टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहमा पत्रकारलाई प्रवेशमा रोक

By खबरहब

February 19, 2024

काठमाडौँ– ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रममा समाचार सङ्कलनका लागि काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्च अगाडि पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ ।

समाचार सङ्कलनमा पुगेका पत्रकारहरूले कार्यक्रमस्थलमा प्रवेश नपाएपछि सैनिकमञ्चको गेटमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन् ।

समाचार सङ्कलनका लागि विशेष प्रवेश पास चाहिने भन्दै भित्र पस्न नदिएको पत्रकारहरूले बताएका छन् । यसअघिका कार्यक्रममा सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रले काम गर्ने गरेको थियो ।

प्रजातन्त्र दिवसको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरू तथा संवैधानिक निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ ।