समाचार

गृहमन्त्री लामिछाने विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन

By खबरहब

March 19, 2024

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबार परिसरमा प्रदर्शन गरेका छन् ।

सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागका साथ उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले सिंहदरबारबाहिरको पर्खालमा सहकारी पीडितलाई न्याय खै, नैतिकता खोइ, अर्थमन्त्री सुनमन्त्री लगायत लेखिएका पोष्टर टाँसेका थिए ।

पोष्टर टाँसेपछि प्रहरीले हस्तक्षेप गरी केही विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ । उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे, लगायतका नारा लगाएका थिए ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने विरुद्ध कांग्रेसले सदनमा र भातृसंगठनले सडकमा विरोध गर्दै आएको छ ।