विचार

सलामी, गुलामी र मलामीको मोह

By संकेत कोइराला

March 18, 2024

राजा महेन्द्र अमेरिकी राष्ट्रपति आइजनहावरको निमन्त्रणामा अमेरिका भ्रमणको तयारीमा थिए। विरोधी खेमाको जस्तो देखिए पनि गोप्य रुपमा राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो- ‘राजालाई स्वागत गर्न राष्ट्रपति आइजनहावर विमानस्थल नजाने।’ त्यसबेला बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए।

बीपीको अनुमति लिएर सभामुख भट्टराईले अमेरिकी दूतावासका कार्यबाहक राजदूत फिक्सलाई भेटेर ठाडै भनिदिए– ‘हाम्रो राजा अमेरिका जाँदा तिम्रो राष्ट्रपतिले किन स्वागत नगर्ने ? हामीलाई सानो देश भनेर हेपेको हो ?’ राजदूतले स्पष्टीकरण दिँदै भनेका थिए- ‘हाम्रो राष्ट्रपति मुटु रोगी हुनुहुन्छ। कूटनीतिक मर्यादाका कारण विमानस्थलदेखि विमानसम्म चिसोबाट बच्न डाक्टरले दिएको टोपी लगाएर जान मिलेन्। त्यस्तो चिसोमा टोपी नलाई जानु झन् घातक हुन्छ। फेरि उमेरका दृष्टिले पनि उहाँ वृद्ध हुनुहुन्छ। डाक्टरले जतिबेलै पनि स्ट्रोक हुनसक्ने भविष्यवाणी गरेका छन्। त्यसैले नजाने भनेको हो।’

अन्तर्राष्ट्रिय मञ्चमा त्यसबेला नेपालको कुटनीतिक मर्यादा र क्षमता यति शक्तिशाली थियो कि त्यस्ता गम्भीर बिरामी आइजनहावर हेलिकोप्टरमा विमानस्थल गएर राजा महेन्द्रको भव्य स्वागत गरेका थिए। घटनाको यही संवेदनशीलता बुझेर अमेरिकी सरकारले तत्काल प्रोटोकल फेरेर अब उप्रान्त विदेशी पाहुनाको स्वागतमा राष्ट्रपति विमानस्थल नजाने बरु पाहुनालाई हेलिकोप्टरमा ह्वाइट हाउस ल्याएर गार्ड अफ अनर दिने प्रचलन सुरु गर्यो।

बीपीको अनुमति लिएर सभामुख कृष्णप्रसाद भट्टराईले अमेरिकी दूतावासका कार्यबाहक राजदूतलाई भेटेर ठाडै भनिदिए- ‘हाम्रो राजा अमेरिका जाँदा तिम्रो राष्ट्रपतिले किन स्वागत नगर्ने ? हामीलाई सानो देश भनेर हेपेको हो ?’ राजदूतले स्पष्टीकरण दिँदै भनेका थिए- ‘हाम्रो राष्ट्रपति मुटु रोगी हुनुहुन्छ।’

नेपाली पाहुनाका कारण ६५ वर्षअघि फेरिएको त्यो चलन जो बाइडेनका पालासम्म आइपुग्दासम्म कायमै छ। त्यतिमात्र होइन, दोस्रो विश्वयुद्धमा नेपालले गरेको उल्लेखनी सहयोगप्रति कृतज्ञता जनाउँदै जर्मनी, बेलायतलगायत पूर्वी तथा पश्चिम युरोपका थुप्रै देशले नेपालीलाई अनअराईभल भिसा उपलब्ध गराउँथे।

त्यो इज्जत, त्यो शान अब एकादेशको कथा बनेको छ। सामान्य पासपोर्ट बोक्नेको त कुरै भएन, रातो पासपोर्टधारीसमेत विदेशी अध्यागमनमा शंकाको घेरामा पर्ने गरेका छन्। शायद राजनीतिमा हारेपछि त्यसको प्रभाव सामान्य जीविकोपार्जन गर्नेमा पनि पर्छ क्यार। यसै भएर त विदेशी भूमिमा नेपालीको इज्जत, सलामी, मलामी र गुलामीमा सीमित हुँदै गएको छ।

राजनीतिक रुझान भएका मानिसको मात्र सरकार प्रतिस्पर्धी विश्वमा व्यावसायिक हुन नसक्ने ठहर गरी भारतमा मोदी सरकारले सरकारी सेवाबाट निवृत्त व्यक्तित्वलाई सरकारमा सामेल गरेको छ। सडक तयार भएपछि ठेकेदारलाई चालकको सिटमा राखेर अर्को सिटमा चियाको कप लिएका सरकारी जाँचकीले चिया पोखिएको, नपोखिएको आधारमा योजनाको पास, फेल गर्ने गरेका छन्। विदेश जान नदिने होइन विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिमा लगाउन गैरआवासीय भारतीय नागरिकलाई सरकारले खुला दिलले आह्वान गरेको छ।

त्यो इज्जत, त्यो शान अब एकादेशको कथा बनेको छ। सामान्य पासपोर्ट बोक्नेको त कुरै भएन, रातो पासपोर्टधारीसमेत विदेशी अध्यागमनमा शंकाको घेरामा पर्ने गरेका छन्।

त्यही भारत हो, जहाँ इन्दिरा गान्धीको हत्या हुँदा एउटा रेडियोले सिख सुरक्षा गार्डले गान्धीको हत्या गरेको भनेर प्रचार गरिँदा भारतीय सिखमाथि आक्रमण सुरु भयो। शिखहरु रातारात डाँडा काट्न बाध्य भए। ज्यान बचाउन भागेका तिनै सिख क्यानाडा र अष्टे«लियामा टाइकुन भएर बसेका छन्।

सीप, ज्ञान र मेहनतबाट उनीहरु विदेशी भूमिमा पनि मालिक भएका छन्। उद्योगधन्दामा लागेको मानिस कालान्तरमा उद्योगी बन्नेमा शंका छैन, तर भाग्यमा नै चौकीदार लेखिएको नेपाली चौकीदारभन्दा माथि उठ्न सक्दैन्। अरु त अरु भारतबाट नेपालमा काम खोज्न आएकाहरु सानै स्तरमा किन नहोस् , उद्यम गर्छन्। कपाल काट्छन्। सिरक बनाउँछन्। छाता मर्मत गर्छन। जुत्तामा पालिस लगाउँछन्। यो व्यवसाय सानै किन नहोस, यसले उद्यमशीलताको विकास गराउँछ। तर भारत टेकेको नेपाली बहादुरका नाममा चौकीदारी बाहेक केही जान्दैन।

पारी देशका गैरआवासीय भारतीयहरु आफ्नो देशमा सरकार परिवर्तन गर्ने आँट गर्छन् तर हाम्रा गैरआवासीय नेपाली भने लाटाले बाउ घुक्र्याएजस्तो घुक्र्याइ रहन्छन्। एउटा देशको नागरिक भएर धर्म निर्वाह गर्न नसकेकालाई दोहोरो नागरिकता चाहिएको छ। विदेशमा हुँदा नेताहरुलाई गाली गर्नु, अनामनगरमा गाडीले ठक्कर दिएर कुकुर मरेको विषयदेखि लिएर सिंहदरबारसम्मका विषयमा कमेन्ट गर्नु उनीहरुको दिनचर्या हो।

गरिबका सन्तान खाडीमा भासिएका छन्। धनीका सन्तान युरोप अमेरिकामा डुबेका छन्। आखिर कालले लगेपनि बाघले घिच्याए पनि नेपालका घर आँगन रित्ता छन्। 

रेमिट्यान्सका कुरा गर्ने हो भने आफूलाई दोस्रो दर्जाको नागरिक बनाउने प्रक्रियाका नाममा बुझाउनु पर्ने कर, त्यसपछि परिवारका अन्य सदस्यलाई समेत एडजस्ट गराउन पुर्याइने विधि विधानका कारण तिनीहरुको कमाइ देशका लागि खासामा सुनको कथाले हात बुचो भएको उखानको पर्याय बन्ने गरेका छन्। यही कारण विदेशिनेको परिवारमा न पाल्ने अभिभावक, न मरेपछि पोल्ने सन्तानको सन्तुलन छ।

गरिबका सन्तान खाडीमा भासिएका छन्। धनीका सन्तान युरोप अमेरिकामा डुबेका छन्। आखिर कालले लगेपनि बाघले घिच्याए पनि नेपालका घर आँगन रित्ता छन्। ठूलाबडाका न छोरा न बुहारी, न छोरी न ज्वाईं साथमा छन्। बरु नातिनातिनाको न्वारन, पास्नी बिहे भिडियोमा हेर्नुपर्ने अवस्था छ। नातिनातिनाको न्यास्रो टमी पालेर टार्नुपर्ने स्थिति छ। शरीरभर रोगले गरेको राष्ट्रिय सहमतिलाई अर्गानिक नामको भुसे खान्कीले छल्नु परेको छ। अब प्रश्न उठछ,- घरपरिवारका लागि त टेको बन्न नसकेका कथित एनआरएनहरुले देशको मुहार फेर्लान भनेर पत्याउनु भनेको आफैंले आफूलाई नै धोका दिनु सिवाय केही होइन।

दल र नेताहरुको मर्यादा मेची र महाकालीबाट पारी तर्न सकेको छैन्। बरु आफ्ना छोरा या नातिलाई मेडिकल पढ्न पठाउने, औषधोपचार गराइ माग्ने, निर्वाचन क्षेत्रमा एउटा एम्बुलेन्स पाउन बिन्तीपत्र हुने क्रम बढ्दो छ। एउटा भिसाका लागि जिन्दगीभरको इमान्दारी धरौटी राख्ने खालका गतिविधिमा चल्तीका नेताहरुको दिनचर्या बित्ने गरेको छ। फलस्वरुप दूताबासका गेटपालेदेखि उच्च अधिकारीसम्मले यो प्रवृत्तिमाथि राम्रैसँग खेलेका छन्। अब कुनै पनि कूटनीतिक निकायले सिंगो पार्टीलाई चिन्न छोडेको छ। कुनै पनि दलका अघिल्लो पुस्ताका नेता रहँदासम्म देशको साखमाथि कसैले खेल्न सकेको थिएन।

चीनले सगरमाथा आफ्नो हो भनेर दाबी गर्दा बीपीले सोधेका थिए- ‘यदि सगरमाथा तिम्रो हो भने चिनियाँ भाषामा सगरमाथाको नाम के हो ?’ चिनियाँले उत्तर दिए- ‘चोमोलोङमा।’ बीपीले त्यो तिब्बती नाम भएको भन्दै सगरमाथाको लालपूर्जा नेपालको नाममा दिलाई छोडे।

चीनले सगरमाथा आफ्नो हो भनेर दाबी गर्दा बीपीले सोधेका थिए– ‘यदि सगरमाथा तिम्रो हो भने चिनियाँ भाषामा सगरमाथाको नाम के हो ?’ यसो भन्दा चिनियाँले उत्तर दिए- ‘चोमोलोङमा।’ बीपीले तत्काल प्रतिवाद गरी त्यो तिब्बती नाम भएको भन्दै सगरमाथाको लालपूर्जा नेपालको नाममा दिलाई छोडे। एसियाका कुनै देशले इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिनुअघि बीपीले मान्यता दिएर निर्णय क्षमताको परिचय दिएका थिए।

नेपालका कुनै कम्युनिस्ट नेतालाई अर्को देशको कम्युनिस्ट नेताले पत्याएर एउटा साइकल उपहार दिएको सुनिएको छैन तर तिनैले विरोध गर्ने राजा त्रिभुवनले हिटलरबाट पाएको गाडीको अवशेष अझै संग्रहालयमा सुरक्षित छ। जसरी रक्सी खान कुरानले बन्देज लगाएको तर भोड्का खान छुट दिएको भन्दै ज्यान छोडेर भोड्का तान्ने रुसी मुसलमानहरुको आलोचना गरिन्छ, त्यसैगरी कम्युनिस्टको खास्टो ओढेर हिङदेखि हर्दीसम्मको व्यापार भ्याउने चरित्रका कारण नेपाली नेताहरु बद्नाम छन्। कम्युनिस्ट नाम उनीहरुका लागि नक्कली जोगीले धसेको खरानीजस्तै भएको छ। जुन कम्युनिष्ट नेताहरु इमान्दार छन् , तिनीहरु जन्मेदेखि अहिलेसम्म सडकमै छन्। इमान्दार नेताहरु ‘गद्दार’ को पुरस्कारबाट विभूषित हुने गरेका छन्।

नेपालमा क्षमतावान नेता प्रशस्तै जन्मिए। कतिले सपना देखे, समय पाएनन्। अहिलेकाले समय पाए, सपनै देखेनन्। टंकप्रसाद आचार्य एकताका चीन भ्रमणमा थिए। त्यो बेला चीन र जापानबीच सम्बन्ध चिसिएको थियो। चीनले शान्तिदूतका रुपमा जापान गएर दुई देशबीचको सम्बन्ध सुलह गराइदिन गरेको आग्रहलाई उनले सफलतापूर्वक सम्पन्न गरिदिए।

राजा वीरेन्द्रले झण्डै डेढ सय देशबाट नेपाललाई शान्तिक्षेत्र घोषित गराए। तर गणतन्त्र आएपछि लोकतन्त्रको जननी मानिने बेलायतमा रहेको नेपाली दूतावास कमिसनको चक्करमा बेच्ने प्रक्रिया सुरु भएको समाचार आउन थाले।

१४ भाषाका ज्ञाता मातृका प्रधानमन्त्री भइसकेपछि पनि अमेरिकाको राजदूत भएर पद सानो ठूलो हुँदैन भन्ने प्रमाणित गरे। राष्ट्रसंघमा अलिखित भाषण गर्ने मातृका त्यसबेलाका विश्वकै चर्चित वक्ता थिए। बीपीले राष्ट्रिय स्वाधिनताका लागि बमदेखि साइनाइटसम्म बोके। अपठित जंगबहादुर कति अनुशासित थिए भने पानीजहाजमा गाई, पिपलसमेत लिएर बेलायत गए। रानी भिक्टोरियालाई प्रभावित पार्न सफल उनले उताबाट आउँदा जनता सूसूचित गर्न गिद्दे प्रेसमात्र ल्याएनन, त्यहाँका सैनिकको मार्चपास अवलोकन गरेर आफ्नो देशको सैनिक संरचनामा व्यापक सुधार गरे।

राजा वीरेन्द्रले झण्डै डेढ सय देशबाट नेपाललाई शान्तिक्षेत्र घोषित गराए। तर गणतन्त्र आएपछि लोकतन्त्रको जननी मानिने बेलायतमा रहेको नेपाली दूतावास कमिसनको चक्करमा बेच्ने प्रक्रिया सुरु भएको समाचार आउन थाले। खर्च नभएर दूताबास र महावाणिज्य दूतावासका कार्यालय खुला आकासमा सञ्चालन भएका तस्बिर छापिन थाले। भागवण्डाका नाममा सुँगुरलाई ठुलो मुसा भनेर बुझ्ने खालका मानिस दूतमा नियुक्त हुन थाले।

१९५० को सन्धिलाई नेहरु विश्वविद्यालयका प्रोफेसर मुचुकन्दले समस्याको बाकस भएको भन्दै यसलाई एकैपटक नखोल्न सुझाव दिएका थिए। मोहनशम्शेर जननिर्वाचित प्रधानमन्त्री थिएनन्। तर उनैले सन्धिमा सही धस्काएका थिए। सबैलाई थाहा भएकै सत्य हो– संसदले अनुमोदन नगरेको सन्धि अवैध मानिन्छ। अहिले यही सन्धि दलहरुका लागि अन्धाले छामेको हात्तीजस्तो बनेको छ। पश्चिमा राष्ट्रहरुले विकासभन्दा मानवअधिकारलाई पहिलो एजेण्डा बनाएका छन्। जुन रणनीति गरिब देशमा खेल्ने सजिलो औजार बनेको छ। तर मौलिक रोडम्याप नहुँदा हामीले जसको लाठी उसको भैंसीको नियति भोग्नुपरेको छ।

भगवान बुद्धको मूर्ति त धेरै स्थापना भए, तर बुद्धत्त्व ग्रहण गर्नेहरु थोरै भेटिए। देवताको पूजा गर्न मन्दिरमा थुप्रै भीड लाग्यो, देवत्वको मर्म आत्मसात् गर्ने झन् न्यून भए।

सुरुसुरुमा अमेरिकाले तेस्रो विश्वलाई आफ्नो प्रभावमा पार्न आर्थिक रणनीतिको हतियार उपयोग गरेको थियो। अमेरिकी सरकारको चार सूत्रीय कार्यक्रम अनुसार अल्पविकसित देशलाई प्रविधि सहायता दिइन्थ्यो। साम्यवादको चपेटाबाट सिर्जित गरिबी, भोकमरी, निराशा र अव्यवस्थाबाट बचाउन भन्दै उसले मार्सल योजना अन्तर्गत युरोपमा उल्लेखनीय धनराशी खर्च गरेको थियो। अहिले त्यो रणनीति रुसमा केन्द्रित छ। यी सबै घटनाक्रमको निष्कर्ष हो– आत्मकेन्द्रित राजनीतिले मुलुक भड्खालोमा जाकिन्छ। जब नेता राजनेता बन्ने अवसर छोडेर एजेन्टमा रमाउँछन्, त्यो बेला राम राम त भनिएला तर काँध हाल्ने र छाँद हाल्ने मरिगए भेटिदैन्। राजनीतिमा विश्वास भएन भने त्यो आत्मघात शिवाय केही हुँदैन्।

भगवान बुद्धको मूर्ति त धेरै स्थापना भए, तर बुद्धत्त्व ग्रहण गर्नेहरु थोरै भेटिए। देवताको पूजा गर्न मन्दिरमा थुप्रै भीड लाग्यो, देवत्वको मर्म आत्मसात् गर्ने झन् न्यून भए। जनयुद्ध जीवनको गम्भीर भूल थियो भन्न मात्र बाँकी राखेका माओवादी नेताहरुले ठूलो होइन असल बन्ने कोशिस गरुन्। गल्तीबाट नै क्षमाको उद्भव भएको हो। दोषीलाई कारवाही हैन, क्षमाको महानताले वशीभूत गर्न सकिन्छ। बसुधैव कुटुम्बकम्को मूल मर्म पनि यही हो।