आर्थिक

अर्थसंक्षेप : शेयर बजारमा उछाल, बिजुलीको महशुल नतिर्ने ५७ उद्योगको नाम सार्वजनिक 

By खबरहब

July 18, 2024

काठमाडौं– बिजुलीको महशुल नतिर्ने ५७ वटा उद्योग नामावली सार्वजनिक भएको छ । यता आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका छन् ।

यसरी नै बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रसारण लाइन जडान गरिएको छ । यस्तै, अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ ।

आजका प्रमुख आर्थिक समाचारहरू ः

बिजुलीको साढे ८ अर्ब नतिर्ने यी हुन् ५७ उद्योग 

शीतलनिवासमा सोमबार पद तथा गोपनीयताको शपथ खाएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल बधाई थाप्न व्यस्त भइरहेकै बेला उद्योगपतिहरूको एउटा जम्बो टोली आफ्ना मागको सूची बोकेर बालुवाटार र सिंहदरबार पुग्यो ।

उद्योगीहरूले प्रधानमन्त्री र अर्थमन्त्रीसमक्ष राखेका विभिन्न मागमध्ये एउटा थियो– डेडिकेटेड फिडर र ट्रंकलाइन सेवा लिएबापत तिर्नुपर्ने करिब साढे ८ अर्ब रुपैयाँ विद्युत् महसुल बक्यौता तिर्नु नपर्ने व्यवस्था गराइपाऊँ । उद्योगपतिले बिजुलीको करोडौँ बक्यौता नतिरे पनि लाइन नकाटियोस् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र निवर्तमान अध्यक्ष शेखर गोल्छासहितको टोलीले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर आफ्ना सरोकार सुनाएका हुन् ।

प्रधानमन्त्री र अर्थमन्त्रीसँगको भेटमा महासंघका अध्यक्ष ढकालले भने, ‘डेडिकेटेड फिडर एवं ट्रंक लाइन सम्बन्धी विवाद तत्काल समाधान गरी उद्यमी–व्यवसायीलाई निर्बाध र सहजरुपमा काम गर्न सक्ने वातावरण निर्माण गरियोस् ।’

सुनको मूल्य घट्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन तोलाको ३ सयले घटेर एक लाख ४९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस अघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ८ सय रहेको थियो । जुन सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ८ सयमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपियाँ घटेर तोलाको १८६० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

आन्तरिक र बाह्य समस्या समाधान गर्न स्थिर सरकार बनेको हो : अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघसंगको छलफलका क्रममा पौडेलले निराशा चिर्दै आशा जगाउने उपायको खोजी गर्दै सरकार अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका हुन् । निजी क्षेत्रको मनोबल खस्किए मुलुकको अर्थतन्त्र नै धाराशयी बन्ने भएकाले यसतर्फ मन्त्रालयले विशेष ध्यान दिने उनले बताए ।

उनले अर्थतन्त्रमा देखिएको समस्याको चाङ प्रति आफू गम्भीर रहेकाले निजी क्षेत्रलाई पनिसँगै लिएर अघि बढ्ने उल्लेख गरे । आन्तरिक र बाह्य कारण देखिएको समस्यालाई समाधान गर्नका लागि स्थिर सरकार बनेको उनको भनाइ छ ।

नेपालगञ्जमा दुई नयाँ मध्यम प्रसारण लाइन जडान

बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रसारण लाइन जडान गरिएको छ ।

कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिए।

उनले कोहलपुर–नेपालगञ्ज र धामपुर नयाँ सर्किट जडान भएको उल्लेख गर्दै विद्युत्को मागअनुसार आपूर्ति गरिएको बताए । यसअघि ३० मेगावाट क्षमता मात्रै रहेकामा अब यसको क्षमता ४० मेगावाट पुगेको छ ।

‘घरायसी प्रयोजनका लागि नै जोडेको हो र यसले नेपालगञ्जमा गर्मीबाट धेरै राहत मिलेको छ’, इन्जिनियर लामिछानेले भने । थप भएको प्रसारण लाइनबाट नेपालगञ्ज उपमहानगरपालिकासहित डुडुवा गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र केही राप्तीसोनारी गाउँपालिकाका क्षेत्र समेत यसबाट लाभान्वित हुनेछन् ।

अष्ट्रेलियामा बेरोजगारी दर बढ्यो

अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार गत मे – जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो ।  सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्धि भएको हो ।

सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । जसको सङ्ख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जूनमा ६६.९ प्रतिशत पुगेको छ  ।

उत्पादनमा आधारित अनुदानले दूध उत्पादनमा वृद्धि

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ ।

व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका छ वटा सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिएको केन्द्र प्रमुख डा. ऋषिराम सापकोटाले बताए ।

कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको हो । कार्यालय तथा सरोकारवालाले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्षयता बागलुङ दूध र मासु आत्मनिर्भर बनेको छ भने अण्डामा आत्मनिर्भर उन्मुख छ ।

प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा बागलुङमा ९३ लिटर उपलब्ध छ ।

मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

बाढीपहिरोका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् ।

बाढीपहिरोका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको फिदिमस्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट पाँचथरको याङवरक गाउँपालिका–४ दारिम्बासम्म ५१ किलोमिटर सडक कालोपत्रका क्रममा छ । यही खण्डमा असार पहिलो साता परेको अत्यधिक वर्षाले दर्जनौँ स्थानमा पहिरो खस्दा ठूलो क्षति भएको उनको भनाइ छ ।

व्यावसायिक पशुपालनबाट वार्षिक सात लाख आम्दानी

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक सात लाख आम्दानी गर्दै आएका छन् । उनले चारवर्षदेखि बाख्रा, बङ्गुर फार्मसँगै माछापालन गर्दै आएका हुन् ।

घर नजिकैको सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत चौधरी फुर्सदमा फार्ममा रहेका बाख्रा, बङ्गुर र माछा हेरचाह गर्छन् । बिहानबेलुका फार्ममा रहेका पशुको हेरचाह गर्ने, दानापानीको व्यवस्था मिलाउने तथा ती पशु बेच्नेलगायत काममा व्यस्त हुने गरेको चौधरीले बताए। उनका अनुसार अहिले फार्ममा ३० वटा उन्नत जातका बाख्रा, २० वटा बङ्गुर, दुई वटा पोखरीमा विभिन्न जातका माछा छन् ।

पोखरीको डिलमा लहरै बङ्गुरका खोर निर्माण गरिएका छन् । चौधरी विद्यालयमा रहेका बेला उनकी श्रीमतीले फार्ममा पालेका बङ्गुर, बाख्रा र माछालाई चारो खुवाउने गर्छन् ।

कोइलाबास भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा एक करोड ४० लाख ७६ हजार ९० राजस्व संकलन गरेको प्रमुख दीपक शर्माले जानकारी दिए । भन्सार कार्यालयले गत आर्थिक वर्षका लागि रु एक करोड एक लाख ३८ हजार राजस्व संकलनको लक्ष्य पाएको थियो ।

भारतबाट प्यूठानको स्वर्गद्वारी, दाङको चौघेरा, रिहारलगायत धार्मिक क्षेत्रको भ्रमणका लागि आउने तीर्थयात्रीका सवारी साधनबाट बढी राजस्व संकलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द 

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने भएको छ । मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र पर्खाल निर्माणलाई जोड दिइएको  हो ।

असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथमिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए। उनका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेका छन् ।

‘बाढीपहिरोले राजमार्गमा अवरुद्ध हुनसक्छ, पहिरोले भौतिक तथा मानवीय क्षतिसमेत हुनसक्ने भएकाले क्षतिलाई मध्यनजर गर्दै दिउँसोको समयमा सतर्कता अपनाएर काम गर्ने गरिएको छ’, इञ्जिनियर पाण्डेले भने, ‘हालसम्म पूर्वीमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत कार्य प्रगति भइसकेको छ । राजमार्गको ८० किलोमिटर सडकमध्ये करिब ५३ किमी सडकमा कालोपत्र भइसकेको उहाँले जानकारी दिए ।

सेयर बजारमा उछाल, कारोबार साढे १५ अर्ब नाघ्यो

साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा उछाल आएको छ । आज एकै दिन नेप्से ५९.६८ अंकले बढेर शेयर बजारमा उछाल आएको हो । बजार बढ्दा कारोबारमा पनि उछाल आएको छ । आज बिहीबार एकै दिन साढे १५ अर्बको कारोबार भएको छ ।

बिहीबार नेप्से २.५२ प्रतिशतले बढेर २४२४.३२ विन्दुमा पुगेको छ । नेप्से बढेसँगै आज वाणिज्य बैंक समूहमा उछाल आएको छ । आज वाणिज्य बैंक समूह एकै दिन ६.२८ प्रतिशतले बढेर १३६२.१६ विन्दुमा पुगेको छ ।

बिहीबार १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । आज साढे १५ लाखको कारोबार हुँदा १४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३१२ वटा कम्पनीको शेयर १ लाख ८४ हजार ७१२ पटक किनबेच भएको छ ।

आज ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर कारोबार हुँदा ५ वटा कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किकट लागेको छ । बिहीबार सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स बढ्दा जीवन बीमा समूह १४६.३१ अंकले बढेर ११ हजार ४७५.०३ विन्दुमा पुगेको छ ।