काठमाडौं – देशको अर्थतन्त्रको वाह्य सूचकहरू सजिलो अवस्थामा देखिएका छन् ।
नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसारले केही विषयहरू बाहेक अर्थतन्त्रको अधिकांश बाह्य पक्ष बलियो बलियो देखिएको हो ।
विदेशी मुद्रा सञ्चिति सवा २२ खर्ब माथि
नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत आवको असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई चालु आवको असोज मसान्तमा २२३२ अर्ब २८ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत आवको असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको हो ।
१४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी मुद्रा
प्रतिवेदनअनुसार चालु आवको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
चालु आवको असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदाय सँगका अनुपातहरू क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन् ।
गत आवको असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
विप्रेषण आप्रवाह ११.५ प्रतिशतले बढ्यो
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई ४०७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.४४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४०४ अर्ब ७ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,१०,६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९,९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ११३,३९७ र ४९,२९७ रहेको थियो ।
चालु खाता १११.८७ करोडले बचतमा
नेपाल राष्ट्र बैंककाअनुसार समीक्षा अवधिमा चालु खाता १११ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.२ अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटी मात्र) ४ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ३ अर्ब ३८ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति १८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १०१ अर्ब ६६ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३८ करोडले बचतमा रहेको छ ।
वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशतमा सीमित
चालु आवको असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत र घ्यू तथा तेलको ४.९८ प्रतिशतले बढेको छ भने माछा तथा मासु उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत, मरमसलाको ०.७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.७८ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.४९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३२ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.१२ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.०० प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.७६ प्रतिशतले बढेको छ ।
त्यस्तै, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.२२ प्रतिशत, ४.३६ प्रतिशत र २.६३ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.५८ प्रतिशतले घटेको छ ।
आयात निर्यात दुवैमा कमी
नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालु आवको तीन महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटी ३८ अर्ब ३८ करोड रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा यस्तो निर्यात २.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.३ प्रतिशत, २४.८ प्रतिशत र ६.६ प्रतिशतले कमी आएको छ ।
त्यस्तै, सोही अवधिमा कुल वस्तु आयात ४.२ प्रतिशतले घटी ३९० अर्ब ७५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.७ प्रतिशतले वृद्घि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन, तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.९ प्रतिशत, १.५ प्रतिशत र ७.९ प्रतिशतले कमी आएको छ ।
सरकारको आम्दानीभन्दा खर्च ८० अर्बले बढी
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको तीन महिनामा नेपाल सरकारको कुल खर्च ३२९ अर्ब २० करोड रहेको छ ।
समीक्षा अवधिमा चालु खर्च २२९ अर्ब ८५ करोड, पुँजीगत खर्च २९ अर्ब ३७ करोड र वित्तीय व्यवस्था खर्च ६९ अर्ब ९७ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २४८ अर्ब २६ करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व २१९ अर्ब ६८ करोड र गैर कर राजस्व रु.२८ अर्ब ५८ करोड परिचालन भएको छ ।
समीक्षा अवधिमा बैंकमा निक्षेप र कर्जा प्रवाह दुवैमा वृद्धि
समीक्षा अवधिमा बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा प्रवाह दुवै वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको तीन महिनामा कुल आन्तरिक कर्जा १ं.७ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पनि उक्त कर्जा १.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा चालु आवको असोज मसान्तमा यस्तो कर्जा ६.१ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ३.७ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा चालु आवका असोज मसान्तमा यस्तो दाबी ४.४ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी २.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा चालु आवको असोज मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.२ प्रतिशतले बढेको छ ।
त्यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १७० अर्ब (२.६ प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १५८ अर्ब ५० करोड (२.८ प्रतिशत) ले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा चालु आवको असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत रहेको छ । गत आवको असोज मसान्तमा यस्तो निक्षेपको अंश ३६.० प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२८ अर्ब ६५ करोड (२.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०९ अर्ब ३ करोड (२.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा चालु आवको असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.० प्रतिशतले बढेको छ ।
चालु आवको असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत रहेको थियो ।