काठमाडौं– पुरानो उखानअनुसार लेकको गोठमा गोठालाले खीर पकाउने योजना बनाएछन् । साँझका बेला गाईवस्तु बाँधेर खीर पकाउन थालियो । लगभग पाक्न लागेको थियो । त्यहीबेला साँढे जुध्दै आएर खीर पकाएको ठाउँ भताभुंग बनाइदिए। गोठालाको भागाभाग भयो । साँढे बाँध्न खोजे, सकेनन् । त्यहीबेला एक गोठालाले भनेछन्– साँढे नजुधेका भए खीर खान पाउने थियौँ । न साँढे बाँध्न सकियो न खीरै खान ।
यस्तै, उखान नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा पनि लागु भएको छ । आफ्ना कार्यकर्ता नपर्ने डरले नेता साँढेजस्तै जुध्दा विद्यार्थीलाई असर परेको छ । न विद्यार्थीलाई सम्मेलन गर्न दिए न नेताहरू नै मिले । नेता नमिलेपछि विद्यार्थीलाई पनि मिल्न दिएनन् ।
त्यहीकारण सम्मेलन गरेर पनि क्रान्तिकारीले नयाँ नेतृत्व चयन गर्न सकेको छैन । क्रान्तिकारीले देशभरका २३ सय प्रतिनिधि बोलाएर असोज १० गतेबाट काठमाडौंमा सम्मेलन गरेको थियो ।
असोज ११ गते विधान प्रस्ताव पारित गरी १२ गते निर्वाचनको तयारी थियो । तर माओवादी नेतृत्वको हस्तक्षेपका कारण सम्मेलन नै भाँडियो । अखिल अध्यक्ष पञ्चा सिंह यो कुरा मान्न तयार छैनन् । उमेरमा कुरा नमिल्दा सम्मेलन हुन नसकेको तर्क उनको छ ।
तर क्रान्तिकारी एकजना पदाधिकारीले माओवादी नेतृत्वले आफ्ना मान्छे काखी च्याप्न खोज्दा कुरा बिग्रिएको बताए । ‘अध्यक्षका आंकाक्षी २० जना थियौँ । नेतृत्वले आफ्ना मान्छे नपर्ने डरले सम्मेलन बिथोल्नु भयो’, उनले खबरहबलाई भने, ‘सुरुमा उमेरको कुरा उठेकै थिएन । तर आफ्ना मान्छे नपर्ने डरले नेताहरूले उमेर हद ल्याउनु भयो । जिल्लामा उमेर हद नलगाएको अवस्थामा केन्द्रमा कसरी लागू गर्ने ?’
क्रान्तिकारीमा हरेक दुई वर्षमा सम्मेलन गर्ने भनिए पनि रञ्जित तामाङ ४ वर्ष अध्यक्ष भए । वर्तमान अध्यक्ष पञ्चा सिंह पनि ३ वर्ष अध्यक्ष भइसकेकी छन्।
संगठनमा हरेक दुई–दुई वर्षमा सम्मेलन हुनुपर्ने उपाध्यक्ष नरेश रेग्मी बताउँछन् । ‘दुई वर्षमा स्ववियु निर्वाचन र विद्यार्थी हुँदा उमेर हद लागु गर्न सहज हुन्थ्यो । तर सम्मेलन नै नभई हामी बुढा भयौँ’, रेग्मी भन्छन्, ‘हामी कहाँ जाने? पार्टीले एकीन गर्नुपर्छ । अब समयमै नेतृत्व चुन्नु पर्छ । यो उमेरमा विद्यार्थी नेता हुन मन नहोला। तर म जस्ता नेताहरू अब कहाँ जाने पार्टीले निर्णय दिनुपर्छ ।’
नेतापिच्छे उम्मेदवार
अखिलमा क्रान्तिकारीमा १९ जना उपाध्यक्ष र एकजना महासचिवसहित २० जना अध्यक्षका दाबेदार थिए । नरेश रेग्मी, पवन कार्की, मदन भुल, प्रबिणा अधिकारी, क्षितिज सापकोटा, राजकुमार याक्सो, इन्द्र भुसाल, केशव रावल, मदन भट्टराई, जीपी मैनाली, अच्युत भट्ट, गजेन्द्र देव, अमद अन्सारी, तुम्मान महरासहित १९ उपाध्यक्ष छन् । यस्तै महासचिव दिपेश पुन पनि अध्यक्षको दौडमा थिए ।
प्रचण्ड नै अलमलमा
क्रान्किारीको सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कोही उम्मेदवार थिएनन् । उनी कसलाई टिकट दिने निक्र्योलमा पुगेका थिएनन् । उपयुक्त पात्र नपाएपछि सबै उम्मेदवारलाई प्रचण्डले खुमलटारमा बोलाउँथे ।
सम्मेलनको उद्घाटन सत्रमा प्रचण्डले स्वतन्त्र रुपमा निर्वाचन गर्न छाडिदिने, हस्तक्षेप नगर्ने भने । तर आफूनिकट नै नआउने भएपछि पचण्डले खेल गरेको विद्यार्थी नेताहरूको आरोप छ । उनले दिपेश पुनलाई बोक्न खोजेका थिए । तर दिपेश अनेक विवादमा मुछिएकाले अन्य पात्र खोज्न लागे ।
‘त्यसपछि महासचिव देव गुरुङ र उपाध्यक्ष पम्फा भूसालको कुरा सुनेर उपाध्यक्ष नरेश रेग्मीलारुई सहयोग गर्ने मनसायमा पुगेका थिए । तर नरेश पनि हार्ने डरले उमेर हदको कुरा उठाएर पन्छिए’, माओवादीका एक नेताले भने ।
दिपेश र नरेशपछि प्रचण्डले बागमतीको सेन्टिमेट तान्न पवन कार्कीलाई उम्मेदवार बनाउन खोजे । पवनलाई बनाउन हरिबोल गजुरेल र अग्नि सापकोटा पनि लागे । बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पनि कार्कीलाई अध्यक्ष बनाउँदा नबिग्रिने सूचना प्रचण्डलाई दिएको नेताहरूको दाबी छ ।
महासचिव गुरुङ र उपाध्यक्ष भूसालले नरेशको नाममा प्रचण्डलाई कन्भिन्स गराउन खोजे । तर अन्तिम अवस्थामा हेडक्वार्टरले उम्मेदवार चुन्न नसकेपछि उमेर हद उठाएर सम्मेलन बिथोलेको अखिलका एक पूर्वअध्यक्ष दाबी गर्छन् ।
जनार्दनकै सातजना
उपमहासचिव जनार्दन शर्माको टीमबाट सातजना अध्यक्षका दाबेदारमा थिए । तर शर्माले पनि उमेर हदको कुरा उठेपछि उम्मेदवार टुंग्याउन सकेनन् । उनको टीमका सातैजना उम्मेदवार ३२ माथिका थिए । नारायण खनाल, मदन भट्टराई, मदन भूल, क्षितिज सापकोटा, सूर्यनारायण शाह, गजेन्द्र देव र अम्मर अन्सारी अध्यक्षको दौडमा थिए । जनार्दनले पनि आफ्नो समूह फुट्ने डरले नाम टुंग्याउन चाहेनन् । छलफलकै क्रममा क्रान्तिकारीको सम्मेलन हलमा कुर्सी हानाहान र भाँचाभाँच भयो । यी सातै उम्मेदवार उमेर हदको पक्षमा थिएनन् ।
पुनका पनि उम्मेदवार
अर्का उपमहासचिव वर्षमान पुनले पूर्वउपराष्ट्रपति नन्द्रबहादुर पुन पुत्र दिपेश पुन, इन्द्र भुसाल र तुप्मान महरालाई च्यापेका थिए । जसमा पुन र महरा रोल्पाली हुन् । वर्षमान देखिने गरी दिपेशको पक्षमा नभए पनि राजनीतिक विरासत जोगाउनुपर्ने बाध्यता थियो ।
‘वर्षमान दाइ भित्री रूपमा दिपेशको पक्षमा भए जस्तो लाग्दैन । तर उहाँले भूगोल हेरेर उभिनुपर्ने बाध्यता थियो’, क्रान्तिकारीका एक विद्यार्थी नेताले खबरहबलाई भने, ‘उहाँले तुप्मान र इन्द्रलाई साथमा लिनुभएकै थियो । तर टुंग्याउन सक्नुभएन ।’
तुप्मान र दिपेश सत्तासँग जोडिइरहने युवा हुन् । तुप्मानका पिता जोखबहादुर महरा लुम्बिनीका पूर्व मुख्यमन्त्री र बहालवाला सांसद हुन् । दिपेश पूर्वराष्ट्रपति नन्दबहादुरका छोरा हुन् । तर उनीहरूलाई बनाउन नसकेपछि वर्षमान पनि उमेर हदतिर लागेको विद्यार्थी नेताहरूको आरोप छ । अर्की उपाध्यक्ष प्रविणा अधिकारी पनि पुनको टीमबाटै अध्यक्षका दाबेदार थिइन् । उनी ३२ वर्षमुनिकी हुन् । तर उनीबारे कसैले कुरा उठाएन । यदि उमेर हद लागु भए उनी अध्यक्ष हुने निश्चित थियो ।
नारायणकाजीका पवन
माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठका पनि उम्मेदवार थिए । उनले पवन कार्कीलाई च्यापेका थिए । उनी यसअघि पनि पञ्चासँग समानान्तर कमिटीको अभ्यास गरिरहेका नेता हुन् । पहिला उनी वर्षमान गुटमा हुँदा दिपेशसँग कुरा नमिलेपछि श्रेष्ठतिर लागेका थिए ।
भुसाल र गुरुङले रुचाएका नरेश
नरेश रेग्मीको साथमा उभिएका महासचिव गुरुङ र उपाध्यक्ष भुसालले प्रचण्डलाई पनि मनाउने कोशिस गरेका छन् । तर, सुरुमा तयार भएका प्रचण्ड अन्तिममा नरेशको नाममा ब्याक भए । नरेश रामाबहादुर थापा ‘बादल’र मोहन वैद्य टीमका भएकाले प्रचण्डले विश्वास गरेनन् ।
उमेरमा ध्रुवीकरण
सुरुमा माओवादीले क्रान्तिकारीमा तत्काल उमेर हद नलगाउने योजनासहित जिल्लादेखि प्रदेश सम्मेलन गरेको थियो । क्रान्तिकारीको प्रदेश समितिमा ३८ वर्षसम्मका युवा अध्यक्ष बनेका छन् । यस्तै जिल्लामा पनि ३५ वर्षसम्मकाले नेतृत्व गरेका छन् ।
असोज १२ र १३ गतेको सम्मेलनमा विवाद भएपछि अनिश्चितकालाई स्थगित भयो । उमेर हद, विधान र प्रतिवेदन पारितलगायतमा विवाद भएपछि सम्मेलन स्थगित गरिएको थियो । अध्यक्षमण्डलले दशैंको सबै प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले सम्मेलन नै स्थगित गरिदिएको थियो ।
उमेर हुँदाबारे विद्यार्थबीच विवाद सुरु भएपछि अगाडि बढ्न नसकिएको भन्दै निर्वाचन गराउने जिम्मेवारी पाएका माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेतले मंसिर २८ गतेको पदाधिकारी बैठकमा ब्रिफिङ गरेका थिए ।
चार विकल्पमा छलफल
एकजना नेताका अनुसार मंसिर २८ गते पार्टी स्थायी समिति बैठकमा सम्मेलनबारे ४ वटा विकल्पमा छलफल भएको छ ।
१.विद्यार्थीको सम्मेलन प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रदेश र जिल्लामा पत्रकार महासंघको निर्वाचन जस्तै चुनाव गर्ने । सबै प्रदेशमा प्रतिनिधिले भोट लगाएर उतै गणना गरी केन्द्रमा पठाएर नतिजा सार्वजनिक गर्ने ।
२. अनलाइनबाट उम्मेदवारी घोषणा गरेर अनलाइनबाटै प्रचार गर्ने । प्रतिनिधिलाई भोट हाल्न मात्रे बोलाउने ।
३.प्रतिनिधिले केन्द्रीय सदस्य छान्ने, केन्द्रीय सदस्यले प्रतिनिधि छान्ने अभ्यास गर्ने ।
४.विवाद नमिले पार्टीले पहिला पञ्चालाई अध्यक्ष बनाए जस्तै सिधै पार्टीले अध्यक्ष चुनिदिने मोडलबारे छलफल भएको छ ।
पार्टीले पदाधिकारी घोषणा गर्ने मोडल अपनाए विद्यार्थी नेताहरू थप विवादमा जाने अवस्था छ । यही मंगलबार बेलुका पार्टीबाट पत्रकार महासंघको जस्तै पहिला जिल्लामा उमेर हद लागू हुने या नहुनेबारे भोटिङको सर्कुलर जारी भएको छ । भोटिङ परिणामलाई फेरि निर्वाचन गरेर टुङ्ग्याउन पनि पार्टीले आदेश दिएको छ । विद्यार्थी नेता यसमा छलफल गरिरहेका छन् । उमेर हद लगाउने या नलगाउने भन्नेमा २३ सय २३ प्रतिनिधिले जिल्लागत रुपमा भोट गर्ने छन् ।
मंसिर २८ को स्थायी कमिटी बैठक विद्यार्थी नेतालाई नै सम्मेलन गर्न भनिएपनि उनीहरूले गर्न नसकेपछि पार्टीले हस्तक्षेप गर्ने निर्णयमा पुगेको थियो। त्यहाँ प्रचण्डले सम्मेलनमा कुनै हस्तक्षेप नगरेको बिफ्रिङ गरे ।
के भन्छन् विद्यार्थी नेता ?
संगठका उपाध्यक्ष मदन भट्टराई सम्मेलन स्थगित भएको कारणको समाधान गरेर जानुपर्ने बताउँछन् । ‘संगठनभित्र कुन विधि, कुन नीति लागू गर्ने, नेता छान्ने, नेतृत्व लिने, सार्वभौम प्रतिनिधिको अधिकारको कुरा हो’, भट्टराईले खबरहबलाई भने, ‘सम्मेलन स्थगित भएको बिन्दुबाटै समस्या समाधान गरेर जानुपर्छ । पार्टीले उमेर हदसम्बन्धी दिएको निर्देशन जस्ताको त्यस्तै छ । उक्त निर्णय कार्यान्वयन गर्दै वास्तविक विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गरेर जानु पर्छ ।’
उमेर हदबारे अर्को पटकदेखि जिल्ला तहबाटै नीति बनाएर जान सकिने भट्टराईको सुझाव छ । अर्का उपाध्यक्ष रेग्मी पनि त्यसमै सहमति जनाउँछन् । अहिले विधान बनाएर दुई वर्षपछि उमेर हद लागू गर्न सकिने बताउँदै उनी आरक्षणसहित उमेर हद अभ्यास यसपल्ट नै गर्न सकिने बताउँछन् ।
‘जिल्लामा ३५ र प्रदेशमा ३८ वर्षकाले नेतृत्व गरिरहेका छन् । केन्द्रमा ३२ र ३४ कायम गरे जुनियरलाई सिनियरले नेता मान्नुपर्ने हुन्छ’, उपाध्यक्ष रेग्मीले भने, ‘यो पटक सबैलाई भिड्न दिऊँ । अर्को निर्वाचनबाट उमेर हद कायम गरौँ ।’
अर्को पटक ३२ वर्षे लगाए ३० मुनिको नयाँ विद्यार्थी उपाध्यक्ष र सचिवमा आउने उनको तर्क छ। अखिल क्रान्तिकारीले पुसभित्र सम्मेलन नगरे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को तयारी गर्न नसक्ने अवस्था छ । त्रिभुवन विश्वविद्यालयको क्यालेन्डरअनुसार स्ववियु निर्वाचन फागुन १५ गते हुनेछ ।