अन्तर्राष्ट्रिय

भ्रष्टाचारविरुद्ध पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन

By खबरहब

July 18, 2024

काठमाडौं – पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा पूर्वाधार निर्माणका क्रममा चरम भ्रष्टाचार हुने गरेको पाइएको छ ।

गिल्गिट बाल्टिस्तानको सार्वजनिक निर्माण कार्य विभागले औपचारिक प्रक्रिया नै पूरा नगरी ठेक्का लगाएको भन्दै ठेकेदारहरुले प्रदर्शन गरेका छन् ।

विभागका भ्रष्ट कर्मचारीहरुले स्वार्थका आधारमा नजिकका साझेदारहरुलाई ठेक्का दिने गरेको विभागको कार्यालयअगाडि प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले भौतिक संरचना निर्माणका लागि विभागले ठेक्काको सूचना जारी गर्ने भएपनि आवेदन दिन जाँदा ती ठेक्का यसअघि नै निर्धारित भइसकेको सूचना दिइने गरेको आरोप लगाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार प्रदर्शनकारीले विभागमा हुने गरेको भ्रष्टाचारका विषयमा सबै सरोकारवालाहरु चुप लागेर बसेको आरोप पनि लगाएका छन् ।

उनीहरुले विभागका भ्रष्ट कर्मचारीलाई तत्कालै बर्खास्त गरेर नयाँ कर्मचारी भर्ना गर्नसमेत प्रान्तका मुख्यसचिवसँग माग गरेका छन् ।