आर्थिक

वित्तीय विवरण सार्वजनिक गरेका ३३ मध्ये एकतिहाइ लघुवित्त घाटामा

By खबरहब

November 19, 2024

काठमाडौं – सूचीकृत ५० मध्ये ३३ लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

वित्तीय विवरण सार्वजनिक गरेकामध्ये एकतिहाइ (११ वटा) लघुवित्त संस्था घाटामा छन् । केही संस्थाको प्रतिशेयर आम्दानीमै प्रभाव परेको देखिएको छ । ३३ मध्ये ११ वटा लघुवित्तले पहिलो त्रैमासमा घाटा ब्यहोर्नुपरेको हो ।

सार्वजनिक विवरण अनुसार गुराँस लघुवित्तको प्रतिशेयर आम्दानी सबैभन्दा बढी ३५.०९ रुपैयाँ छ । यस्तै, दोस्रोमा ग्लोबल आइएमई लघुवित्तको प्रतिशेयर आम्दानी २६.१६ रुपैयाँ छ ।

आत्मनिर्भर, नाडेप, मानुषी र समाज लघुवित्तको प्रतिशेयर आम्दानी घटेको छ ।

यस्तो छ नाफा विवरण

साना किसान विकास लघुवित्तले पहिलो त्रैमासमा ३२ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.७७ प्रतिशत बढी हो ।

गत आवमा कम्पनीले ३० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटे पनि इम्पेरिमेन्ट चार्ज बढेपछि कम्पनीको नाफामा बढोत्तरी भएको हो ।

सार्वजनिक विवरण अनुसार मिथिला लघुवित्तको नाफा पनि गत आर्थिक वर्षको तुलनामा बढेको छ । मिथिला लघुवित्तले पहिलो त्रैमासमा एक करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३५.८० प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा कम्पनीले ७४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

तर, यस लघुवित्तको खराब कर्जामा भने केही वृद्धि भएको छ । गत आवमा ४.६९ प्रतिशत रहेको कर्जा बढेर ५.१८ प्रतिशत पुगेको छ । यसको प्रतिशेयर आम्दानी २०.६३ रुपैयाँ छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले भने नाफा घटाएको छ । यस कम्पनीले पहिलो त्रैमासमा तीन करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३८.६८ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा लघुवित्तले पाँच करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा खराब कर्जा पनि २.५३ प्रतिशतले बढेर ४.४४ प्रतिशत पुगेको छ । यसको प्रतिशेयर आम्दानी भने १०.०८ रुपैयाँ छ ।

डिप्रोक्स लघुवित्तले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा २३ प्रतिशतले घटेको छ । यस लघुवित्तले पहिलो त्रैमासमा ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । तर, गत आर्थिक वर्षको सोही अवधिमा आठ करोड ८२ लाख रुपैयाँ कमाएको थियो ।

यस अवधिमा लघुवित्तको खराब कर्जा पनि बढेको छ । गत आवमा ५.१४ प्रतिशत रहेको खराब कर्जा बढेर नौ प्रतिशत पुगेको छ । यस लघुवित्तको प्रतिशेयर आम्दानी १५.९४ छ ।

ग्रामीण विकास लघुवित्तको पनि नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले आठ करोड ७९ लाख खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा भने ६ करोड ७३ लाख मात्रै थियो । यसको खराब कर्जामा भने सुधार गरेको छ । गत वर्ष ११.५ प्रतिशत रहेको खराब कर्जा घटाएर ४.७८ प्रतिशतमा झारेको छ । यसको प्रतिशेयर आम्दानी ८.९५ रुपैयाँ छ ।

आरएसडिसी लघुवित्तले पनि पहिलो त्रैमासमा नाफा घटाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले दुई करोड ६० लाख मात्रै नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३५ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको सोही अवधिमा भने चार करोढ सात लाख खुद नाफा कमाएको थियो । यस लघुवित्तको पनि खराब कर्जामा वृद्धि भएसँगै नाफामा गिरावट आएको हो । यस लघुवित्तको खराब कर्जा १.०८ प्रतिशतले वृद्धि भएको छ । यसको प्रतिशेयर आम्दानी ११.०५ रुपैयाँ छ । गत वर्ष भने १८.७६ थियो ।

यता हिमालयन लघुवित्तले भने नाफामा व्यापक रुपमा सुधार गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले एक करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक हजार १४३ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा लघुवित्तले १० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

नाफामा व्यापक सुधारहुदाँहुदै पनि कम्पनीको खराब कर्जा भने बढेको छ । गत वर्ष २.९२ प्रतिशत रहेको खराब कर्जा अहिले बढेर ३.७२ प्रतिशत पुगेको छ । हिमालयन लघुवित्तको प्रतिशेयर आम्दानी १६.८८ रुपैयाँ छ ।

गुराँस लघुवित्तको पनि नाफामा उल्लेखीय सुधार भएको छ । लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८९ प्रतिशतल बढी हो ।

कम्पनीले गत वर्षको सोही अवधिमा नौ लाख ३३ हजार मात्रै नाफा कमाएको थियो । कम्पनीको खराब कर्जामा पनि सुधार आएको छ । यस पटक कम्पनीले खराब कर्जा १.११ प्रतिशले घटाएर ३.१६ प्रतिशतमा झारेको छ । गुराँसको प्रतिशेयर आम्दानी अहिलेसम्म विवरण सार्वजनिक गरेका लघुवित्त मध्येको धेरै हो ।

सर्पोट लघुवित्तले पनि नाफामा सुधार गरेको छ । लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जुन गत वर्षका तुलनामा ६३ प्रतिशतले बढी हो । त वर्षको सोही अवधिमा लघुवित्तले १५ लाख ९८ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

यस पटक कम्पनीले खराब कर्जामा पनि सुधार गरेको छ । यस अवधिमा कम्पनीको खराब कर्जा १.६७ प्रतिशतबाट १.६४ प्रतिशतमा झारेको छ । यस लघुवित्तको प्रतिशेयर आम्दानी ९.६९ रुपैयाँ छ ।

गणपति लघुवित्तको पनि पहिलो त्रैमासको वित्तीय विवरण अनुसार नाफा गिरावट भएको छ । लघुवित्तले पहिलो त्रैमासमा १० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने ६४ प्रतिशत कम हो ।

गत वर्ष पहिलो त्रैमासमा २८ लाख ८१ हजार खुद नाफा कमाएको थियो । कम्पनी सञ्चालनको नाफामा गिरावट आएसँगै खुद नाफामा प्रभाव परेको हो । खराब कर्जा भने गत वर्षकै यथायत छ । गत वर्ष ४.९३ थियो । संस्थाको प्रतिशेयर आम्दानी भने ४.८७ रुपैयाँले घटेर २.७३ रुपैयाँमा कायम भएको थियो । गत वर्ष भने प्रतिशेयर आम्दानी ७.६० थियो ।

युनिक नेपाल लघुवित्तको नाफामा भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ७९ लाख ७७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा भने तीन करोड १७ लाख खुद नाफा कमाएको थियो । यस वर्ष संस्थाको सञ्चालन नाफा र खराब कर्जा बढेकाले गर्दा नाफामा प्रभाव परेको हो ।

यस वर्ष संस्थाको सञ्चालन नाफा पनि २७ प्रतिशतले घटेको छ । लघुवित्तको खराब कर्जा पनि १५.७९ प्रतिशत पुगेको छ । गत वर्ष भने १०.८२ प्रतिशत थियो । संस्थाको प्रतिशेयर आमदानी २१.४८ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने ३३९.७८ रुपैयाँ छ ।

नाडेप लघुवित्तले यस पटक नोक्सानी ब्यहोरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड ९७ लाख रुपैयाँ नोक्सानीमा छ । गत वर्षको सोही अवधिमा भने कम्पनीले पाँच लाख १० हजार नाफा कमाएको थियो । कम्पनीको ब्याज आम्दानी र सञ्चालन नाफा घाटामा गएपछि कम्पनीले नोक्सानी ब्यहोर्नुपरेको हो । यस संस्थाको खराब कर्जामा पनि वृद्धि भएको छ ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा एक लाख १३ हजार ११६ रुपैयाँ सञ्चालन नाफा थियो भने अहिले पाँच करोड दुई लाख ३६ हजार रुपैयाँ ऋणात्मक छ ।

लघुवित्तको चुक्ता पुँजी चार अर्ब ८५ करोड ७६ लाख रुपैयाँ छ । कम्पनीको खराब कर्जा ६.५६ प्रतिशतबाट बढेर १०.५१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १०.२४ रुपैयाँ ऋणात्मक छ भने प्रति शेयर नेटवर्थ १७२.९३ रुपैयाँ छ ।

उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा उक्त नाफा आर्जन गरेको हो ।

गत वर्षको यसैअवधिमा संस्था तीन करोड ३७ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको खुद ब्याज आम्दानी ४७.७८ प्रतिशतले बढेर दुई करोड ५९ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी एक करोड ७५ लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीको सचालन आम्दानी १४ लाख ३७ हजार रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १० करोड ६१ लाख रुपैयाँ, जगेडा कोषमा १५ करोड दुई लाख रुपैयाँ र खराब कर्जा ३.६८ प्रतिशतले घटेर १.१५ प्रतिशतमा पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४.१६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३७.४३ रुपैयाँ छ ।

ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड चार लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिमा १९ प्रतिशत बढी हो । अघिल्लो वर्ष तीन करोड ४० लाख नाफा कमाएको थियो । तीन महिनामा लघुवित्तले १३ करोड ७१ लाख खुद ब्याज आम्दानी गरेको छ ।

अहिले लघुवित्तको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ छ । नाफा बढेसँगै प्रतिशेयर आम्दानी पसन बढेको छ । प्रतिशेयर आम्दानी २१.९८ रुपैयाँबाट बढेर २६.१६ रुपैयाँ पुगेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा पनि घटेको छ । ४.७६ प्रतिशतबाट घटेर ४.३५ प्रतिशतमा झरेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १८७.८० रुपैयाँ छ ।

एनएमबी लघुवित्त वित्तीय संस्थाले पहिलो त्रैमासमा ७१ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा लघुवित्तले चार करोड ७३ लाख घाटामा थियो । चालुआर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै आठ करोड आठ लाख खुद ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ७२ करोड १४ लाख रुपैयाँ छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी ३.९७ रुपैयाँ धनात्मक छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २६.२५ रुपैयाँ ऋणात्मक थियो । मूल्य आम्दानी अनुपात १८१.८६ गुणा छ ।

यस्तै, लघुवित्तको खराब कर्जा ७.२७ प्रतिशतबाट घटेर ६.३७ प्रतिशतमा झरेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३०.२४ रुपैयाँ छ । विजय लघुवित्तले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटा ब्यहोरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो तीन महिनामा तीन करोड ४५ लाख नोक्सानी ब्यहोरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले एक करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेसँगै कम्पनीले नाफामा प्रभाव परको हो । यस अवधिमा कम्पनीले खुद ब्याज आम्दानीमा भने वृद्धि गरेको छ । गत आवमा खुद ब्याज आम्दानी आठ करोड ४४ लाख रुपैयाँ रहेकोमा चालु आवमा भने १४ प्रतिशतले वृदि भएर नौ करोड ६९ लाख रुपैयाँ पुगेको हो ।

लघुवित्तको खराब कर्जामा भने वृद्धि भएको छ । गत आवमा ७.९ प्रतिशत रहेको खराब कर्जा यस पटक भने बढेर ९.५७ प्रतिशत पुगेको छ । कम्पनीको चुक्तापुजी भने ७४ करोड ५० लाख रुपैयाँ छ ।

नेशनल लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा व्यापक सुधार गरेको छ । गत आर्थिक वर्षको तुलनामा लघुवित्तले ९० .३२ प्रतिशत बढी नाफा कमाएको छ । गत आवमा पाँच करोड ५० लाख नाफा कमाएकोमा यस पटक भने १० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो पनि –

लघुवित्त क्षेत्रमा नगन्य सुधार, नाराजुलुस घटे पनि खराब कर्जा उस्तै

कम्पनीको खुद ब्याज आम्दानी पनि शतप्रतिशत वृद्धि भएको छ । गत आवमा १४ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको लघुवित्तले यस पटक भने ३० करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

कम्पनीको चुक्तापुजी एक अर्ब १६ करोड ५५ लाख रुपैयाँ छ । कम्पनीको खराब कर्जामा भने केही वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४.१७ प्रतिशत रहेकोमा चालु आवमा ४.२६ प्रतिशतमा पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी पनि १४.९८ रुपैयाँबाट बढेर ३५.२९ रुपैयाँ कायम भएको छ । प्रतिशेयर नेटवर्थ भने २४७.७५ रुपैयाँ छ ।

सूर्योदय वोमी लघुवित्त चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार चार करोड ७१ लाख रुपैयाँ नोक्सानमा छ । गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले एक करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्योदय वोमी लघुवित्तको अधिकांश सूचकमा गिरावट देखिएको छ । यसअवधिमा यो लघुवित्त चार करोड ७१ लाख रुपैयाँ नोक्सानमा देखिएको छ । गत वर्ष भने एक करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसको खुद ब्याज आम्दानी पनि ३५.७१ प्रतिशतले घटेर आठ करोड ७० लाख रुपैयाँमा झरेको छ । गत वर्ष कम्पनीले १३ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसको खराब कर्जा पनि ५.९२ प्रतिशतबाट बढेर ६.३० प्रतिशत भएको छ । यो लघुवित्तको प्रतिशेयर ४.५२ रुपैयाँ नोक्सानमा छ । यसको प्रतिशेयर नेटवर्थ १४४.८५ रुपैयाँ छ ।

गत वर्ष नोक्सानी ब्यहोरेकोमेरो माइक्रोफाइनान्स लघुवित्तले यस पटक भने नाफा कमाएके छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३६ लाख ५० रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा भने लघुवित्त ६ करोड २५ लाख रुपैयाँ नोक्सानीमा थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २२ करोड १८ लाख रुपैयाँ छ । यो गतवर्षको यसै अवधिको तुलनामा ३९.२९ प्रतिशतले बढेको हो ।

गत वर्ष लघुवित्तको खुद ब्याज आम्दानी १५ करोड ९३ लाख रुपैयाँ थियो । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ५४ लाख ७४ हजार रुपैयाँ छ । गत वर्ष यो ६ करोड २५ लाख ७५ हजार रुपैयाँले नोक्सानीमा थियो ।

लघुवित्तको चुक्तापुँजी एक अर्ब ३२ करोड रुपैयाँ छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी वार्षिक एक रुपैयाँ ११ पैसा छ । माइक्रोफाइनान्सको निष्कृय कर्जा ९.३९ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ १६०.८९ रुपैयाँ छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ७० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो गत वर्षको तुलनामा ७८ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले ९५ लाख ३२ हजार मात्रै नाफा कमाएको थियो । कमपनीको सञ्चालन नाफा बढेका कारण नाफामा बढोत्तरी भएको हो । कम्पनीको सञ्चालन नाफा दुई करोड ४० लाख रुपैयाँ छ ।

त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा सात करोड ८९ लाख रुपैयाँ रहेकोमा चालू आवमा ११ करोड ३५ लाख रुपैयाँ छ ।कम्पनीको चुक्ता पूँजी ४४ करोड १६ लाख रुपैयाँ छ । कम्पनीको जगेडा तथा कोषमा २८ करोड ६९ लाख रुपैयाँ र सञ्चित मुनाफामा एक करोड ६४ लाख रुपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी ६.७८ रुपैयाँले वृद्धि भएर १५.४१ रुपैयाँ पुगेको छ र प्रतिशेयर नेटवर्थ १६८.७० रुपैयाँ छ ।

पहिलो त्रैमासमा ३३ वटा लघुवित्तमध्ये १६ वटा लघुवित्तको खराब कर्जामा वृद्धि भएको छ । यसमा सबैभन्दा बढी नेरुडे मिरमिरे लघुवित्तको खराब कर्जा १६.१४ प्रतिशत पुगेको छ । यस्तै, दोस्रोमा युनिक नेपाल लघुवित्तको छ भने तेस्रोमा आत्मनिर्भर लघुवित्त छ ।

आर्थिक शिथिलताको प्रभाव

लघुवित्तको सुधार अहिले पनि नभएको विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी अधिकृत वसन्त लम्साल बताउँछन् । अहिले पनि मानिसहरूमा परेको आर्थिक संकट उस्तै रहेकाले कारण यस क्षेत्रमा सुधार नआएको उनको बुझाइ छ ।

‘अहिले अनैतिक हर्कत कम भए पनि वित्तीय अवस्था भने उस्तै छ । मानिसहरूसँग पैसा छैन । लिएको लोन भनेको समयमा तिर्न सकिरहेका छैनन् । मानिसहरूमा लिएको ऋण तिर्नुपर्छ भन्ने भएपनि काम छैन अर्थतन्त्र चलायमान भएको छैन । सहज हुने अवस्था छैन ।’

यस्तै, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले अहिले लघुवित्तका समस्या हल नभएका कारण लघुवित्तको नाफामा प्रभाव परेको बताउँछन् ।

‘हाम्रो देशको आर्थिक अवस्था नै चलायमान हुन सकेको छैन । लघुवित्तका अधिकांश ग्राहक निम्न परिवार मजदुर वर्गका हुन् । अहिले काम गरेर सबै ऋण तिर्छु भन्दा पनि नपाउने अवस्था छ । पहिले-पहिले हप्तामा सातै दिन उद्योगमा काम गर्ने मानिसहरूले पनि अहिले हप्ताको तीन दिनभन्दा काम पाएका छैनन् । अन्य क्षेत्रमा पनि काम गर्ने वातावरण सहज नभएका कारण सोचेजस्तो सुधार भएको छैन,’ उनले भने ।