काठमाडौं – कब्जियत धेरै जनामा हुने आम समस्या हो। यो समस्या बालबालिका वृद्धवृद्धा तथा गर्भवतीमा प्राय: देखिने गरेको छ। हामीले खाएको खाना अपच भएर दिसा जम्मा भएर शरीरमा फोहोर भेला भयो र लामो समयसम्म दिसा भएन भने कब्जियत भएको मानिन्छ। यो समस्या कुनै रोग नभई हाम्रो खानपान र जीवनशैलीसँग जोडिएको विषय भएको चिकित्सक बताउँछन्। फाइबरयुक्त रेसादार खाना खाने र नियमित शारीरिक व्यायाम गरेर स्वास्थ्य जीवनशैली अपनाउन सके यो समस्या नहुने चिकित्सकको सुझाव छ। कब्जियत कस्तो समस्या हो ? के कारणले हुन्छ ? यसबाट बच्न के गर्ने ? यिनै विषयमा केन्द्रित भएर डा. सञ्जयकुमार सिंहसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानीः
कब्जियतको समस्यालाई हामीले कसरी बुझ्ने ? कब्जियत भनेको कुनै रोग नभएर यौटा लक्षण मात्रै हो। कुनै पनि व्यक्ति वा बिरामीलाई हप्तामा तीन पटक भन्दा कम दिसा हुन्छ भने त्यस्तो अवस्थालाई कब्जियत भएको मानिन्छ। यसले दिसा कडा हुने भएकाले आन्द्रा र मलद्वारमा असर गर्छ। यसको असर एउटा मात्र नहुने भएकाले समयमै सचेत बन्नुपर्छ। लामो समयसम्म दिसा नभएपछि तनावका कारण यसले मानसिक स्वास्थ्यमा पनि असर गर्छ।
कब्जियत हुनुको मुख्य कारण के हो ? कब्जियत हुनुको मुख्य कारण भनेको खानपान हो। रेसादार र फाइबरयुक्त खानेकुरा साग, गेडागुडी, सलाद नखाने मान्छेमा कब्जियत धेरै हुन्छ। जस्तै यस्तो खाना बच्चाले मन नपराउने भएकाले उनीहरुमा यो समस्या हुन्छ।
कब्जियत हुनुको मुख्य कारण भनेको खानपान हो। रेसादार र फाइबरयुक्त खानेकुरा साग, गेडागुडी, सलाद नखाने मान्छेमा कब्जियत धेरै हुन्छ।
त्यस्तै चिल्लो खानाहरु धेरै खाने, धुम्रपान गर्ने, लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने, मोटो मानिसमा पनि कब्जियतको समस्या बढी नै देखिने गर्दछ।
कस्तो खानालाई फाइबरयुक्त खाना मान्ने ? फाइबरयुक्त खाना भनेको साग, गेडागुडी, मुला, गाजर, काँक्रा, प्याजलगायत सलाद हुन्। जसमा हुने रेसा हामीलाई पचाउन गाह्रो हुन्छ। नपचेपछि दिसासँगै बाहिर निस्किन्छ यसले दिसालाई नरम बनाउँछ र पेट पनि सफा हुन्छ।
कब्जियत हुन नदिन पानी कति आवश्यक छ ? पानी एकदमै आवश्यक छ। किनकी दिसा कडा हुने पानीकै कमीले हो। पानी खाइराखेकै छ भने त कब्जियतको समस्या आउँदैन। दिसा नरम भइरहेकै हुन्छ निस्किनलाई समस्या पर्दैन। पानी कति मात्रामा खाने त्यो ठाउँ र मौसम अनुसार फरक पर्छ। आफूलाई पानी तिर्खा लागेको समयमा जति पानीले तिर्खा मेटिन्छ त्यति नै मात्रामा खानुपर्छ। मोटामोटी रुपमा भन्नुपर्दा दिनमा कम्तिमा पनि दुईदेखि तीन लिटर पानी खानुपर्छ जसले कब्जियत हुनबाट बचाउन सहयोग गर्छ।
कतिपयले त पानी धेरै मात्रामा खाँदा पनि स्वास्थ्यमा असर गर्छ भनेको सुनिन्छ ? आवश्यक मात्रा भन्दा धेरै खाँदा पानीले पनि असर गर्छ। किनकी कुनै पनि झोल पदार्थ या पानी खाँदा यसलाई फिल्टर गर्ने मिर्गौलाले हो। त्यो मिर्गौलाको पनि क्षमता हुन्छ। त्यसैले पानी धेरै खानुपर्छ भनेर मिर्गौलामा असर पुग्नेगरी खानु हुँदैन। इनारबाट पानी तान्दा इनारको पानी कति छ त्यो क्षमता बराबरको मोटर जोडिएको हुन्छ। त्यस्तै हाम्रो मिर्गौलाको क्षमता सबैको फरक हुन्छ। मिर्गौलाको क्षमताभन्दा धेरै पानी खायो भने फिल्टर पनि धेरै गर्नुपर्छ। त्यसैले चाहिनेभन्दा कम वा धेरै पानी खानु पनि स्वास्थ्यका लागि राम्रो हुँदैन।
हाम्रो मिर्गौलाको क्षमता सबैको फरक हुन्छ। मिर्गौलाको क्षमताभन्दा धेरै पानी खायो भने फिल्टर पनि धेरै गर्नुपर्छ। त्यसैले चाहिनेभन्दा कम वा धेरै पानी खानु पनि स्वास्थ्यका लागि राम्रो हुँदैन।
कब्जियतबाट बच्न शारीरिक व्यायाम कति आवश्यक छ ? हामीले खाएको खाना दिसा र पिसाब घरसम्म पुग्न र दिसा र पिसाब बन्ने प्रक्रियामा धेरै समय लाग्छ। त्यो समयमा हाम्रो आन्द्रा चलेको हुनुपर्छ। यदि कसैले व्यायाम गर्दैन भने त्यो मान्छेको आन्द्रा पनि राम्रोसँग नचल्ने भएकोले दिसा धेरैबेरसम्म रोकिरहन्छ र सुख्खा भएर जान्छ।
लामो समयसम्म कब्जियत भइरह्यो भने यसले अन्य रोग निम्त्याउने या यसलाई कुनै रोगको लक्षण पनि मान्न सकिने हो ? कब्जियतको समस्या लिएर धेरै बिरामी आउँछन्। कतिपय १०-१२ दिनसम्म पनि दिसा नभएको समस्या लिएर आउँछन्। हामीले जाँच गरेर हेर्दा दिसा धेरै सुख्खा भइसकेको हुनाले सामान्य उपचारबाट कहिलेकाहीँ ननिस्किने हुन्छ र शल्यक्रिया नै गर्नुपर्ने अवस्था पनि आउँछ। कसैको आन्द्रा नै पुरै बटारीएको हुन्छ। त्यस्तै थाइराइडको समस्या छ भने पनि कसैलाई कब्जित हुन्छ भने कलेजोको समस्या, लामो समयदेखि औषधी खाइरहेका दीर्घ रोगीलाई कब्जियतको समस्या हुने सम्भावना धेरै हुन्छ।
गर्भवतीमा पनि कब्जियतको समस्या धेरै हुन्छ भनिन्छ। यो के कारणले हुने हो ? गर्भावस्थाको सुरुवाती अवस्थामा कब्जियतको समस्या प्राय हुँदैन। तर जब पेट बढ्दै जान्छ त्यसपछि पेटले या बच्चाले दिसा बस्ने घरलाई थिच्दै जान्छ। जसले पाचनप्रणालीलाई कमजोर बनाउँछ र कब्जियतको समस्या हुन्छ। त्यस्तो अवस्थामा थोरैथोरै खाने र समय समयमा खाने गर्नुपर्दछ।
फाइबरयुक्त खानेकुरा खाने, प्रशस्त मात्रामा पानी खाने, शारीरिक व्यायाम गर्ने लगायतका कुरामा ध्यान दियो भने यो समस्याबाट बच्न सकिन्छ।