आर्थिक

अर्थसंक्षेप : काबेली प्रसारण लाइनको पुनर्निर्माण धमाधम, सुनको मूल्यमा नयाँ किर्तीमान

By खबरहब

October 18, 2024

काठमाडौं– इलामको माईखोला आएको बाढीले क्षति पु¥याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी ‘आश्रम भवन’ निर्माण गरिएको छ ।

 यस्ता छन आजका प्रमुख आर्थिक समाचारहरु :

काबेली प्रसारण लाइनको पुनर्निर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने लक्ष्य

इलामको माईखोला आएको बाढीले क्षति पु¥याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरूले संयुक्त रूपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुर्नस्थापनाको काम गरिरहेका छन् । प्रसारण लाइन पुनर्निर्माण तथा पुनर्स्थापना तिहारअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जाहरुलगायतका सामाग्रीहरू उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत आयोजनाहरूले श्रम लागतलगायतका खर्च बेहोरेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा नमुनाका रूपमा पुनर्निर्माण अगाडि बढाएका हुन् । निजी क्षेत्रले ऊर्जा उद्यमी मोहन कार्कीको नेतृत्वमा टोली खटाएका छन् ।

गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पु¥याएको थियो । ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका २० वटा जलविद्युत आयोजनाहरुको करिब २०० मेगावाट विद्युत् प्रवाह हुने काबेली प्रसारण लाइनमा क्षति पुगेपछि १२ असोजबाट उक्त आयोजनाहरुबाट विद्युत् उत्पादन बन्द छ । विद्युत् उत्पादन बन्द हुँदा निजी क्षेत्रका जलविद्युत आयोजनाहरूले दैनिक रूपमा आम्दानी गुमाइरहेका छन् ।

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ हजारले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६४ हजार ४ सय पुगेको हो ।

यस अघि बिहीबार सुन तोलाको एक लाख ६२ हजार ४०० मा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा बन्यो ‘आश्रम भवन’

पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी ‘आश्रम भवन’ निर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा तीन करोड २० लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो ।

विसं २०७८ भदौदेखि निर्माण सुरु भएको भवन हालै सम्पन्न भएको हो । तीन तला भएको पक्की भवनमा १७ वटा कोठा रहेका छन् । जसमा तालिम, गोष्ठि तथा सेमिनारका लागि हल, योग तथा साधना गर्नेका लागि समेत कोठा निर्माण गरिएको जनाइएको छ ।

महाशिलाको दर्शन तथा अध्ययन, अवलोकनका लागि स्वदेश तथा विदेशबाट आउने पर्यटकको सुविधाका लागि भवन निर्माण गरिएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए । आश्रम भवनको सबैजसो काम सकिएको जनाइएको छ ।

चालु आर्थिक वर्षमै भवनबाट सेवा सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको जनाइएको छ । भवनमा एक पटक ५० जनाभन्दा व्यक्ति बस्न सक्ने अध्यक्ष पौडेलले जानकारी दिए । आश्रम आउने पर्यटकलाई निःशुल्क बस्ने र खाने सुविधा उपलब्ध गराइनेछ ।

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले बिहीबारदेखि नै लागू हुनेगरी कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउने जानकारी दिए । ‘आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि यहाँका सबै होटलले छुट दिने निर्णय गरेका हौँ’, उनले भने, ‘चाडपर्वको समयमा घुम्न आउन पाहुनाले घोडेपानीका सबै होटलमा छुट सुविधा पाउनेछन् ।’

घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएको पुनले बताए। सवारीसाधनका अलावा कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाँडा, पर्वतको भुकदेउराली हुँदै पैदलयात्रा गरेर घोडेपानी पुग्न सकिन्छ ।

स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात सुविधा दिन व्यवसायी सहमत

महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् ।

मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ । विपद्प्रभावित काभ्रेको रोसी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग सेवाको कदरस्वरुप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको भन्दै केही समयमा नतिजा आउने घोषणा गरेका थिए ।

केही समयअघि मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरूलाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए ।

त्यसअनुसार यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भए पछि शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो । कार्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाए ।

स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी उपप्रधानमन्त्री सिंह छलफलमा

उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी छलफल शुरु गरेका छन् । उनले आज पुल्चोकस्थित स्थानीय पूवाृधार विकास आयोजनाको सभाहलमा आयोजनाअन्तर्गतका सातै प्रदेशका आयोजना प्रमुख, आयोजनाका महानिर्देशकसहितसँग आयोजनाबारे समीक्षात्मक छलफल गरेका हुन् ।

आयोजनाको अन्तिममा समीक्षा गर्दा कार्यान्वयन फितलो भइसकेको हुने भन्दै उपप्रधामनमन्त्री सिंहले शुरुमै आयोजना कार्यान्वयनका समस्या पहिचान गर्ने गरी छलफल शुरु गरेका हुन् । उनले कामलाई प्रभावकारी बनाउन नीतिगत विषयमै बढी जोड दिने पनि बताए।

‘तपाईंहरुसँगको छलफलपछि समस्या के छ ? भन्ने जानकारीमा आएको छ । यो छलफल परिणामका लागि हो । समस्या सुन्ने मात्र होइन समाधानका लागि पहल गर्छु ।’ भन्दै उनले छलफलमा स्थानीय पूर्वाधार विकास आयोजना अन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखहरूले चालू आर्थिक वर्षमा भएका योजनाका उपलब्धिहरू, भोग्नुपरेका समस्या र भइरहेका कामबारे विस्तृतमा प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै, असोजमा आएको बाढीका कारण भएको क्षति र बाढी पछि भएका कामबारे पनि जानकारी गराएका थिए । शहरी विकास मन्त्रालयअन्तर्गतका झोलुंगेपुल र सडकहरुमा बाढीका कारण क्षति पुगेको छ । आयोजनाका विभिन्न प्रदेशका प्रमुखहरूले पूर्व तयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिने क्रम रोक्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै, एउटै आयोजनामा पनि डुप्लिकेसनको समस्या रहेको भन्दै त्यसलाई रोक्ने गरी पहल गर्नुपर्ने बताएका थिए ।

नक्कली नोटसहित एक जना पक्राउ

वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोटसहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर–४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २१४७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।