समाचार

खुल्लामञ्च छोडेर सडकमा कन्सर्ट, सरकारी अधिकारी भन्छन्- संविधानको उत्सव मनाउँदा सहनुपर्छ

By सीता न्यौपाने

September 18, 2024

काठमाडौं- बुधबार बिहान कार्यालय र अन्य कामका लागि निस्केका अधिकांश कर्मचारीसहित सर्वसाधारण समयमा गन्तव्यमा पुग्न सकेनन् ।

अरु काममा निस्किएका सर्वसाधारणले पनि बुधबार बिहानैदेखि उपत्यकामा चर्को ट्राफिक जाम सहनुपर्‍यो । कारण थियो–भोलि बिहीबार परेको संविधान दिवस सडकमा मनाउने तयारी ।

संविधान दिवसको अवसरमा बिहीबार दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ गरिँदैछ । त्यसका लागि राजधानीकै सबैभन्दा ब्यस्तमध्ये एक दरबारमार्गको सडक नै छेकेर कन्सर्ट गरिँदै छ । त्यहीकारण उपत्यकाका मुख्य सडकको ट्राफिक व्यवस्थापन अस्तब्यस्त भएको हो ।

कन्सर्टको तयारीसँगै दरबारमार्ग, जमल, कमलपोखरी, प्रज्ञा प्रतिष्ठान र पुतलीसडक क्षेत्रको सवारी बुधबार बिहानैदेखि अस्तब्यस्त भएको छ । उकुसमुकुस हुने गरी भएको जामका कारण सर्वसाधरणले सरकारको तिखो आलोचना गरे ।

दरबारमार्ग क्षेत्रतर्फ आउने सवारीसाधनको जाम सिंहदरबार पूर्वी गेटबाटै सुरु भएको थियो । मध्य सहरबीचको सडक छेकेर कन्सर्टमा उपयोग गरिँदा सर्वसाधारणले सास्ती भोगे भने एम्बुलेन्सहरू पनि लामो जाममा परे ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले यो कन्सर्टका कारण केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्ट गरेको छ ।

उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विनोद घिमिरेले संविधान दिवस नेपालीको ठूलो पर्व भएकाले केही घण्टाको जामलाई स्वभाविक लिनुपर्ने बताएका छन् । उनले खबरहबसँग कुरा गर्दै भने, ‘यो २४ घण्टे जाम होइन, केही समयमा क्लियर भइहाल्छ ।’

उनले सबैजना अहिले संविधान दिवसको तयारीमा लागेको पनि बताए । ‘हामी भोलिको तयारीमा लागिरहेका छौँ। दरबारमार्गको सडकमा कार्यक्रम गर्ने भएकाले त्यहाँ सवारीसाधन जान दिइएको छैन’, घिमिरेले भने, ‘महाराजगञ्ज र थापाथलीतिरबाटै जानकारी दिइसकेका छौँ । त्यो रुट प्रयोग नगर्न अनुरोध गरिरहेका छौँ ।’

आफू हिँड्ने सडकको जानकारी लिएर मात्रै घरबाट निस्किन पनि उनले सर्वसाधारणलाई अनुरोध गरेका छन् । ‘आफू हिँड्ने सडकको जानकरी लिएर निस्कने बानी गर्नुपर्छ । आफू हिँड्ने रुटमा अवस्था कस्तो छ ? जानकारी लिएर हिँड्यो भने दु:ख हुँदैन’, उनले जवाफमा भने ।

घिमिरेले बुधबार र बिहीबार दुई दिन वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अनरोध गरेका छन् । सडकको व्यस्तता र रुटबारे उपत्यका ट्राफिक रेडियोले जानकारी दिइरहेको पनि उनले बताए।

उता कानुन, न्याय तथा मानव अधिकार समितिका सचिव अधिराज राईले संविधान दिवस मनाइरहँदा नागरिकको मानवअधिकार हनन् नहुने बताएका छन् ।

उनले भने, ‘सरकारले संविधान दिवसको तयारी गर्दा नागरिकलाई दु:ख दियो भन्ने होइन, काठमाडौंमा अरु दिन पनि सडक जाम हुने गरेको छ ।’

उनले संविधान दिवसलाई नागरिकले हर्षोल्लाससहित मनाउनुपर्ने बताए । ‘अरु दिन जाम नपर्ने, दिवसको दिन मात्रै जाम परेको हो र ?’, उनले उल्टै प्रश्न गरे, ‘संविधान दिवस जस्तो महत्वपूर्ण दिनलाई हरेक नागरिकले हर्षोल्लाषपूर्वक मनाउन तयारी गर्दा भएको केही असहजतालाई सबैले बुझ्नुपर्छ ।’

राईले संविधान दिवसको तयारी गर्दा सडक जाम हुने अवस्थामा के गर्ने भनेर समितिमा छलफल नभएको जानकारी दिए । यो विषयमा कर्मचारी भन्दा राजनीतिज्ञ जवाफदेही हुनुपर्ने उनको भनाइ छ ।

सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्दैछ । त्यही साँझ नारायणहिटी दरबारअगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय भइसकेको छ ।

तर सरकार उत्सव मनाउन जुट्दा काठमाडौंका मुख्य सडकहरूमा चर्को सवारी जाम भएपछि सर्वसाधारणले हर्न बजाएर विरोध गरिरहेका छन् ।

सडकमा कन्सर्ट तयारी हुँदा उता काठमाडौंकै सैनिक मञ्च र टुँडीखेल भने प्रयोगविहीन छन् । खुलामञ्च या टुँडिखेल एक ठाउँमा पर्याप्त दर्शक अट्ने गरी कन्सर्ट गर्न सकिन्थ्यो । तर सरकारले शाह वंशीय राजाहरूकै दरबार अगाडिसमेत गणतन्त्रपछिको संविधान दिवस मनाउने निर्णय गरेको हो ।