आर्थिक

५०० हेक्टरभन्दा बढी क्षमताका सिँचाइ आयोजना संघीय सरकारले बनाउने

By खबरहब

June 18, 2024

काठमाडौं– पहाडी भेगमा ५०० हेक्टरभन्दा बढी सिँचाइ क्षेत्रफलमा सिँचाइ क्षमता हुने आयोजना संघीय सरकारले निर्माण गर्ने भएको छ । तराई तथा भित्री मधेसमा पाँच हजार हेक्टरभन्दा बढी सिँचाइ क्षेत्र भएका आयोजना पनि संघ सरकार अन्तर्गत रहने भएको हो ।

सरकारले प्रतिनिधि सभामा दर्ता गरेको जलस्रोतसम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले संघ, प्रदेश र स्थानीय तहको सिँचाइ क्षेत्रको क्षेत्राधिकार तोक्दै यस्तो व्यवस्था गरेको हो ।

त्यस्तै, एकभन्दा बढी प्रदेशमा सञ्चालन हुने सिँचाइ आयोजना र क्लस्टर तथा ठूला नदी वेसिन करिडोर अवधारणामा निर्मित भूमिगत तथा लिफ्ट सिँचाइ आयोजना पनि संघ सरकारअन्तर्गत रहने प्रस्ताव छ ।

त्यस्ता सिँचाइ आयोजना निर्माण, सञ्चालन र रेखदेख संघ सरकारले नै गर्ने उल्लेख छ । त्यस्तै, पहाडमा १० देखि ५०० हेक्टर सिँचाइ क्षेत्र भएको र तराईमा १०० देखि ५ हजार हेक्टरसम्म सिँचाइ क्षेत्र भएको आयोजना प्रदेश सरकारमातहत रहने गरी क्षेत्राधिकार तोकिएको छ ।

डीप ट्युबवेलबाट गरिने सिँचाइ तथा लिफ्ट आयोजना र एकभन्दा बढी स्थानीय तहमा सञ्चालन हुने आयोजनाहरू पनि प्रदेशले हेर्ने व्यवस्था गरिएको हो ।

त्यस्तै, पहाडी क्षेत्रको हकमा १० हेक्टरभन्दा कम र तराई तथा भित्री मधेसमा १०० हेक्टरभन्दा कम सिँचाइ क्षेत्र भएको आयोजना स्थानीय तहले व्यवस्थापन गर्नेछ । स्यालो ट्युबवेलबाट गरिने र साना सिँचाइ आयोजनाहरू निर्माण भने स्थानीय तहमार्फत हुने प्रस्ताव गरिएको हो ।

उक्त विधेयक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादु बस्नेतले २०८१ जेठ ३१ मा प्रतिनिधि सभामा दर्ता गराएका हुन् । यसअघि समितिमा दफावार छलफल भएको उक्त विधेयक प्रचलित जलस्रोत ऐन, २०४९ कार्यान्वयन क्रममा देखिएका समस्या तथा चुनौती सम्बोधन गर्न जलस्रोत विधेयक तयार गरी संसदमा प्रस्तुत गरिएको मन्त्रालयले जनाएको छ ।