समाचार

प्रहरीले लखेटेपछि सडकभरि कवाडी व्यवसायीका चप्पल (तस्बिरहरू)

By खबरहब

June 18, 2024

काठमाडौं- काठमाडौं महानगरपालिकाको हस्तक्षेपविरुद्ध निरन्तर आन्दोलन गरिरेका कवाडी व्यवसायीहरू मंगलबार कमलादीको सडक क्षेत्रमा उत्रिए ।

व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै कवाडी व्यवसायीहरूले मंगलबार काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गर्दै कार्यालय घेर्न खोजेका थिए ।

काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रमा विरोध जनाउँदै कवाडी व्यवसायीहरूले प्रदर्शन गरेका थिए ।

उनीहरूले मंगलबार महानगरपालिकाको कमलादीस्थित कार्यालय घेराउ गरे । कवाड व्यवसायीहरूले दरबारमार्गदेखि कमलादी सडक क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्‍यो ।

उनीहरूमाथि प्रहरीले धरपकड गर्दै लाठी हानेपछि प्रदर्शनकारीहरू तितरबितर भएका थिए । प्रहरीले पानीको फोहरा हान्ने गाडीसमेत उतारेको थियो ।

प्रहरीले धरपकड गरेपछि भाग्ने क्रममा प्रदर्शनकारीका चप्पल-जुत्ता सडकभरि असरल्ल छरिएका छन् । प्रहरीको लाठीबाट जोगिन उनीहरूले छाडेका चप्पल साँझसम्म सडकै छरपस्ट भेटिए ।

तस्बिरहरू : ज्ञानु घिमिरे