अन्तर्राष्ट्रिय

अनलाइन भुक्तानी प्रणाली सञ्जाल जोड्न भारत र यूएईबीच समझदारी

By खबरहब

February 19, 2024

नयाँ दिल्ली- भारतको अनलाइन भुक्तानी प्रणाली यूपीआईलाई यूएईको भुक्तानी प्रणाली एएएनआईको सञ्जालसँग जोड्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यूएई भ्रमणका क्रममा यस विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

हस्ताक्षर समोरोहमा प्रधानमन्त्री मोदीसँगै यूएईका राष्ट्रपति मोहम्मद बिन जयेद अल नहयानको पनि उपस्थिती रहेको एएनआईले जनाएको छ । यस सम्झौताले भारत र यूएईबीच अन्तरदेशीय भुक्तानीमा सहजता आउने अपेक्षा गरिएको छ ।

भारतीय विदेश मन्त्रालयले यस सम्झौतासँगै एक मुलुकबाट अर्को मुलुकमा लगानीको सम्भावना पनि बढेर जाने विश्वास व्यक्त गरेको छ ।

भुक्तानी प्रणालीमा साझेदारीबाहेक दुई मुलुकबीच विभिन्न आर्थिक क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि समझदारीपत्रमा हस्ताक्षर भएको एएनआईले जनाएको छ ।