समाचार

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

By खबरहब

May 18, 2024

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्र गरिएको हो ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले चार करोड ११ लाख ५६ हजारको लागतमा कट्टेलचोक–आमाडाँडा सडकखण्ड कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिए ।

गोरखा नगरपालिका–८ र ९ जोड्ने उक्त सडकखण्ड २०५५ सालमा निर्माण गरिएको थियो । सडक कालोपत्र गरिएपछि जनजीवन सहज भएको स्थानीय शान्ता कट्टेलले बताइन् । पक्की सडक निर्माणपछि कृषिउपज बजारसम्म लैजान सहज भएको छ ।