फाइल तस्बिर

देश/प्रदेश

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिँदै

By खबरहब

February 18, 2024

काठमाडौँ– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो २ बजे मधेस प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लागेका हुन् । गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएको थियो ।

गत पुस २७ गते जसपाबाट मुख्यमन्त्री बनेका यादवले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत पाउन ५४ सांसदको समर्थन आवश्यक पर्दछ ।

यादवलाई जनमत पार्टीले विश्वासको मत फिर्ता लिए पनि गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाले भने यादवलाई मत दिने जनाएका छन् ।

प्रदेशसभामा कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यस्तै, एमालेका २३, जनमतका १३ तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन् ।