काठमाडौं – फोक्सोको क्यान्सर विश्वभर नै मृत्युको प्रमुख कारक मानिन्छ । नेपालमा पनि पुरुषहरूमा देखिने क्यान्सरमा फोक्सोको क्यान्सर नै प्रमुख रहेको छ । महिलामा पनि पाठेघरको क्यान्सर र स्तन क्यान्सरपछि तेस्रोमा फोक्सोको क्यान्सर देखिने गरेको छ ।
फोक्सोको क्यान्सर हुनुको मुख्य कारण धुम्रपान हो । सरकारले पनि सकेसम्म नेपालमा धुम्रपान निषेध नै गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । फोक्सोको क्यान्सर लागेपछि उपचार असाध्यै महंगो भएकाले रोग नै लाग्न नदिनेतर्फ सबैले विचार पु¥याउनुपर्ने चिकित्सकको सुझाव छ ।
आखिर फोक्सोको क्यान्सर कसरी हुन्छ ? यसका लक्षणहरु के कस्ता हुन्छन् ? र, यसको रोगथामका लागि ध्यान दिनुपर्ने कुराहरु के हुन् ? यिनै सन्दर्भमा वीर अस्पतालका क्यान्सर विभाग प्रमुख एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यसँग खबरहबले गरेको कुराकानी–
फोक्सोको क्यान्सरका मुख्य कारण के हो ?
फोक्सोको क्यान्सर हुनुको मुख्य कारण धुम्रपान हो । सूर्तिजन्य पदार्थलाई धुवाँका रुपमा तानेर जब फोक्सोमा पुग्छ, त्यसले फोक्सोको क्यान्सर हुने सम्भावना एकदमै बढी हुन्छ । दोस्रो रेडियन्ट ग्यास, जुन धर्तीबाट आउँछ, त्यसले पनि क्यान्सर गराउँछ । अर्को प्रदूषण हो । गाडीबाट निस्किने धुवाँ धुलोका कारणले पनि फोक्सोको क्यान्सर हुने सम्भावना बढी नै हुन्छ ।
फोक्सोको क्यान्सर कस्तो मान्छेलाई हुन सक्छ ?
तुलनात्मक रुपमा धुम्रपान गर्ने व्यक्तिलाई बढी देखिने भइहाल्यो । धुम्रपान नगर्ने व्यक्तिलाई पनि नहुने त होइन । ननस्मल सेल लङ्स क्यान्सर, एडिनोकार्सिनोमा र स्मल सेल लङस क्यान्सर गरेर मुख्यतयः फोक्सोको क्यान्सरलाई तीन प्रकारमा बाँडिएको छ । चुरोट खाने व्यक्तिमा देखिने स्मल सेल लङस क्यान्सर र ननस्मल सेल लङस क्यान्सर हो । चुरोट नखाने र मुख्यतः महिलामा एडिनोकार्सिनोमा क्यान्सर बढि देखिन्छ । यसको कारण भन्न सकिएको छैन । तर, रेडियन्ट ग्यासका कारणले हो कि भन्ने छ ।
शहरी क्षेत्रमा धुलो धुवाँले क्यान्सरको जोखिम धेरै हुने हो ?
धुवाँ, धुलोले मात्रै पनि फोक्सोको क्यान्सर हुन्छ भन्ने त होइन तर लामो समयसम्म गाडीबाट निस्किने धुवाँको असरले फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
कुन उमेर समूहमा यस्तो समस्या छ ?
फोक्सोको क्यान्सर मुख्यतः ४० वर्षभन्दा माथि ५० र ६० वर्षको उमेर समुहमा बढी देखिने गरेको छ । चुरोट खाने बित्तिकै फोक्सोको क्यान्सर भइहाल्ने होइन, यसले समय लिने हुँदा अलि बढी नै उमेरका व्यक्तिमा जोखिम धेरै हुन्छ ।
फोक्सोको क्यान्सर महिलाहरुमा भन्दा बढी पुरुषहरुमा हुन्छ भनिन्छ के हो वास्तविकता ?
नेपालमा तुलनात्मकरुपमा पुरुषहरुको संख्या बढी भएका कारण पनि त्यस्तो देखिएको हुन सक्छ । डाटामा हेर्दा पनि पुरुषको संख्या बढी देखिएको छ । तर, पुरुषहरुमै बढी देखिन्छ भन्ने चाहिँ होइन । महिला–पुरुष दुबैलाई उत्तिकै जोखिम हुन्छ ।
फोक्सोको क्यान्सर प्रारम्भिक अवस्थामै पत्ता लगाउन के गर्ने ?
प्रारम्भिक अवस्थामै पत्ता लगाउन एकदमै गाह्रो छ । यसका खासै लक्षणहरु केही पनि हुँदैनन् । कसै–कसैलाई सुख्खा खोकी लाग्न सक्छ । तर, बिरामीहरु रोग धेरै फैलिसकेपछि मात्रै अस्पताल आइपुग्छन् । त्यसैले सुरुमै पत्ता लगाउन स्क्रिनिङ गर्नुपर्छ । लामो समयसम्म चाुरोट खाने व्यक्तिलाई लो डोज राखेर सिटीस्क्यान गरेर क्यान्सर छ कि छैन भनेर हेर्न सकिन्छ । तर, यो प्रवृत्ति नेपालमा छैन ।
बच्चाहरुमा हुने निमोनियाले पनि पछि गएर फोक्सोको जोखिम कत्तिको छ ?
निमोनियाकै कारण फोक्सोको क्यान्सरको जोखिम त हुँदैन । तर फोक्सोमा दाग भएको व्यक्तिलाई चाहीँ जोखिम हुन्छ ।
यसमा वंशाणुगत असर कत्तिको हुन्छ ?
केही हद ५ सयमा ५ प्रतिशतसम्म वंशाणुगत असर पनि हुन्छ । बुवा, हजुरबुवाका पालामा क्यान्सर थियो भने आउने पिँढीले चुरोट नखाँदा राम्रो हुन्छ । अघिल्लो पिँढीको हेरिटेज असर असर हुन्छ । त्यसैमाथि चुरोट खाँदा सम्भावना अझ बढेर जान्छ ।
यसका लक्षणहरु कस्ता देखिन्छन् ?
विभिन्न रोगीमा क्यान्सरको लक्षण पनि भिन्न हुन्छन् । कुनै रोगीमा पनि अन्तिमसम्म पनि कुनै लक्षण नै देखिँदैन । तर, धेरैमा भने अरू नै कुनै कारणले छातीको एक्सरे गर्दा क्यान्सर भएको पत्ता लाग्ने गर्दछ । लामो समयसम्म खोकी लाग्नु, खकारमा रगत देखिनु, श्वास लिँदा कठिन हुनु, श्वास फेर्दा छाती कराउनु, आवाजमा परिवर्तन आउनु, मुख्य भनेको सुख्खा खोकी लाग्नु नै हो । त्यसैले यस्ता केही लक्षणहरु देखिए एक्सरे गर्दा मात्रै पनि रोग पत्ता नलाग्न सक्छ । सिटस्क्यान गर्नु राम्रो हुन्छ ।
नेपालमा फोक्सोको क्यान्सरको अवस्था के छ ?
नेपालमा फोक्सोको क्यान्सरको अवस्था एकदमै भयावह छ । पुरुषहरुमा त एक नम्बरमै छ । महिलाहरुमा पहिलो पाठेघर, दोस्रो स्तन क्यान्सर र तेस्रोमा फोक्सोको क्यान्सर पर्छ । नेपालमा धुम्रपान गर्नेहरुको संख्या पनि धेरै भएकाले फोक्सोको क्यान्सरको अवस्था राम्रो छैन । अचेल स्कुले बालबालिकादेखि लिएर पाको उमेर समुह सबैमा चुरोटको लत छ । यही अवस्था रहने हो भने केही वर्ष पछाडि नेपालमा फोक्सोको क्यान्सरको अवस्था झन जटिल हुन सक्छ ।
फोक्सोको क्यान्सरका कारण हुने मृत्युदर कस्तो छ ?
धेरै बिरामीहरु अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्छन् । त्यसैले मृत्युदर पनि बढी नै छ । अन्य क्यान्सरको तुलनामा फोक्सोको क्यान्सरका बिरामीहरु उपचारमा आएको १÷२ वर्षमै मृत्यु हुने दर बढ्दो छ ।
फोक्सोका क्यान्सर भएमा के छ त उपचार ? कस्तो अवस्थामा अस्पताल आइपुग्यो भने बिरामीलाई लामो समयसम्म बचाउन सकिन्छ ?
मुख्यतः फोक्सोको क्यान्सरको उपचार भनेको सर्जरी, रेडियसन, किमोथेरापी हो । सुरुवाती अवस्थामै बिरामी अस्पताल आइपुग्यो भने केही हदसम्म यी विधिबाट बिरामीलाई बचाउन सकिन्छ । तर, धेरै बिरामीहरु अन्तिम अवस्थामा अस्पताल आइपुग्दा उपचार त्यति प्रभावकारी हुँदैन ।
यसको उपचार कत्तिको खर्चिलो छ ?
यसको उपचार खर्चिलो छ । सर्जरी गर्नुपर्यो, रेडियसन, किमोथेरापी लगायत धेरै महँगा थेरापीहरु छन् । जो सामान्य अवस्था भएका व्यक्तिलाई गाह्रो छ । त्यसैले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो । यसका लागि सरकारले पनि सकेसम्म नेपालमा धुम्रपान निशेष नै गर्नुपर्छ ।
फोक्सोको क्यान्सरबाट बच्न के गर्ने ?
यसबाट बच्नका लागि पहिलो कुरा त धुम्रपान नगर्ने । धुम्रपान गर्नेको वरिपरि पनि नबस्ने । स्वासप्रश्वाससम्बन्धी व्यायामहरु गर्ने ।
यसको रोकथामका लागि सरकारले के गरिरहेको छ ?
सरकारले सूर्तीजन्य पदार्थ नियन्त्रण गर्ने कार्यक्रम ल्याइरहेको छ । त्यो कत्तिको प्रभावकारी भइरहेको छ भन्ने आफैंमा एउटा प्रश्न छ । सरकारले गरेर मात्रै केही हुँदैन, मान्छे आफैं पनि सचेत हुन जरुरी छ । चुरोट खाने मान्छेहरुले छोड्नै चाह्यो भने अहिले निकोटिन चुइङगम पनि आएको छ । तर, उनीहरुमा सुरुमै आत्मविश्वास पाइँदैन । म त चुरोट छोड्न सक्दिनँ होला भनेर पहिले नै नकारात्मक सोच हुन्छ । त्यस्ता व्यक्तिलाई छुटाउन एकदमै गाह्रो हुन्छ ।
तपाईले भन्नुभएको निकोटिन चुइङगम के हो ?
भारतलगायत अन्य मुलुकहरुमा यसको प्रयोग भइरहेको छ । निकोटिन चुइङगमको सहायताले सयजनामा कम्तिमा पनि ३ जनालाई सूर्तिजन्य पदार्थको लतबाट छुटाउन सकिन्छ । यही कुरा नेपालमा पनि लागु गर्नसके राम्रो हुन्थ्यो । डब्लुएचओले बीर अस्पतालमा केही मात्रामा दिएको थियो, केही दिनमै सकियो । मान्छेहरुमा चुरोट छाड्ने चाहना छ तर छोड्ने उपाय नभेटिएको देखिन्छ । यो चुइङगमको प्रयोगका लागि चिकित्सकको परामर्शमको आवश्यकता पर्दैन । यो बाहेक अन्य औषधीहरु पनि छन्, जसले सूर्तीजन्य पदार्थको लत छुटाउन सहयोग गर्छ । त्यसका लागि चिकित्सकको परामर्श आवश्यक छ ।
फोक्सोको क्यान्सर रोकथामका लागि वीर अस्पतालमा यहाँले कस्तो पहल गरिरहनुभएको छ ?
आफ्नो तर्फबाट गर्ने सबै कामहरु हामीले गरिरहेकै छौं । क्यान्सरलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा एउटा मिसन तयार गर्यौं र सरकारलाई बुझायौं तर त्यो अगाडि बढेन । काम गर्ने मान्छेको हामीसँग कमी छैन । मेडिसिनका धेरै विधामा पढेर आएका मान्छेहरु धेरै छन् । यसलाई सरकारले गम्भिर रुपमा लिएर सोच्न आवश्यक छ ।