समाचार

जलस्रोत विधेयक-२०८१ लाई राष्ट्रिय हितमा हुने गरी अघि बढाउनुपर्छ : सांसद बडू 

By खबरहब

August 18, 2024

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले जलस्रोत विधेयक २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले विधेयकलाई समयअनुकुल र न्यायोचित बनाउनका लागि संशोधन राखिएको धारणा राखेका छन् ।

सांसद उदयशम्शेर राणाले ऐन नबाझिने गरी कानून निर्माण गर्नुपर्ने बताए । जलश्रोतका सम्पूर्ण निकायलाई एउटै छातामुनि ल्याउने कामले लगानीलाई प्रोत्साहित गर्ने उनले बताए । उनले लगानी आइसकेपछि पनि सहज रूपमा काम अघि बढाउनका लागि सहज कानून बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै सांसद दिलेन्द्र बडूले जलस्रोत विधेयक २०८१ मा आयोग गठन गर्ने विषयलाई थप स्पष्ट पार्नुपर्ने बताए । जलस्रोत विधेयक २०८१ लाई राष्ट्रिय हितमा हुने गरी जटिलता हटाइ अघि बढाउनुपर्ने धारणा राखे।

विधेयकलाई समृद्ध बनाउनका लागि आफू लगायत धेरै सांसदहरूले संयुक्त संशोधन राखेको उनले जानकारी दिए । जलस्रोत क्षेत्र र सोसम्बन्धी कानुनको सुधार तथा परिमार्जन गर्ने उद्देश्यका साथ सरकारले उक्त विधेयक ल्याइएको हो ।