खेलकुद

मधेश प्रदेशसँग एपीएफ स्तब्ध

By खबरहब

January 18, 2024

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेस प्रदेशले एपीएफ क्लबलाई ५ विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा मधेसका तीन खेलाडीले अर्धशतक प्रहार गरे । एपीएफले दिएको २४७ रनको लक्ष्य मधेशले ५ विकेटको क्षतिमा ४८ ओभरमा नै पूरा गर्यो ।

मधेशको जितमा पवन सर्राफ, निरज यादव र रुपेश सिंहले अर्धशतक प्रहार गरे । बलिङमा एपीएफका रुपेश कुर्मी र कप्तान रोहित पौडेलले समान २-२ विकेट लिए ।

त्यसअघि टस जितेको मधेसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपीएफले ९ विकेट क्षतिमा २४६ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले ५९ रन र रोहित पौडेलले ५८ रन जोडे ।

अमरसिंह रटेउलाले नटआउट ४९ रन जोडे । बलिङमा मधेसका रुपेश सिंह र प्रदीप पासवानले समान ३–३ विकेट लिँदा रंजित कुमारले २ विकेट लिए । प्रतियोगितामा एपीएफको यो पहिलो हार हो ।