काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो बढिरहेका बेला काठमाडौंको नरदेवीमा रहेको आयुर्वेदिक अस्पतालले मानिसको विश्वास जित्दै गएको छ। सरकारी स्वामित्त्वको अस्पतालले किफायती खर्चमा दिने स्वास्थ्य उपचारले मानिस आकर्षित भएका हुन्। आठ महिना अगाडि वीरगञ्जकी ६८ वर्षीया बास्मतीदेवी यादवलाई एक्कासी उच्च रक्तचापले प्यारालाइसिस गरायो।
‘विभिन्न ठाउँमा उपचार गरायौं तर केही सुधार भएन। नरदेवी आयुर्वेदिक अस्पतालको नाम सुनेको भरमा ल्याएँ। अहिले केही सुधार भएको छ’, बास्मतीका छोराले भने। करिब डेढ महिनादेखि नरदेवीको जनरल वार्डमा उपचाररत बास्मतीमा अहिले धेरै सुधार आएको छ। खबरहबसँग कुरा गर्दै उनले भने, ‘पहिले नै ल्याएको भए अहिलेसम्म निको भइसक्थ्यो। स्वास्थ्यमा सुधार भएको देख्दा निको हुन्छ भन्ने आशा पलाएको छ। उपचारको व्यवस्था पनि राम्रो छ। निःशुल्क शैय्या, बिरामीलाई खाना खाजा निःशुल्क छ। यहाँको उपचार राम्रो छ।’
बाराकै एक अर्का बिरामीमा पायल्स र फिस्टुलाको समस्या थियो। उनले बाहिर तीन पटकसम्म शल्यक्रिया गराउँदा पनि निको भएन। अप्रेशन गर्दागर्दै लिकेज हुने समस्या भएपछि यहाँ आएका हुन्। आठ महिना अस्पतालमै भर्ना भएर उपचार गराएपछि निको भएर उनी घर फर्किए। अहिले उनी स्वस्थ छन्।
यी प्रतिनिधि पात्रजस्तै पुराना तथा बल्झिएका रोगको निदान तथा एलोपेथिक उपचार गर्दागर्र्दै थाकेका बिरामीको रोजाइ बनेको छ काठमाडौंको नरदेवीस्थित आयुर्वेद चिकित्सालय।
गौरवपूर्ण इतिहास यो अस्पताल नेपालको एक मात्र केन्द्रीय आयुर्वेद अस्पताल हो। वि.सं १९७४ सालमा स्थापित यो नेपालको तेस्रो पुरानो अस्पताल हो। आयुर्वेद चिकित्सा पद्धति प्राचीनकालदेखि नै स्वस्थ, सबल, रोगमुक्त जीवनको चिन्तनद्वारा आरोग्य स्थापनाका निमित्त स्थापित छ। त्यसकै निम्ति देशकै पुरानो नरदेवी आयुर्वेद अस्पतालको स्थापना भएको हो। निःशुल्क रुपमा आयुर्वेदिक उपचार पाइने यस अस्पतालको जनरल वार्डमा सय शैय्या र १८ वटा विशेष कक्ष रहेका छन्। एउटा शल्यक्रिया कक्ष समेत रहेको छ।
१२५ जना कर्मचारी रहेको केन्द्रीय अस्पतालले समयक्रम सँगै सोचेजतिको गति लिन सकेको थिएन। अस्पताल व्यवस्थापन समितिमा हुने चरम राजनीतिक नियुक्तिका कारण कर्मचारी र चिकित्सक नियुक्ति गर्दा हुने राजनीतिक भागवण्डाले दिन प्रतिदिन यसको साख घट्दै गइरहेको थियो। तर पछिल्लो समय भने त्यो अवस्थाबाट माथि उठेको अवस्था छ।
१ सय ७ वर्षको इतिहास बोकेको यो अस्पताल लामो समयको लथालिङ्ग अवस्थाबाट तङ्ग्रिन थालेको अनुभूति त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राही सबैलाई हुँदै आएको छ। फोहोर तथा ढल व्यवस्थापनबाट सुरु गरिएको सुधार अभियानका कारण अहिले सफा वातावरण, व्यवस्थित पार्किङ, सहज उपचारको व्यवस्था नरदेवी अस्पतालको पछिल्लोे परिचय बन्न थालेको नरदेवीमा २०६४ सालदेखि काम गर्दै आएकी नर्स रुपा चौधरीले बताइन्।
राज्यले आयुर्वेद क्षेत्रलाई त्यति प्राथमिकतामा नपारेपछि जति सुधार हुनुपर्ने हो त्यति नभएको प्रशासन तथा जिन्सी शाखा प्रमुख तेजकुमार शर्माले बताए।
अस्पतालको सुधार गर्नुपर्ने पक्ष आयुर्वेद क्षेत्रको बारेमा पछिल्लो पुस्तालाई त्यति जानकारी छैन। तर एलोपेथिक उपचार पद्धतिले विश्वास कमाएको र आयुर्वेदिकले विश्वास गुमाएको अवस्थाबाट अहिले जुरमुराएको अवस्था छ। अहिले दैनिक करिब दुई सय बिरामी उपचारका लागि आउने गरेका छन्। यो भनेको सुखद पक्ष हो। ‘सय शैय्याको अस्पताल भनिए पनि यहाँको जनशक्ती, सरकारले गर्ने लगानी लगायतका कुरालाई हेर्ने हो भने दुई सय जना बिरामी पर्याप्त हो। सर्जरी, अकुपञ्चर लगायत कक्षमा अहिले पनि ३०/३५ जना बिरामी भर्ना भएरै उपचार गराइरहेका छन्’, प्रशासन तथा जिन्सी शाखा प्रमुख शर्माले भने।
शर्माका अनुसार पायल्स, फिस्टुला, जन्डिस, ढाड दुख्ने, फिजियो थेरापीको आवश्यकता भएका बिरामी धेरै आउने गरेका छन्। सरकारले आयुर्वेद क्षेत्रलाई प्राथमिकतामा पारेको छैन। १३ करोड ७८ लाख हामीले बजेट माग गरेका छौं। यसबाट हामीले अत्यावश्यक सेवा सुविधा दिएर अस्पताल सञ्चालन गर्न सक्छौं। तर सरकारले ९ करोडमा सीमित राख्यो। साढे ७ करोड कर्मचारीकै तलबमा खर्च हुन्छ।
बचेको एक डेढ करोड पैसाले वर्षभरमा अस्पताल चलाउनुपर्ने बाध्यता रहेको शर्मा बताउँछन्।
अस्पतालसँग अन्य आयस्रोत केही छैन। सरकारी अस्पताल भएको नाताले ३०-४० रुपैयाँ टिकटमा लिने गरिएको छ। त्यसबाट विकास समितिका कर्मचारीलाई पारिश्रमिक दिइन्छ। सुधार गर्नुपर्ने पक्ष त धेरै छन्। तर त्यसमा सरकारको सहयोग छैन। देशको एउटा मात्रै संघीय आयुर्वेद अस्पताल भएर पनि सरकारले जति गर्नुपर्ने हो त्यति लगानी गर्न नसकेको अस्पताल प्रशासनको निष्कर्ष छ।
‘सरकारले तोके अनुसार २३ वटा औषधी निःशुल्क वितरण गर्ने गरेको छ, जुन हामीले टेण्डर मार्फत कच्चा पदार्थ खरिद गरेर अस्पतालमै बनाउने गर्दछौं। बाँकी बाहिरबाटै किनेर अस्पतालकै फार्मेसीमार्फत न्युनतम शुल्कमा बिक्री गर्ने गरिएको छ। धेरै टाढाबाट बिरामी आउँछन्। विभिन्न प्रदेश तथा स्थानीय तहमा पनि नरदेवी जस्तै आयुर्वेद अस्पताल सञ्चालन गरेको भए बिरामीलाई अझै सहज हुने पञ्चकर्म शाखा प्रमुख विद्या श्रेष्ठको भनाइ छ।
पञ्चकर्म विधिमार्फत् विभिन्न मानसिक तथा शारीरिक रोग जस्तै माइग्रेन, अनिन्द्रा, छालारोग, मुटुरोग, मिर्गौलाको पत्थरीजस्ता समस्यामा प्रभावकारी बन्ने गरेको उनले बताइन्।
बिरामीको अन्तिम गन्तव्य नरदेवी आयुर्वेदिक अस्पतालमा जताततै उपचार गर्दै थाकेर रोगको चौथो चरण अर्थात् अन्तिम चरणमा मात्रै बिरामी आउने गरेका प्रशासन तथा जिन्सी शाखा प्रमुख शर्माले बताए। उनी भन्छन्, ‘क्यान्सर लागेर चौथो चरणमा उपचार गर्न आउनु भनेको मृत्युको मुखमा पुगेर उपचारमा आउनु हो। त्यसमा पनि कतिपय बिरामी निको भएका छन्।’
रोगको सुरुवाती चरणमा आउने बिरामी एकदमै कम छन्। हामीले लाखौं पैसा सकेर उपचार गर्दा पनि निको भएन अब हामीसँग पैसा छैन भन्दै बिरामी आउँछन्। त्यस्ता बिरामीलाई व्यवस्था अनुसार ५० प्रतिशतसम्म छुटमा उपचार गर्ने गरिएको छ। त्यस्तै ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तलाई पनि छुटको व्यवस्था रहेको छ।
महिलामा देखिने विभिन्न समस्यामा पनि आयुर्वेदिक उपचार पद्धति प्रभावकारी भइरहेको आयुर्वेदिक चिकित्सक प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. एश्वर्या श्रेष्ठले बताइन्। उनका अनुसार सेतो पानी बग्ने, पाठेघर खस्ने, पाठेघरको ट्युमरको समस्या, पाठेघरको मुखको क्यान्सर लगायतका समस्या लिएर धेरै महिला आउने गरेका छन्।
अन्तिम अवस्थामा उपचारका लागि आउँदा उपचार विधि अलि लामो हुने उनले बताइन्। महिलामा देखिने समस्याको समयमै उपचार गर्न सके अझै प्रभावकारी हुने भएकाले आफ्ना समस्या लुकाएर नराख्न र छोरी त्यही अनुसार पालन पोषण गर्न उनको सुझाव छ।
डा. श्रेष्ठ भन्छिन्, ‘अहिले छोराछोरी बराबरी भन्ने प्रवृत्तिले पनि महिलामा पछि गएर महिनावारी गडबडी, पाठेघरको समस्या, अनिन्द्रा लगायतका समस्या बढेका छन्। छोराछोरी बराबरी भनेपनि शारीरिक रुपमा फरक हुन्छ। त्यसैले उनीहरुको शारीरिक बनावट अनुसार पालनपोषण पनि हुनु आवश्यक छ।’
त्यस्तै पछिल्लो समयको खानपान र जीवनशैलीका कारण महिलामा बाँझोपनको समस्या बढेको र त्यसको पनि राम्रो उपचार हुने गरेको उनले बताइन्। उनले भनिन्, ‘आइभिएफ प्रविधिमार्फत् बच्चा जन्माउनुपर्छ भनेका केही केश नरदेवीमा उपचारपछि सजिलै आमा बन्न सफल भएका छन्। उनका अनुसार गर्भवती आमालाई पनि के कस्तो पोषक तत्त्व तथा व्यायाम आवश्यक छ भन्ने सल्लाह दिने गरिएको र धेरै गर्भवती चेकजाँचका लागि आउने गरेका छन्।