अटो

यो दशैंमा कुन गाडी किन्न कस्ता स्किम ?

By खबरहब

September 18, 2024

काठमाडौं– नेपालीहरूका महान चाड दशैँ र तिहारको अवसर पारेर सवारीसाधन किन्ने धेरै हुन्छन् । यात्रालाई सहज बनाउन विभिन्न नयाँ मोडेलका सवारीसाधन लिने उपभोक्ताहरूको संख्या प्रशस्तै देख्न सकिन्छ ।

गाडी कम्पनीहरूले पनि धेरै गाडी बेच्न दशैँ तिहारलक्षित विभिन्न स्किम सार्वजनिक गरिरहेका छन् । आफ्नो कम्पनीमा ग्राहक आकर्षित गर्न कम्पनीहरूले सामान्यदेखि भारी छुटसम्मका अफर सार्वजनिक गरिरहेका छन् ।

अहिले सुजुकी, हुन्डाई, टाटा, ड्याट्सनर निसान, महिन्द्रा, फोर्ड, सिप्रदीलगायत कम्पनीले भारी छुटसहित विभिन्न अफर सार्वजनिक गरेका छन् । गाडी कम्पनीले हरेक वर्ष यस्ता नयाँ नयाँ अफरहरू सार्वजनिक गर्ने गरेका छन् ।

यस पटक पनि विभिन्न कम्पनीहरूले छ्ट्टाछुट्टै स्किम ल्याएका छन् । चाडपर्वको समयमा सवारी किन्नेको संख्या बढ्ने भएपछि ग्राहकलक्षित अफर ल्याइन्छ । यस्ता स्किमले पनि ग्राहक तान्ने कम्पनीहरूको भनाइ छ ।

कोरोना महामारीयता करिब तीन वर्ष सवारी बिक्री ठप्प जस्तै थियो । तर विस्तारै बजार चलायमान हुँदा आगामी चाडपर्वलक्षित योजना कम्पनीले ल्याएका हुन् । चाडपर्वले अटो व्यवसाय केही चलायमान हुने व्यवसायीहरूको बुझाइ छ ।

यस पटकको नाडा अटो शोमा भएका अर्डर र बुकिङबाट अर्थतन्त्रमा केही सुधार आएको निष्कर्ष कम्पनीहरूले निकालेका छन् । नयाँ गाडीप्रति ग्राहकहरूको उत्सुकता पनि बढेको व्यवसायीहरूको भनाइ छ ।

अबको चाडपर्वका अधिल्ला वर्षभन्दा राम्रो व्यवसाय गर्न सक्ने व्यवसायीहरू बताउँछन् । नेपालमा सवारी साधन बिक्री हुने मुख्य सिजन नै यही भएको व्यवसायीहरू बताउछन् । नेपालमा हुने अटो कारोबारको ४० प्रतिशत चाडपर्वमै हुने गरेको व्यवसायीहरूले उल्लेख गरेका छन् ।

कुन गाडी किन्दा कस्तो अफर ?

हुन्डाईमा १० लाखसम्मको छुट

नेपालका लागि हुन्डाई कारको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ–तिहारलक्षित ‘फेस्टिभ डिलाई २०८१’ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत एकजना विजेताले लक्की ड्रमार्फत मेड इन नेपाल हुन्डाई भेन्यु जित्न सक्ने कम्पनीले जनाएको छ ।

हुन्डाई गाडीको खरिदमा ग्राहकले १० लाख रुपैयाँसम्मको नगद छुट, स्क््रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने छन् ।

निशानका गाडी किन्दा १५ लाखसम्म छुट

पायोनियर मोटोकर्पले निसानका गाडीमा ‘निसान फेस्टिभ डिल’को विशेष छुट योजना ल्याएको छ । यो योजना निशान म्यागनाइट, निशान किक्स, निशान नाभारा, निशान लिफ र निशान एक्स–ट्रेल गाडीमा लागू हुने कम्पनीले जनाएको ।

यस योजनाअन्तर्गत ग्राहकले निशाान गाडी बुकिङ गर्दा एक वर्ष निःशुल्क बीमा, तीन वर्षको सडक कर छुट, तीन–तीन वर्षको सर्भिसिङ र वारेन्टी तथा १५ लाख रुपैयाँसम्म थप छुट पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले चाडपर्वको अवसरमा विशेष छुट योजना ल्याएको हो । यो योजना चाडपर्वभरि लागू हुनेछ । ‘निशान फेस्टिभ ड्राइभ’ ग्राहकले निशान म्याग्नाइट किन्दा ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ र एक्स–ट्रेलको खरिदमा १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को सुविधा पाउनेछन् ।

योजना अवधिभर विभिन्न मोडेलका गाडी उचित मूल्यमा सजिलो फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

सुजुकीको ‘अफर’, चार लाखसम्म छुट

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैँतिहारलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिज पाउन सक्ने कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको टुर प्याकेजदेखि ग्याजेटसम्म

नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो वर्षको दशैँलक्षित विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ ।

जसअन्तर्गत टाटाको प्रत्येक कमर्शियल गाडी खरिद गर्दा ग्राहकले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक लिन सक्नेछन् । होम अप्लायन्सअन्तर्गत वासिङ मेसिन, फ्रीज, एसी, टीभी, माइक्रो वेभ छन् । ग्याजेटअन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच लिन सकिन्छ ।

यस्तै, टुर प्याकेजअन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई र युरोप छन् । यस्तै बुकिङ गर्दा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्नेछन् ।

यो योजना टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडी खरिदमा लागु हुने कम्पनीले उल्लेख गरेको छ । आफूले खरिद गरेको गाडीअनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । यो योजना असोज १४ गतेसम्म लागु हुनेछ ।

टाटा मोटर्सको इलेक्ट्रिक गाडी पञ्च इभीले पनि बजारमा राम्रो प्रभाव देखाएको छ । एक महिनाअगाडि मात्रै नेपालमा भित्रिएको इभी नेपालका ४ ठूला शहरमा लञ्च भइसकेको छ ।

एमजीमा ६ लाख छुट

नेपालका लागि एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ६ लाख छुट योजना ल्याएको छ । कम्पनीले एमजी जेडएस ईभीको १०० वटा गाडीमा ६ लाख छुटको योजना ल्याएको हो ।

यसअघि ५२ लाख ९९ हजार पर्ने जेडएस ईभीलाई अफरअन्तर्गत ग्राहकले ४६ लाख ९९ हजारमै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसका साथै कम्पनीले वुलिङ इभी किन्दा २ लाख छुट दिने भएको छ । ३१ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको कारलाई ग्राहकले दशैँ–तिहार अफरमा २९ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् ।

सिट्रोन सी ३ र ईसी ३ मा चाडपर्व अफर

नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन) र सिट्रोन ईसी ३ दुवैमा चाडपर्व अफर घोषणा गरेको छ ।

सिट्रोन सी ३ को अफरमा चार वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मत सम्भार, १ वर्षका लागि निःशुल्क बीमा, १ वर्षका लागि निःशुल्क सडक करको सुविधा रहेको कम्पनीले जनाएको हो ।

जुन गाडी ७.४ लाख डाउन पेमेन्टमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ । यसैगरी सिट्रोन ईसी ३ अफरमा निःशुल्क व्यापक बीमा, एक वर्षका लागि निःशुल्क सडक कर अफर छ । प्री–बजेट मूल्य, ३५.९९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

होन्डामा ५ लाख छुट

होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार दशैँ उपहार, अफरमाथि अफर’ उपहार योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि कार किन्दा ५ लाख रुपैयाँसम्मको नगद छुटका साथै २ वर्षका लागि गाडीको बीमा र निःशुल्क कर सुविधा दिएको छ ।

कम्पनीले ५ वर्षसम्म गाडी सर्भिसिङको सुविधा पनि निःशुल्क दिइएको जनाएको छ । कम्पनीले फ्री एक्सेसरिज र स्पट एक्सचेन्जको सुविधा पनि उपलब्ध गराउने जनाएको छ ।