धर्म / संस्कृति

मिथिलाञ्चलमा विधिवत रूपमा होली पर्व सुरु

By खबरहब

March 18, 2024

महोत्तरी– महोत्तरीको भङ्गहा नगरपालिका– ९ कञ्चनवनमा भगवान रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत रुपमा सुरु भएको छ ।

संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमा अन्तर्गत आज  बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले भगवान रामचन्द्र र सीता माताको प्रतिमामा रङ, अबिर हालेपछि सम्पूर्ण मिथिलाञ्चलमा विधिवत रूपमा होली प्रारम्भ भएको हो ।

पन्ध्र दिने माध्यमिकी परिक्रमा अन्तर्गत सातौँ दिनको बासस्थानका लागि भङ्गहा नगरपालिका–९ कञ्चनवनमा पुगेका साधु, सन्त, महात्मासहित सम्पूर्ण परिक्रमा यात्रीले आज बिहान भगवान रामचन्द्र र माता सीताको डोला र मूर्तिमा रङ र अबिर लगाइयो भने परिक्रमामा सहभागी सयौँ साधुसन्त र  परिक्रमा यात्रीले एकापसमा रङ अबिर दलेका थिए ।

होलीको विधिवत् प्रारम्भसँगै प्रत्येक वर्षझैँ यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत गाउने, नाचगान गर्ने, हाँसो ठट्टा र व्यङ्गात्मक कविता वाचन तथा चुट्किला भन्ने तथा नाटक देखाइनेछ ।