फाइल तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

नवनिर्वाचित ताइवानी राष्ट्रपतिलाई फिलिपिनी राष्ट्रपतिले दिए बधाई, चीन ‘असन्तुष्ट’

By खबरहब

January 19, 2024

बेइजिङ- ताइवानमा सम्पन्न निर्वाचनका विजयी उम्मेदवारलाई फिलिपिन्सले बधाई दिएसँगै चीनले फिलिपिनी राजदूतलाई बोलाएको छ । अल जजीराका अनुसार ताइवानमा सम्पन्न निर्वाचनमा राष्ट्रपति पदमा विजयी भएसँगै फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले लाई चिङ तेलाई बधाइ दिएका थिए ।

यससँगै क्रुद्ध बनेको चीनले फिलिपिन्सका राजदूतलाई डाकेको हो । चीनले फिलिपिन्सलाई ‘आगोसँग नखेल्न’ चेतावनी समेत दिएको छ ।

पछिल्ला दिनहरुमा दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा दुई मुलुकबीच तनाव बढिरहेका बेला फिलिपिनी राष्ट्रपतिले नवनिर्वाचित ताइवानी राष्ट्रपतिलाई बधाइ दिएका हुन् ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले मार्कोसको भनाइप्रति आपत्ति जनाउँदै असन्तुष्टि व्यक्त गरेकी छिन् । यता फिलिपिनी विदेश मन्त्रालयले भने ताइवान र फिलिपिन्सबीच रहेको साझा हिततर्फ लक्षित रहेको स्पष्ट पारेको छ ।