खेलकुद

एसियन कपमा भारतको लगातार दोस्रो हार

By खबरहब

January 18, 2024

काठमाडौं – एसियन कपमा भारत आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । बिहीबार भएको खेलमा उज्वेकिस्तानसँग भारत ३–० गोलले पराजित भएको हो । यसअघि आफ्नो पहिलो खेलमा भारत अस्ट्रेलियासँग २–० ले पराजित भएको थियो ।

उज्वेकिस्तानका लागि अब्बोशेख फयजुलाएभ, इगोर सर्गेव, शेरजोड नस्रुलोएभले गोल गरे । ओटाबेक शुकुरोभको हेडर पासमा खेलको चौथो मिनेटमा नै फयजुलाएभले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलको १८औं मिनेटमा सर्गेवले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा नस्रुलोएभले तेस्रो गोल गर्दै खेललाई ३–० अवस्थामा पुर्याएका थिए ।

पहिलो हाफमा निरीह बनेको भारतले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेपनि गोल भने गर्न सकेन । भारतले पोस्टमा गरेको दुई उत्कृष्ट प्रहारलाई उज्वेकिस्तानका गोलरक्षकले राम्रो बचाउ गरे ।

जितसँगै समूह बीमा उज्वेकिस्तानको चार अंक छ । भारत भने अंकविहिन छ । यो समुहबाट अष्ट्रेलिया २ खेलमा ६ अंक बनाउँदै अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।