राजनीति

सरकारमा छौँ भनेर खुशी हुने अवस्था छैन : कोइराला

By खबरहब

February 18, 2024

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निर्वाचनमा पार्टीको भोट घटेको बारेमा महासमिति बैठकमा गम्भीर छलफल हुनुपर्ने बताएका छन् ।

बिपी अध्ययन प्रतिष्ठानले महासमिति बैठकको पूर्वसन्ध्यामा आज यहाँ आयोजित ‘चियापान कार्यक्रम’मा उनले गठबन्धनका कारण निर्वाचनमा पार्टीको मत घटेको भन्दै महासमिति बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए ।

“कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी महासमिति बैठकमा गम्भीर रुपमा छलफल हुनुपर्छ,” उनले भने ।

पार्टीको जनमत घटिरहेका बेला हामी सरकारमा बसेका छौँ भनेर खुशी हुने अवस्था नरहेको उनको कथन थियो । उनले निर्वाचन प्रणालीको सुधारका लागि पनि महासमिति बैठकमा छलफल हुनुपर्ने बताए ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले युवाहरुलाई कांग्रेसभित्र आकर्षण गर्ने सङ्कल्प महासमिति बैठकले लिनुपर्ने बताए । उनले महासमिति बैठकलाई पार्टी रुपान्तरणका निम्ति अगाडि बढाउनुपर्नेमा जोड दिए ।