काठमाडौं– पाकिस्तानले अकिब जावेदलाई ह्वाइट बल क्रिकेटको अन्तरिम प्रशिक्षक बनाएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले जावेदलाई पुरुष ह्वाइट बल क्रिकेटको अन्तरिम प्रशिक्षक बनाएको हो । जावेदले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ सम्म पुरुष राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पद सम्हाल्ने बोर्डले जनाएको छ ।
पाकिस्तानका पूर्व तीब्र गतिका बलर समेत रहेका जावेदले पुरुष टिमको राष्ट्रिय छनौट समितिको सिनियर सदस्यको रुपमा समेत काम गरिरहने भएका छन् ।
यस अघि ह्वाइट बल क्रिकेटका प्रशिक्षक रहेका दक्षिण अफ्रिकाका ग्यारी किर्स्टेनले राजीनामा दिएपछि यो पद खाली थियो । फेब्रुअरीको १९ देखि मार्च ९ सम्म हुने च्याम्पियन्स ट्रफी अघि पाकिस्तानले जिम्बाबे, दक्षिण अफ्रिका र न्युजिल्याण्डसँग विभिन्न सिरिज खेल्ने तालिका रहेको छ ।