धुर्मुस–सुन्तली नामका दम्पतिलाई राज्य सञ्चालकले सन्कीका भरमा अरबौं लगानीको क्रिकेट रंगशाला बनाउने काम जिम्मा लगाइदिँदा राज्यले त्यसको सकस खेपिरहेको छ । टेलिभिजनमा देखिएको लोकप्रियता क्यास गरेर उनीहरु राज्य बनाउने लोभमा उत्प्रेरित भए । त्यसबेला राज्य सञ्चालनको जिम्मेवारी लिएका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको रोहबरमा भव्य कार्यक्रम गरी राज्यको दायित्व कलाकारको काँधमा सुम्पने काम भयो । भाषण गर्नेहरुले समृद्धिको यात्रा त्यहीँबाट आरम्भ भएको बताए । ताली पड्काउनेले हौसिएर पड्काए ।
एकाध वर्षभित्रै जनता र राज्यकोषको करोडौं पैसा अहिले माटो बनेको छ । त्यसको स्वामित्व लिएर बोल्न कोही तयार छैनन् । जसले त्यो काम गर्ने प्रतिबद्धता जनाए, उनीहरु उल्टै राज्यलाई घुर्क्याएर हिँडेका छन् । समाज सेवाका नाममा कलाकार, युटुबरका नाममा थापिने झोली अहिले झन् बग्रेल्ती बनेका छन् । अचम्म त के छ भने आईसीयूमा रहेको बिरामीसम्मका दृश्य खिचेर आफूखुसी व्यापार गर्न उनीहरु सफल देखिन्छन् ।
इन्द्रेणी नामको दोहोरी गीत चलाउने कृष्ण कँडेल राज्यभन्दा अगाडि आफू रहेको भ्रम छर्न सफल देखिन्छन् । कतिसम्म भने दुखी, गरिबलाई दिन भनेर नागरिकले दिएको पैसा उनी फाउन्डेसनमा जम्मा गर्छन । त्यो फाउन्डेसनका कानुनी हैसियतका बारेमा कसैले प्रश्न उठाउँदैन ।
उनले गर्ने सेवाका केही शैलीको संस्मरण गरौं । मेलम्चीको पहिरोले बस्ती बगाउँदा उनी ९० लाख नगद बोरामा बोकेर पुगे । लाखौं लाखको बिटो उनको घरमा राखिएको दृश्य त युटुबमै हेर्न सकिन्छ । आम मानिसमा उठेको प्रश्न हो– प्रधानमन्त्री कोषभन्दा कँडेल कोष किन विश्वासयोग्य भयो ?
अहिले उनीमाथि लागेको आरोप वयक्तिक भएपनि उठेका प्रश्न विधिको शासनसँग जोडिएका छन् । केही समयअगाडि कँडेलले पीडितका नाममा दिइएको आर्थिक सहयोग खल्तीमा हालेको र पीडितलाई नदिएको आरोप लागेको थियो । अमेरिका, क्यानडा, जापान, युरोप र अष्ट्रेलियाबाट उठेको सहयोग पीडितकहाँ नपुगेको उजुरी परेको थियो ।
‘कृष्णलीला’ को चर्चा
आफ्नै कर्मचारीहरुले ‘ह्यारेसमेन्ट’ को आरोप लगाएका छन् । वाद्यवादक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डन उनीमाथि खनिएका हुन् ।
त्यस्तै, शर्मिला श्रेष्ठले ‘ह्यारेसमेन्ट’ को आरोप लगाएकी छन् । इन्द्रेणीले लामो समयदेखि दुर्व्यवहार र कुटपिट गर्दै आफूहरूलाई संस्थाबाट निकालेको उनीहरुको आरोप छ । इन्द्रेणीमा ३० भन्दा बढी कलाकार तथा कर्मचारी आबद्ध छन् ।
कलाकारहरूको आरोपपछि सामाजिक सञ्जालमा इन्द्रेणी र यसका सञ्चालकमाथि प्रश्न उठिरहेका छन् । लामो समय इन्द्रेणीमा काम गरेकी लोक गायिका बबिता बानियाँ ‘जेरी’ ले त कृष्ण कँडेल नाम अनुसारको स्वभाव भएको टिप्पणी गरेकी छन् । उनले भनेकी छन्, ‘हावा नचली पात हल्लिदैन, यहाँ जरै हल्लिएको छ ।’
बिना प्रमाण कलाकारले यसै बोलेका छैनन् । धेरैले ‘कृष्ण दाइ नक्कले स्वभावको’ भनेर कुरा गर्थे । तर स्वभावले मात्रै मूल्याङ्कन भने नगर्ने उनी बताउँछिन् । ‘ह्यारेसमेन्ट’ जस्तो कुरामा सत्य तथ्य जानकारी नभइ बोल्न मिल्दैन ।’ उनले भनिन्, ‘व्यक्तिगत रुपमा आफूलाई पारिश्रमिकका कुरामा हेल्चेक्रयाइँ भएपनि नैतिक आँचरणमा प्रश्न उठाउने व्यवहार गर्नुभएन ।’
पारिश्रमिकको लागि उनले कँडेलसँग संघर्ष गर्नुपरेको सुनाएकी छन् । ‘ट्याक्सी भाडा बाहेक अरु पारिश्रमिक दिनुहुँदैनथ्यो’ उनले भनिन् ।
कँडेलले आफूमाथि लागेका आरोपको खण्डन गरेका छन् । संस्था छाडेका पूर्वकर्मचारीहरूले कार्यक्रमलाई बदनाम गराउन खोजेको उनको भनाइ छ । उनी भन्छन्, ‘लोकसंस्कृतिको जगेर्ना गर्दै ‘स्पेस’ नपाएका कलाकारलाई ‘सेलिब्रेटी’ बनाएका छौ ।’
कलामार्फत विभिन्न कार्यक्रम गरेर दिन–दुःखीको हितमा आफ्नो समय बिताएको मानिसलाई सक्ने प्रयास भएको बताए । यो विवाद हाल अदालत पुगेको छ । कार्यक्रममार्फत उनले पीडितहरु देखाएर अथाह सम्पत्ति आर्जन गरेको आरोप उनीमाथि बारम्बार लाग्दै आइरहेको हो । तर नेपालमा समाजसेवाकै नाममा अथाह आर्थिक हिनामिनालाई नजरअन्दाज गरेको पाइन्छ ।
यसमा क्रिकेट स्टेडियम बनाउने नाममा धुर्मुुस सुन्तलीले गरेको हिनामिनामाथि सरकारी निकायले प्रश्न उठाएका छन् । भूकम्प पीडितका लागि आवास बनाउने भनेर नायिका श्वेता खड्कादेखि युटुबुर भाग्य न्यौपानेलाई पनि लिन सकिन्छ ।
को हुन् कृष्ण कँडेल ?
२०२९ सालमा सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर– ८ लाटीकाँडामा जन्मिएका हुन् । उनी आफ्ना आमा बाबुका माइला सन्तान हुन् । नेरा माध्यामिक विद्यालय बाबियाचौरबाट उनले एसएलसी उत्तीर्ण गरे । उच्च शिक्षाको लागि उनी काठमाडौंस्थित आरआर क्याम्पसमा भर्ना भए ।
अध्ययन गर्दागर्दै उनी २०४८ सालमा नेपाली सेनामा भर्ना भए । सेनाको जागिर सुरु भएपछि उनको बाँकी पढाइ अगाडि बढ्न सकेन । सेनामा भर्ती भए लगत्तै उनले रेडियो सैनिक कार्यक्रम सञ्चालन गर्ने अवसर पाए । कँडेलले १६ वर्ष नेपाली सेनामा सेवा गरे ।
सेवानिवृत्त भएपछि उनले माउन्टेन टेलिभिजनमा आवद्ध भइ इन्द्रेणी कार्यक्रम सञ्चालनमा ल्याए । समृद्धिसँग संस्कृतिलाई जोड्ने अभियान स्वरुप १३ वर्षअघि कार्यक्रम इन्द्रेणी सुरु भएको थियो । सेवा, सन्देश र मनोरञ्जनको मझेरीको रुपमा कार्यक्रम उपस्थित भएको थियो । नेपाली लोकसंस्कृतिको मियो बनेर पुराना कलाकारलाई सम्मान र नयाँ कलाकारको खोजी गर्ने कार्यक्रमको मुख्य लक्ष्य थियो ।
इन्द्रेणी गाउँघरदेखि सहर,राजधानीदेखि विदेशसम्मको यात्रामा पुगेको छ । दुःखीको कथा,व्यथा र हुँदाखानेहरुका पीडालाई मलमहपट्टी गर्न भन्दै देश दौडाहामा थियो ।
यौन दुर्व्यवहारको फैसला अनुमानमा हुँदैन : अधिवक्ता गौतम
अधिवक्ता रामचन्द्र गौतम ‘आरसी’ ले यौन दुर्व्यवहारको फैसला अनुमानको आधारमा नभई प्रमाणका आधारमा हुने भएकाले सामाजिक सञ्जालले निर्णय गर्ने विषय नभएको बताउँछन् । उनी भन्छन् , ‘अदातलले प्रमाणका आधारमा मात्रै फैसला गर्छ ।’
‘विद्युतीय माध्यमबाट दुर्व्यवहार भए प्रमाण मान्न सकिन्छ । तर हाउभाउ वा सांकेतिक दुर्व्यवहारको प्रमाण पुर्याउन गाह्रो हुन्छ, उनले खबरहबसँग भने, ‘यसको फाइदा उठाउने सम्भावना हुन्छ ।’ यौन दुर्व्यवहारबारे कानुनले असाध्यै राम्रो व्याख्या गरेको छ । तर यसमा दुवै पक्षले दुरुपयोग गर्न सक्ने सक्ने सम्भावना देखिने गौतम बताउँछन् ।
नेपालको हकमा अदातलमा झुटो जाहेरी दिएकालाई खासै कारवाही गरेको पाइँदैन । यस कारण फसाउने उद्देश्यले मुद्दा हाल्नेको संख्या बढ्ने उनको भनाइ छ । उनी भन्छन्, ‘पीडित भएर पनि प्रमाण पुर्याउन नसक्दा अन्यायमा परेका घटना छन् ।’ कसैले व्यक्तिगत रिसईबीलाई दुव्र्यहारको आरोप लगाएको पनि पाइन्छ । तर अनुसन्धानमै रहेको विषय अनुमानमानमा बोलेर पीडितलाई नै आक्षेप लगाउन नहुने उनले बताए ।
मुलुकी अपराध संहिता २०७४ यौन दुव्र्यहार गर्न नहुने भनेको छ । आफ्नो पति वा पत्नीबाहेकलाई निजको मञ्जुरीबिना करणीको आशयले समातेमा वा निजको संवेदनशील अंग छोएमा वा छुने प्रयास गरेमा दुर्व्यवहार हुन्छ । त्यस्तै, निजलाई मौखिक वा लिखित, सांकेतिक वा विद्युतीय माध्यमबाट अश्लिल चित्र वा भिडियो देखाएमा पनि यौन दुर्व्यवहार भएको ठहर्छ ।
यौनका आशयले जिस्काएका वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित तथा अमर्यादित व्यवहार गरेमा यौन दुर्व्यवहार ठहर गर्ने भनिएको छ । यौन दुर्व्यवहार ठहर भएमा मुलुकी फौजदारी संहिता २०७४ को दफा २२४ ले ३ वर्षसम्मको कैद र ३० हजारसम्मको जरिवाना तोकिएको छ ।
सेलिब्रेटी भगवान होइनन् : महिला अधिकारकर्मी तथा लेखक
महिला अधिकारकर्मी तथा लेखक अमृता लम्सालले सेलिब्रेटीले यौन दुर्व्यवहार नै गर्दैनन् भन्ने जुन भाष्य निर्माण भएको छ । यसले समाजलाई दुर्गतितिर धकेलेको बताउँछिन् । दुर्व्यवहारका धेरै उजुरी छन् । तर मिडियामा सेलिब्रेटीकै कुरा आउने हुन् । तर मानिसहरुले सेलिब्रेटीलाई भगवान् मान्ने, उनीहरुले गल्ती नै गर्दैनन् भनेर बचाउँ गर्नाले नै यस्ता घटना भइरहने उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘दुर्व्यवहारमा नपरी कुनै पनि महिलाले म दुर्व्यवहारमा परेँ भनेर हचुवाको भरमा आरोप लगाउने सम्भावना अन्त्यन्त कम हुन्छ ।’ हाम्रो समाजमा पीडितभन्दा पीडकलाई संरक्षण गर्ने परिपाटी छ । यस्तो सामाजिक संरचना भएको समाजमा कुनै महिलाले यत्तिकै यसलाई सिध्याइदिउँ भनेर आरोप नलगाउने लम्साल बताउँछिन् ।
‘पीडकलाई पुज्ने समाज हो । इन्द्रेणीको सातै रङ छताछुल्ल हुन लागेको छ । स्पेस र सेलिब्रेटी बनाउन इन्द्रणीले गरेको योगदानलाई नबिर्स भनेर पीडितलाई मिडियामै आएर धम्की दिएको पाइन्छ । यस्तो व्यवहारले पिडकको मनोबल बढाउन मदत गर्ने उनको बुझाइ छ । साथै, उनले यौन दुर्व्यवहारका लागि नेपाल स्वर्णभूमि भएको भन्दै उनी दुःख व्यक्त गर्छिन् ।
त्यस्तै उनले आरोप लगाउनु नै अपराध करार हुनु होइन । पीडकले आफ्नो स्पष्टिकरण दिन पाउने अधिकार कानुनमा सुरक्षित छ । अनुसन्धानको क्रममा उसले आरोप निराधार भएको प्रमाण जुटाउन सक्छ । अदालतले अनुमानको भरमा कसैलाई अपराधी करार नगर्ने भन्दै लम्साल भन्छिन्, ‘ उसले दुर्व्यवहार गरेकै छैन भने उ निर्दोष साबित हुने कुरामा दुईमत छैन ।