ब्रेकिङ स्टोरी

दुर्व्यसनमा फस्ने महिला र पुरुषको संख्या बराबर, के छ उपचार ?

By पवन मुडभरी

March 18, 2024

काठमाडौं – कुनै पनि औषधि जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्दै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ भने त्यसलाई लागूऔषध भनिन्छ। जसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारेर बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ। पछिल्लो समय धेरै युवा लागूऔषध दुर्व्यसनमा फसेका छन्। जसको प्रमुख कारण मिडिया भएको चिकित्सक बताउँछन्। कलिलै उमेरमा लागूऔषध दुर्व्यसनमा फस्दा पछि चाहेर पनि यसको लत छुटाउन गाह्रो हुने भएकाले अभिभावक, विद्यालय र राज्यले समयमै सजगता अपनाउनुपर्ने आवश्यकता रहेको चिकित्सकको भनाइ छ। लागूपदार्थको प्रयोगले के कस्ता मानसिक समस्या निम्त्याउँछ ? लागूपदार्थको प्रयोग कुन उमेर समूहले बढी गरेको पाइएको छ ? लागूपदार्थको प्रयोगका कारण हुने स्वास्थ्य समस्याको उपचार विधि के छ ? भन्ने विषयमा मनोरोग विशेषज्ञ डा. प्रभाकर पोखरेलसँग गरिएको कुराकानी :

लागूपदार्थको प्रयोगले के कस्ता मानसिक समस्या निम्त्याउँछ ? जब कुनै नसाको प्रयोग हुन्छ तब नसा अनुसार फरक खालको असर हुन्छ। जस्तै कोही नबोल्ने मान्छे मादक पदार्थ सेवनपछि धेरै बोल्ने र चाँडो रिसाउने व्यवहार देखाउँछन्। त्यस्तै गाँजा, कोकिन लगायत अन्य लागूपदार्थ जसको प्रयोगले भ्रम सिर्जना गर्ने, एकोहोरो बनाउने, उत्तेजित बनाउने लगायतका असर गर्छन्। कसैलाई यो लागूपदार्थको प्रयोग गरेको बेला हुन्छ भने लामो समयदेखि यसको प्रयोग गरिरहेको मान्छेलाई खान नपाउँदा यस्ता समस्या देखिन्छन्।

किशोरावस्थामा चुरोटबाट यसको सुरुवात हुन्छ। त्यसपछि अल्कोहल लिन्छन्। यी दुई लागूपदार्थ सजिलै पसलमा किन्न पाइन्छ। त्यस्तै गाँजा, ड्रक्स, इन्जेक्सन जुन लिगल छैनन्। तर धेरै युवाले कुनै न कुनै रुपमा प्रयोग गरिरहेको पाइन्छ।

लागूपदार्थ कुन उमेर समूहले बढी प्रयोग गरेको पाइएको छ ? किशोरावस्थामा चुरोटबाट यसको सुरुवात हुन्छ। त्यसपछि अल्कोहल लिन्छन्। यी दुई लागूपदार्थ सजिलै पसलमा किन्न पाइन्छ। त्यस्तै गाँजा, ड्रक्स, इन्जेक्सन जुन लिगल छैनन्। तर धेरै युवाले कुनै न कुनै रुपमा प्रयोग गरिरहेको पाइन्छ। प्राय सबै उमेर समूह कुनै न कुनै लतमा छन्। तर विशेष गरेर युवा लागूपदार्थको दुर्व्यसनमा बढी नै लागेको पाइन्छ।

लागूपदार्थ दुव्यर्सनका कारण उपचारका लागि कति बिरामी आउँछन् ? उपचारका लागि तीन प्रकारका मानिस आउँछन्। एउटा समूह यस्तो छ जुन आफै चेतना भएर मैले धेरै पो खाइरहेको छु कि भनेर आउँछ। यसले मलाई केही असर गरिरहेको छ कि भनेर आउँछ। जुन सचेत समूह हो। त्यस्तै अर्को समूह म लागूपदार्थमा फसे अब छोड्ने प्रयास गर्छु भन्दै परिवारलाई भनेर आउने छ। तेस्रो समूह यस्तो छ जुन उपचारका लागि आउनै मान्दैन, घर परिवारले जबरजस्ती लिएर आउँछन्।

चुरोट र रक्सीबाहेक अन्य लागूपदार्थ दुर्व्यसनमा फसेको कसरी थाहा पाउने ? कस्ता लक्षण देखिन्छन् ? केही न केही स्वभाव र व्यवहारमा परिवर्तन आउँछ। नरिसाउने मान्छे रिसाउँछ। राति अबेर घर आउँछ। नियमित क्रियाकलापबाट भाग्न खोज्ने, दैनिक कार्यमा बिनासूचना अनुपस्थित हुने, राम्रो कुरा सुन्न नचाहने, पैसाको हिसाब किताब नदेखाउने, पैसा सामान चोरी गर्ने, साथी परिवर्तन गरिरहने काम गर्छ। कतिपय अवस्थामा घरबाट लुसुक्क बाहिर जानु, कम बोल्नु, बोलीहाले झुटो बोल्नु, आँखा जुधाएर कुरा नगर्ने, जस्ता लक्षण देखिए भने कतै कुलतमा फसेको त छैन भनेर शंका गर्नुपर्छ। कहिलेकाहीँ केही थाहा नहुने हिसाबले पनि कुलतमा फसिरहेका हुनसक्छन्।

पहिले त पुरुषको संख्या धेरै थियो। महिला नगन्य मात्रामा हुन्थे। पछिल्लो ५ वर्षको तथ्याङक हेर्ने हो भने महिला पुरुष बराबरी नै छन्। अझ लतकै कुरा गर्ने हो भने पुरुषभन्दा महिलामा छिटो यसको लत बस्ने गरेको पाइएको छ।

धेरै युवा लागूपदार्थ दुर्व्यसनमा फस्नुको कारण के हो ? यसमा धेरै कारण छन्। मिडियालाई पनि प्रमुख कारण मान्न सकिन्छ। लागूपदार्थ दुर्व्यसनी सामाजिक समस्या हो। चलचित्रमा देखिने चुरोट तानेको र रक्सी पिएका दृश्यलाई फेसनको रुपमा लिनेसमेत युवा हुन्छन्। त्यस्तै अर्को दुर्व्यसनमा लागेका साथीभाइको दबाब, संगत, बाबु आमा तथा आफू भन्दा ठूलाको देखेर त्यसमा लाग्नेसमेत हुन्छन्। जीवनमा आइपरेका पिर, चिन्ता, दुःख र तनाव हटाउछ भन्ने भ्रमपूर्ण विश्वासलेसमेत लागूपदार्थको स्वाद लिने र अनुभव गर्ने इच्छा कतिपयमा हुन्छ।

लागूपदार्थले आनन्द दिन्छ, मजा आउँछ, मनोरञ्जन हुन्छ भन्ने भ्रमपूर्ण विश्वास, अशिक्षा अज्ञानता, लागूपदार्थ सजिलैसँग उपलब्ध हुनु र पाउँदा प्रयोग गरी हाल्ने खराब बानी, लागूपदार्थ प्रयोग गर्ने व्यक्ति र विदेशी पर्यटकको प्रभावले पनि दुर्व्यसनमा फस्ने जोखिम हुन्छ। घरको भित्ता, पर्खाल, सडक, सिनेमा हल, पत्रिका, रेडियो, टेलिभिजन आदिमा देखाइने र प्रसार गर्ने आकर्षक विज्ञापनले समेत युवा पुस्तामा प्रभाव पारेको हुनसक्छ।

लागूपदार्थको प्रयोग गर्ने महिला या पुरुष कसको संख्या बढी छ ? पहिले त पुरुषको संख्या धेरै थियो। महिला नगन्य मात्रामा हुन्थे। पछिल्लो ५ वर्षको तथ्याङक हेर्ने हो भने महिला पुरुष बराबरी नै छन्। अझ लतकै कुरा गर्ने हो भने पुरुषभन्दा महिलामा छिटो यसको लत बस्ने गरेको पाइएको छ।

पहिलेको तुलनामा लागूपदार्थ सेवनकर्ताको अवस्था बढेको वा घटेको के छ ? उपचारका लागि आउने प्रयोगकर्ताको अवस्था हेर्दा धेरै नै आउँछन्। त्यसको धेरै कारण हुनसक्छ। सुरुमा रमाइलोको लागि प्रयोग गर्ने र पछि विस्तारै लत बस्छ र छोड्छु भन्दा सकिँदैन र उपचारमै आउँछन्। त्यस्तै पहिले रक्सी चुरोट धेरै थियो भने अहिले गाँजा लगायत नयाँनयाँ प्रकारका लागूपदार्थ सेवनकर्ताको संख्या बढेको पाइएको छ।

घर परिवारले आफ्नो छोराछोरीको स्कुलको समय बाहेक जाने ठाउँ र साथी संगतको बारेमा जानकारी राख्नुपर्छ। बच्चालाई अध्ययनको साथै सामाजिक, सांस्कृतिक तथा अन्य काममा पनि व्यस्त बनाउनु राम्रो हुन्छ। खराब संगतबाट टाढा राख्ने, लागूपदार्थ र त्यसको असरबारे विद्यालय तथा परिवारले बुझ्ने र बुझाउने गर्नुपर्छ।

लागूपदार्थको प्रयोगका कारण हुने स्वास्थ्य समस्याको उपचार विधि के छ ? सबैभन्दा पहिलो कुरा त चेतना नै हो। लागूपदार्थमा विस्तारै बानी परेपछि थोरै खाएर पुग्दैन। त्यसैले सुरुमा यसबाट जोगिनुपर्छ। तर यसको प्रयोगमा समस्या आइसकेपछि यसलाई लुकाउने वा उपचारमा ढिलाइ गर्ने गर्नु हुँदैन। यसबारे खुलेर कुरा गर्ने जतिसक्दो चाँडो उपचारमा आउनु सबैभन्दा राम्रो पक्ष हो। रक्सी चुरोटको तलतल छुटाउने औषधी पनि छन्। तर चिकित्सकको सल्लाह बिना यस्ता औषधीको प्रयोग झन् घातक मानिन्छ। त्यस्तै काउन्सिलिङ गरिन्छ। लामो समयसम्म खाएको छ भने अस्पतालमा भर्ना गरेर पनि उपचार गर्नुपर्ने हुनसक्छ। अर्को कुरा एकपटक औषधी खाएर यो निको हुँदैन। उपचारपछि पनि घर परिवारको साथ सहयोग र हौसला महत्त्वपूर्ण मानिन्छ।

लागूऔषध दुर्व्यसनबाट कसरी बच्न र बचाउन सकिन्छ ? घर परिवारले आफ्नो छोराछोरीको स्कुलको समय बाहेक जाने ठाउँ र साथी संगतको बारेमा जानकारी राख्नुपर्छ। बच्चालाई अध्ययनको साथै सामाजिक, सांस्कृतिक तथा अन्य काममा पनि व्यस्त बनाउनु राम्रो हुन्छ। खराब संगतबाट टाढा राख्ने, लागूपदार्थ र त्यसको असरबारे विद्यालय तथा परिवारले बुझ्ने र बुझाउने गर्नुपर्छ। लागूपदार्थ दुर्व्यसनमा फसेकालाई उपचार तथा पुर्नस्थापना केन्द्रमा पठाउन सक्नुपर्छ। लागूपदार्थको कारोबारीलाई कानुनको कठघरामा उभ्याउन नागरिक समाजलाई सक्रिय बनाउने, लागू पदार्थका दुर्व्यसनीलाई अपराधिको रुपमा नहेरी यो एक प्रकारको रोग हो उपचार गरे निको हुन्छ भन्ने सन्देश व्यापक रुपमा फैलाउनुपर्छ।

कुलत मध्ये लागूऔषध दुर्व्यसनी एक प्रमुख समस्या हो। यस्ता दुर्व्यसनीबाट युवा जमातलाई जोगाउनु हामी सबैको साझा दायित्त्व एवं कर्तव्य हो।

यहाँको सुझाव के छ ? आजका युवा भोलिका देशका खम्बा, राष्ट्र निमार्णका संवाहक हुन्। कुनै पनि देशको विकास युवाको संरक्षण, सम्वर्धन, परिचालन बिना सम्भव हुँदैन। तर वर्तमान देशको अवस्थालाई पहिचान गर्दा युवालाई पूर्ण रुपमा सही बाटोमा हिँडाउन सकिएको छैन। आजका युवा विभिन्न सामाजिक विकृति, विसङ्गति र दुर्व्यसनीको कुलतमा फसिरहेका छन्। ती कुलत मध्ये लागूऔषध दुर्व्यसनी एक प्रमुख समस्या हो। यस्ता दुर्व्यसनीबाट युवा जमातलाई जोगाउनु हामी सबैको साझा दायित्त्व एवं कर्तव्य हो।