समाचार

कोइलाबास भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

By खबरहब

July 18, 2024

घोराही– दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । 

कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा एक करोड ४० लाख ७६ हजार ९० राजस्व संकलन गरेको प्रमुख दीपक शर्माले जानकारी दिए । भन्सार कार्यालयले गत आर्थिक वर्षका लागि रु एक करोड एक लाख ३८ हजार राजस्व संकलनको लक्ष्य पाएको थियो । 

भारतबाट प्यूठानको स्वर्गद्वारी, दाङको चौघेरा, रिहारलगायत धार्मिक क्षेत्रको भ्रमणका लागि आउने तीर्थयात्रीका सवारी साधनबाट बढी राजस्व संकलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ । 

पछिल्लो समय दाङ आसपासका क्षेत्रमा भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको छ । यसरी आउने भारतीय पर्यटकहरुबाट भन्सार कार्यालयले दुईपाङ्ग्रे सवारी साधनको एक दिनको रु दुई सय र चारपाङ्ग्रे सवारी साधनबाट एक दिनको छ सय राजस्व लिने गरेको छ ।

 भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि एक करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको छ ।