रोल्पा सदरमुकाम लिवाङ पुग्नेबाटो सेलरोटीजस्तै घुमाउरो छ । गाडीको यात्रा असहज मान्नेहरुका लागि यो बाटोको यात्रा घनघस्याको उकालोभन्दा कठिन लाग्न सक्छ । यही बाटोको मुन्तिर मेबाङ गाउँमा घर भएका ‘महरा सर’का नामबाट चिरपरिचित शिक्षक कृष्णबहादुरलाई घर मास्तिरको सडक झैं आफ्नो जीवन चक्रव्यूहमा फस्ला भन्ने न कुनै अनुमान थियो, न पूर्वसंकेत नै । जो विज्ञान र गणितका दुर्लभ शिक्षक थिए ।
चेला चपेटाको ठूलो झुण्ड थियो । सानो सपनाभित्र ‘गुरु’को ओजपूर्ण जीवन बाँचिरहेका थिए । गाउँ समाजका अंशवण्डा, ऐंचोपैंचो, पर्म, साँध सिमानाका विवाददेखि जोइपोइका झगडासम्मका मध्यस्थता ‘महरा सर’को रोहबरमा हुन्थ्यो । ०४६ सालको राजनीतिक परिवर्तनले महरा सरको सरल जीवनमा महत्वाकांक्षाको आँधी रोपिदियो ।
०४८ सालमा संयुक्त जनमोर्चाबाट चुनाव जितेका उनै महरा सर ‘माननीय’को फुर्को फिरेर संसद्मा प्रकट भए । माओवादी द्वन्द्वको हेडक्वार्टर रहेको रोल्पाका महरा माननीयमा बाँधिन सकेनन् । कम्ब्याक्ट ड्रेस लगाएर प्रचण्डको सहयात्री भएर सपरिवार भूमिगत भए ।
माओवादी शान्ति प्रक्रियामा आउने क्रमका हरेक वार्तामा महरा पार्टीको प्रतिनिधित्व गर्थे । शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद र प्रचण्डका विश्वासपात्र दुई कृष्णमध्ये महरा एक थिए । माओवादी संसदीय राजनीतिमा आएसँगै विगतको पृष्ठभूमिका आधारमा पार्टीले उनलाई संसद्को ‘हेडसर’ बनायो । ०६४ सालको संविधानसभाको निर्वाचनसँगै उनी महाभारतको कृष्णजस्तै राजनीतिमा उदाए । माओवादीभित्र महरा यस्ता भाग्यमानी पात्र थिए कि पार्टी दिएको नभएर आफूले रोजेको पाउँथे ।
पहिलोपल्ट सञ्चारमन्त्री हुँदा ‘घरघरमा इन्टरनेट, हात हातमा मोबाइल सेट’ अवधारणा ल्याएर सञ्चारक्षेत्रमा क्रान्तिको बीउ रोपे । अरुका कुरा धैर्यपूर्वक सुन्ने, कुरा बुझ्ने, आफ्नो कुरा स्पष्ट राख्न सक्ने कलाका कारण अरु पार्टीमा उनको छवि सकारात्मक थियो ।
सत्तामा हटकेक हुँदै गएका उनी गृहमन्त्री हुँदै सभामुखसम्म बन्न भ्याए । सत्ताको चास्नीले परिवार महत्वाकांक्षी बनेको महरा सरले पत्तै पाएनन् । परिवारै युद्धमा होमेर पार्टीमा आफ्नो स्कोर त बढाए तर सन्तानको अस्वाभाविक तिर्खामा बन्देज लगाउन सकेनन् । शिक्षासँगै संस्कारको आग्लो बन्द हुँदा छोराहरूका अगाडि लाचार कृष्ण बन्न बाध्य भए ।
सभामुख रहेकै अवस्थामा महराले आफ्नै कार्यालयकी एक विवाहित महिला कर्मचारीबाट बलात्कारको आरोप लागेपछि त झन् उनको राजनीतिक उचाइ ढलेको धरहरा झैं भयो । यो प्रकरणले सामाजिक र पारिवारिक रूपमै उनी खण्डित भए । पार्टीले पद त दियो, विश्वास दिएन । अझ पत्नीवियोगले महरा छोराहरूको तिर्खा मेटाउने घाँटी बन्दै गए । अन्तत: सुन तस्करीको नमिठो अध्यायसंगै महरा जेलको पाहुना बने ।
पुत्रमोहले महाभारतका प्रतिष्ठित गुरु द्रोणाचार्यको प्रतिष्ठा घट्यो । आफ्नो सन्तान अश्वत्थामालाई उत्कृष्ट प्रमाणित गर्न अरु शिष्यको तुलनामा उनले ठूलो मुख भएको पानी भर्ने अम्खोरा दिएका थिए । त्यसैगरी सन्तानको रहरका अगाडि महराले पनि आफ्नो राजनीतिक धर्म तिलाञ्जलि दिए । बेसार खेती हुने रोल्पाको परिवेश अन्ततः त्यही रङको धातुमा पुगेर कृष्णबहादुर झण्डै पाँच दशकको राजनीतिक जीवनले विश्राम लियो ।
‘महरा सर’ फापेका कृष्णबहादुरका लागि माननीय अभिशाप ठहर्यो । जेलमा पनि उनी पटके कहलिए । भात बोकेर भेट्न जाने सन्तान सरकारकै पाहुना बन्यो । सन्तानको इच्छामा आँखा चिम्लिँदा त्यही नियति भोगिरहेका टोपबहादुर रायमाझीसँग पटकथा पैँचो लिए जसरी नै दोहोरियो ।
रगतको साइनो सत्ता शक्तिमा हावी हुँदा त्यसले सृजना गर्ने आत्मघातका थुप्रै रामकहानी छन् । ०१५ सालमा चुनावबाट पहिलो प्रधानमन्त्री बनेका बीपी कोइराला भाइ तारिणीप्रसाद कोइरालालाई स्वकीय बनाउँदा आलोचनाका पात्र बने ।
पत्नी र छोरालाई पराजित गराइएको आक्रोश पोख्दा गणेशमानसिंहको त्यो इतिहास चाउरिएर अन्तत: पार्टीबाटै रिङ आउट हुनुपर्यो । छोरी मोहले गिरिजाप्रसाद कोइरालाको राजनीतिक उत्तरार्द्ध सुखद भएन । सन्तान र पत्नीको महत्वाकांक्षाको व्यवस्थापनका लागि राज्यको सुविधा ‘ललीपप’ बनाउने वर्तमान प्रधानमन्त्री प्रचण्डदेखि शेरबहादुर देउवासम्मका क्रियाकलापको लोकमा श्रृङ्खलाबद्ध आलोचना भइरहेकै छ ।
महराले भोगेको यो नियति अरुका लागि अर्लराम त हुँदै हो, नबोल्ने तर न्याय निसाफको हिसाबकिताब राख्ने ‘पब्लिक अडिट’को हिसावकिताव पनि हो ।