समाचार

मनाइयो ‘हाँडीगाउँ जात्रा’

By खबरहब

October 18, 2024

काठमाडौं– हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा शुक्रबार मनाइएको छ ।

ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको हो ।

विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ ।

हाडीगाउँमा निकालिएको जात्रा हेर्न सर्वसाधारणहरूको घुइँचो लाग्ने गर्दछ । जात्राका दिन दर्शन र पूजाका लागि तीन वटै रथ तीन वटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ ।

अन्य जात्रामा माथि गजुर र तल भगवानको मूर्ति अर्थात् आकृति हुन्छ भने हाँडीगाउँको जात्रामा यसको ठिक उल्टो अर्थात् तल गजुर र माथि देवताको मूर्ति राखिन्छ ।

खटको गजुर उल्ट्याइ देवतालाई माथि राख्ने , मैनको फुल प्रयोग गर्ने चोक्ते नारायण जात्रालाई नै जनजिब्रोमा हाडीगाउँको जात्रा भनिएको हो ।