काठमाडौं– निर्माता तथा अभिनेता दीपकराज गिरीले आफू भारतीय फिल्मको हुबहु नक्कल गरेको फिल्ममा काम गरेको खुलाएका छन् । आफ्नो पहिलो फिल्म ‘चोर’ भारतीय फिल्म ‘अनाडी’को नक्कल भएको उनको भनाइ छ ।
‘चोर’ फिल्मका निर्माता चिरञ्जीवी बस्नेतले भारतीय निर्देशक राजकुमार शर्मालाई भेटेकाले सो फिल्ममा अनुबन्ध भएको दीपक स्मरण गर्छन् ।
दीपकराज भन्छन्, ‘गीतदेखि सबै त्यही फिल्मको हुबहु नक्कल थियो । डाइलग नै त्यही थियो । स्क्रिप्ट माग्दा निर्देशक राजकुमार शर्माले अनाडी हेर्नू भनेर घर पठाए ।’
दीपक फिल्ममा काम गर्ने तय भएपछि निर्देशकसँगको संवाद सुनाउँछन् : राजुकमार : के हो तिम्रो नाम ? म : हजुर, दीपक हो । राजकुमार : ल सँगै काम गर्नुपर्छ जा । म : होइन सर, मेरो पात्र चाहिँ के हो ? राजकुमार : अहो, यो त पात्र के हो पनि भनेर सोध्छ त ? म : हजुर । राजकुमार : सुन्, घर जा, ‘अनाडी’ फिल्म छ त्यो हेर् । त्यसमा लक्ष्मीकान्त बडें जे गर्छ त्यही हो तेरो भूमिका ।
घर फर्केर फिल्म नहेरे पनि आफूले सो फिल्ममा काम गरेको दीपक बताउँछन् । उनी सो फिल्ममा रघुको भूमिकामा देखिएका थिए । (निफको ‘निर्देशक हराएको सूचना’ अन्तरक्रियामा दीपकले सुनाएको अनुभवमा आधारित)