघाउलान् त ? त्यो सम्भावना पनि पुस २९ देखि लगभग टरेको छ ।

कृष्ण सिटौला अन्य दलबाट मात्र होइन, आफ्नै पार्टीभित्रबाट पनि जोखिममा छन् । कोशीमा रहेको कांग्रेसभित्रैको उनीविरोधी गुटले मतदान गरेन भने सिटौला जोखिममा पर्न सक्छन् र त्यो अवस्थामा उनको राष्ट्रियसभा अध्यक्षको यात्रा रोकिन सक्छ ।

अर्कोतर्फ कोशी प्रदेशका माओवादीहरु सिटौलाप्रति खासै सकारात्मक छैनन् । सिटौला राष्ट्रियसभाको अध्यक्ष बनेपछि संवैधानिक परिषदको सदस्यसमेत बन्ने अवस्थामा माओवादीले पनि उनलाई तलै रोक्ने हो कि ? किनभने, ०७४ मा पनि झापामा माओवादीले सिटौलालाई नभएर राजेन्द्र लिङदेनलाई भोट हालेको स्थिति छ । यो पाटोबाट पनि सिटौला जोखिममा देखिन्छन् ।

खास गरी गणतन्त्र ल्याउन सिटौलाले गरेको योगदानका कारण राजावादीहरु उनीप्रति बढ्ता नकारात्मक छन् । कम्युनिष्टले साथ नदिँदा सिटौला २०७९ मा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।

कोशीमा महिला र अन्य गरी दुई वटा क्लष्टरमा उम्मेदवार छन् । मतदाताले दुईजनालाई मतदान गर्नुपर्ने हुन्छ । खुला अर्थात अन्यतर्फ गठबन्धनबाट कृष्णप्रसाद सिटौला, एमालेबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेलबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिला कोटाका लागि एमालेकी रुकमणि कोइराला र माओवादीकी चम्पादेवी कार्कीबीच प्रतिस्पर्धा हुनेछ ।

एमाले र राप्रपाको साइनो

झापा एमाले अध्यक्ष शर्मा ओली, कांग्रेस नेता सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसमेतको गृहजिल्ला हो । कांग्रेस महान्त्री विश्वप्रकाश शर्माको गृहजिल्ला पनि झापा नै हो । यहाँ यी नेताहरुले आफू सुरक्षित हुनका लागि विभिन्न गठबन्धनको प्रयोग गर्दै आएका छन् ।

झापामा आफ्नो राजनीति सुरक्षित बनाउन ओली र लिङ्देन दुबैलाई तालमेल चाहिने गरेको छ । ओलीको निर्वाचन क्षेत्रमा राप्रपाले सहयोग गर्दै आएको छ भने लिङदेनको क्षेत्रमा एमालेले राप्रपालाई सघाउँदै आएको छ । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा ओलीलाई क्षेत्र नम्बर ५ मा राप्रपाले सघाएको थियो । त्यस्तै, लिङदेनलाई क्षेत्र नम्बर ३ मा एमालेले सघाएको थियो । तर, ०७९ को स्थानीय चुनावमा भने ओलीको गृहनगर दमक नगरपालिकामा कांग्रेस र राप्रपाबीच तालमेल भयो र एमाले पराजित हुन पुग्यो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष लिङदेनको एउटै निर्वाचन क्षेत्र हो । २०७९ को निर्वाचनमा त्यहाँ सिटौला र लिङदेनबीच प्रतिस्पर्धामा भएको थियो । लिङदेनले सिटौलालाई ३ हजार २७६ मतान्तरले हराएका थिए । लिङदेनले ४० हजार ६४८ मत ल्याउँदा सिटौलाले ३७ हजार ३७२ मत पाएका थिए ।

त्यसो त सिटौला राष्ट्रियसभामा निर्वाचित हुँदा राजेन्द्र लिङदेनलाई पनि फाइदा नै हुने देखिन्छ । किनभने, सिटौलाले अहिले जिते भने ०८४ को चुनावमा लिङदेनका लागि झापा क्षेत्र नम्बर ३ को मैदान खाली हुनेछ ।

यसैबीच, कांग्रेस नेता सिटौला माघ ११ को निर्वाचनमा जित निकाल्न कोशी प्रदेशका १४ जिल्लाको दौडधूपमा लागेका छन् । विभिन्न जिल्लामा पुगेर उनले उम्मेदवारहरु भेटेका तस्बिर सामाजिक सञ्जालमा आइरहेका छन् । सिटौलाको सचिवालयका अनुसार उनी कोशीका सबै जिल्लाहरुमा पुग्ने योजनामा छन् ।

दुईवर्षअघि भएको राष्ट्रियभाको चुनावमा कोशीबाट राप्रपाका अमरबहादुर विष्ट (वर्तमान सभामुख) ले १६८ मतभार पाएका थिए । तर, त्यसबेला एमालेका सोनाम ग्याल्जेन शेर्पाले ४७५२ मतभारका साथ गठबन्धनका उम्मेदवार हेमराज राईलाई आश्चार्यजनक रुपमा हराउँदै विजयी बने । गठबन्धनका हेमराजको ४३६८ मत मात्रै आयो ।

त्यसबेला एमाले नेता गुरु बरालले पनि झण्डै जितेका थिए, तर गठबन्धनका उम्मेदवारसँग मत बराबर भएपछि गोला तान्दा कांग्रेसका गोपालकुमार बस्नेत विजयी घोषित भए । अहिले पनि कोशीमा ०७८ सालकै इतिहास दोहोर्‍याउने रणनीतिमा एमाले नेताहरु लागेका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘निर्वाचन हो विभिन्न विकल्पको प्रयोग हुन्छ, अहिले यसै हुन्छ नभनौँ ।’