राजनीति

बालुवाटारको छलफलमा कांग्रेस सभापतिसहित नेताहरु पुगे 

By खबरहब

May 18, 2024

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका  सभामुख देवराज घिमिरे र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।  

सो छलफलमा कांग्रेस नेताहरूलाई पनि बोलाइएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । 

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णप्रसाद सिटौला र प्रतिनिधि सभाका प्रमुख सचेतक  रमेश लेखक पनि पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

अहिले कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल भइरहेको छ । आजको बैठक संसद्को अवरोध हटाउनका लागि निर्णयक बैठक हुनसक्ने बताइएको छ । 

प्रधानमन्त्रीले पनि भोलिसम्ममा संसद्को अवरोध हटाउन सहमति जुट्ने बताइरहेका छन् । 

सुरुमा प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्ष ओलीले छलफल गरेका  थिए । त्यसपछि गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेलाई बोलाइएको थियो । अहिले पुनः प्याकेजमा सहमति जुटाउँन कांग्रेसलाई बोलाइएको बताइएको छ ।