समाचार

राष्ट्रियसभाको सुशासन र सरोकार समितिमा सभापतिका लागि आज निर्वाचन हुने

By खबरहब

March 18, 2024

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै छन् । विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

दुवै समितिका बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्न लागेको हो । बैठकमा समितिका सभापतिको निर्वाचनलगायत कार्यक्रमको कार्यसूची रहेको छ ।

जस अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कांग्रेसका कमला पन्त तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेका सोनाम गेल्जेन शेर्पाको उम्मेदवारी परेको छ ।

पन्थलाई कांग्रेसका नारायणदत्त भट्ट र एमालेकी शारदादेवी भट्टको समर्थन छ भने शेर्पालाई माओवादीका गोपीबहादुर सार्की अछामी, एमालेकी इन्दिरादेवी गौतम र कांग्रेसकी दुर्गाकुमारी गुरुङको समर्थन छ ।

एक–एक जनाको मात्रै उम्मेदवारी परेकाले दुवै समितिका सभापति निर्विरोध चयन भएको घोषणा हुनेछ । यी दुई सभापतिमा सत्तारुढ दल एमाले र नेपाली कांग्रेसले भागबण्डा गरेका हुन् ।