काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं ०८० सालमा सर्वाधिक ८ वटा फिल्म खेल्ने नायक उनै हुन्, जो भोजपुरको दुर्गम गाउँ खावामा जन्मिएका थिए ।
यी नायकको हुर्काइ यस्तो थियो कि पढ्न डेढ घण्टा पैदल हिँड्नुपर्थ्यो । गाउँ भौतिक विकासबाट त टाढा थियो नै, जाडो महिनामा घाम देख्न साढे ९ बजेसम्म कुर्नुपर्थ्यो । उनले गाडीसँग प्रत्यक्ष साक्षात्कार गर्न जीवनको डेढ दशक कुर्नुपर्यो ।
भोजपुर छाडेर राजधानी छिरेपछि अभिनयमा जोडिएका दयाहाङ त्यही कलाकार हुन्, जसले पहिलो पटक क्यामेरा अगाडि अभिनय गरेको सिरियल प्रसारण भएन । त्यति मात्र होइन, उनको अभिनय रहेको पहिलो फिल्म पनि हलमा लागेन ।
अहिले त्यही कलाकार सर्वाधिक व्यस्त नायक बनेका छन्, जसले हिरोको पारम्पारिक परिभाषा बदेको जस समालोचकबाट पाउन सफल भएका छन् ।
दयाहाङको अभिनय यात्रा जटिल नभए पनि सहज छैन । सर्वाधिक व्यस्त नायक उनी एक समय गाडी भाडा नहुँदा पैदल हिँड्न थाकेनन् । डिग्री नलिए पनि अध्ययन गर्न छाडेनन् । आँखा खोल्दा पनि सपना देख्न छाडेनन् ।
भोजपुरको उकाली–ओराली
दायाहाङ जन्मिएको घर भोजपुरको खावामा छ । उनको बाल्यकालमा त्यहाँ भौतिक सेवा सुविधाको त कुरै छोडौँ, जाडोको बेला घामको मुख देख्नसमेत मुस्किल थियो ।
निम्न माध्यमिक तहसम्म ४५ मिनेट र माध्यमिक तह डेढ घण्टा यात्रा गरेर उनको स्कुले जीवन कटाएका हुन् । सबै साथीको जीवनशैली एकै भएकाले उनलाई त्यो क्षणको गुनासो न त्यस बेला थियो, न अहिले छ ।
उनी सम्झन्छन्, ‘स्कुलमा लाहुरे, शिक्षक, किसान सबैका छोरा–छोरी पढ्थे । खाजा लैजाने चलन नै थिएन । बिहान ८ बजे भात खाएर स्कुल हिँड्यो, ६ बजेतिर घर आएपछि केही छ भने खायो, नभए त सिधै बेलुकाको भात हो ।’
घरमा बुबा–आमालाई खेती किसानीको काम सघाएर स्कुल जान तयार हुने दैनिकी त्यस बेलाका लागि सामान्य रहेको उनको बुझाइ छ । उनी भन्छन्, ‘हामीले खेतीको काम गर्नु अहिले मोबाइलमा गेम खेलेको जस्तै हो, अर्थात् सामान्य ।’
यद्यपि घरको काम गर्नको अल्छीले पढ्न बसेको क्षण उनको बाल्यकालको यादगार स्मरणमध्ये एक हो । खेलप्रति झुकाव राख्ने उनी विद्यार्थी जीवनमा भलिबल प्रतियोगिता धेरै पटक थाल जितेको सुनाउँछन् ।
हाम्रो पालामा थाल पुरस्कार हुन्थ्यो । पुरस्कार जितेको धेरै थाल छ मेरो घरमा ।’ उनी स्कुले जीवनको किस्सा सेयर गर्छन् ।
विशाल सहरको पढाइ
एसएलसी दिएपछि ०५४ सालमा दयाहाङ क्याम्पस पढ्न सदरमुकाम गए । उनका लागि सदरमुकाम बजार विशेष छ । किनभने उनले पहिलो पटक टेलिभिजन, फिल्म हेरेको र देखेको ठूलो बजार यही थियो ।
उनी भन्छन्, ‘हाम्रो लागि विशाल सहर नै भोजपुर सदरमुकाम थियो । त्यहाँ बिजुली बत्ती, टेलिभिजन, ठूला पसल थिए । शनिबार हाट लाग्थ्यो ।’ तर सदरमुकाममा मोटर बाटो नपुगेकाले यस बेलासम्म उनले गाडी प्रत्यक्ष रुपमा देखेका थिएनन् । इन्टर पढ्दै गर्दा झापा जाने क्रममा पहिलो पटक गाडी देखेको र चढेको उनलाई टड्कारो याद छ ।
‘गाडी हेर्न मन लाग्यो, सदरमुकामबाट दुई दिन हिँडेपछि गाडी चढ्ने स्टेसन आउँथ्यो । ०५६ सालमा झापा जाँदा पहिलो पटक गाडीबारे प्रत्यक्ष अनुभव लिन पाएँ ।’ उनी अहिलेका पुस्तालाई कथाजस्तो लाग्ने जीवनका भोगाइ सुनाउँछन् ।
फुपूको घरमा बस्ने भएकाले सदरमुकाम बसाइ सहज भएको उनी सम्झन्छन् । क्याम्पस पढाइसँगै ‘जीवनमा लक्ष्य राख्नुपर्छ’ भन्ने चेतनाले झकझक्याएको उनलाई महसुस हुन्छ ।
‘स्कुल पढ्दा के बन्ने जीवनमा भन्ने नै थिएन । पढेर के बनिन्छ भन्ने नै थाहा थिएन,’ उनी भन्छन्, ‘सदरमुकाम गएपछि खेलकुद मैदान, फिल्म हल र पुस्तकालयमा समय बित्न लाग्यो । अनि मैले के गर्ने त भन्ने विचार पलाउन लाग्यो ।’
यसरी दृढ लक्ष्यविनै प्रतिस्पर्धा गर्न पुगेका दयाहाङ लाहुरेमा भने असफल बने । उनी भन्छन्, ‘जाऊँ न भिडौँ भन्ने भएर मात्रै गएको । नयाँ ठाउँ, नयाँ भाषा, अर्काको देशमा गएर काम गर्नुपर्छ भनेर मलाई लाहुरे बन्न डर थियो ।’
१२ मा अंग्रेजीमा विषय झुन्डिएर बिरक्तिएपछि भने साहित्यमा अन्जानै झुकाव बढेको उनलाई महसुस हुन्छ । उनी सदरमुकाम बसाइँको अनुभूति सुनाउँछन्, ‘फेल भएँ, अल्लारे उमेरमा विरक्तिपन बढेर होला, केही कुराहरू लेख्न थालेँ । कथा–कविता लेख्न थालेँ । तर, त्यस बेला, लेख्नु–पढ्नुपर्छ, जीवनमा केही कुरा जान्नुपर्छ भन्ने चेतना पसिसकेको थियो ।’
काठमाडौंको यात्रा
जीवनमा केही गर्ने हुटहुटीले झकझक्याएपछि दयाहाङलाई बाल्यकालमा विशाल सहर लाग्ने सदरमुकाम पनि साँघुरो लाग्न थाल्यो । कुनै दृढ लक्ष्य नबोकी उनी ०५८ सालमा राजधानी छिरे । यद्यपि उनी त्यस बेला इन्टर भने पास भइसकेका थिए ।
काठमाडौंमा गाँस र बासका लागि संघर्ष गर्नु नपरेकाले साहित्यिक झुकावलाई निरन्तर दिन पाएको उनी बताउँछन् । उनी भन्छन्, ‘बुद्धनगरमा काकाको डेरा थियो । आरआर क्याम्पसमा स्नातक भर्ना भएँ । बस्न र खान मलाई समस्या थिएन । त्यसकारण मैले संगत बनाउन ठूलो अवसर पाएँ ।’ काठमाडौंको संगतले साहित्य क्षेत्रमा थप झुकाव बढेकाले आर्ट काउन्सिल, एकेडेमी, ललितकला क्याम्पस धाउने बानी बसेको उनी सुनाउँछन् । ‘जहाँ कार्यक्रम हुन्छ, त्यहीँ जान लागेँ । त्यसरी नै साहित्यतिर झुकाव राख्ने साथीहरूको संगत बढ्दै गयो । साथीहरूको कुरा सुन्ने, कथा–कविता लेख्ने पढ्ने गर्ने दैनिकी बन्न थाल्यो,’ दयाहाङ काठमाडौंका सुरुवाती दिन सम्झन्छन् ।
यसरी विभिन्न कार्यक्रमहरू चाहार्ने क्रममा गाडी भाडा नभएर पैदल हिँड्दा असन्तुष्ट र विचलित भएको उनलाई स्मरण छैन । बरु यसरी हिँडेरै बढाएको संगतलाई अभिनयमा प्रवेश गर्ने प्रेरणामा रूपमा उनी लिन्छन् ।
उनी थप्छन्, ‘लामो समय विभिन्न कार्यक्रम डुल्दा डुल्दै नाटकका साथीहरुसँग भेट हुन लाग्यो । उनीहरूको कुरा सुनेर मनन गर्न लागेँ । विभिन्न किताबहरू पढ्थेँ । बिस्तारै मलाई पनि नाटक सिक्न मन लाग्यो । अनि राष्ट्रिय नाचघरमा अभिनय सिक्न गएँ । त्यहीँबाट अभिनय यात्राको सुरुवात भयो ।’
पहिलो पटक क्यामेराको सामना
नेपाल टेलिभिजनका लागि खिचिएको डमी एपिसोड दयाहाङका लागि क्यामेरा सामना गर्ने अवसर बन्यो, तर त्यो प्रशारणमा आएन ।
‘पहिला टेलिभिजनमा सिरियल प्रशारण गर्न तीन भागको डमी बनाउनुपर्ने हुन्थ्यो । अनि नेपाल टेलिभिजनले किन्थ्यो । एउटा टिमले डमी बनाएको थियो । प्रशारणमै आएन, त्यो सिरियल ।’ दयाहाङ पहिलो पटक क्यामेरा अगाडि अभिनय गरेको स्मरण गर्छन् ।
तर, उनले अभिनय गरेर प्रशारणमा आएको पहिलो सिरियल भने ‘दलन’ हो । जुनका लागि अभिनयमा आत्मविश्वास बढिनसकेकाले उनी अडिसनमै गएका थिएनन् रे ।
‘दलन ०६० तिर खिचिएको हो । प्रशारण ४–५ वर्ष ढिला भयो । दलनको ठूलो अडिसन भएको थियो । धेरै साथीहरू गएँ म चाहिँ जान पाएको थिइनँ’ उनी भन्छन्, ‘मलाई फिट छु भन्ने आत्मविश्वास नै थिएन त्यस बेलासम्म । अनुप बराल सर र निर्देशक नवीन सुब्बाले बोलाउनुभयो । अनि गरियो ।’
नाटकमा अभिनय गर्दा देखेकाले ‘दलन’मा काम गर्न अवसर मिलेको दयाहाङको बुझाइ छ । पारिश्रमिक बुझेरै दलनमा काम गरेका उनलाई ‘कति लिएँ’ भन्ने चाहिँ याद छैन । उनी भन्छन्, ‘तर पैसा भयो कि किताब र फिल्मका भीसीडी र डीभीडी किनिहाल्थेँ ।’
काठमाडौं आएको सुरुवातमा पैदल हिँडेर बनाएको संगतबाट थप अवसरहरू खुल्दै गएको उनी बताउँछन् । त्यसपछि सन् २००६ तिर रामबाबु गुरुङले ‘अनागरिक’ फिल्म बनाउने भएपछि दयाहाङलाई ठूलो पर्दामा काम गर्ने अवसर जुर्यो ।
उनी सम्झन्छन्, ‘रामबाबु चिनेको साथी । उसले मेरो अभिनय पनि हेरेको थियो । लेखक श्रवण मुकारुङले पनि मेरो अभिनय देख्नुभएको थियोे । काम गरौं भनेपछि गरियो ।’
दयाहाङको पहिलो फिल्म प्रदर्शनमा आएन । तर, उनलाई अभिनय क्षमता महसुस गर्ने अवसर भने दिलायो । उनी भन्छन्, ‘केही सिरियल पनि काम गरेको थिएँ । फिल्म पनि गरेँ तर आफूलाई निखार्न थप अभिनय सिक्नपर्छ भन्ने महसुस भयो ।’
यहीबेला एक्टर्स स्टुडियोमा कलाकारको अभाव हुँदा अभिनय सिक्ने संयोग जुरेको उनी सुनाउँछन् । भन्छन्, ‘संयोग पनि मिल्यो । अनुप बराल सरले दलनमा काम गर्दा एक्टर्स स्टुडियो खोल्ने परिकल्पना गर्नुभएको थियो र काम सुरु भएको थियो । त्यहाँ नाटकका लागि जनशक्ति अभाव भएछ, ठूलो टिमको नाटक थियो र मलाई बोलाउनुभयो ।’ उनी भन्छन् । सोही नाटकमा जोडिएपछि एक्टर्स स्टुडियोमा अभिनयको कक्षा सहभागी भएको उनी बताउँछन् ।
लुटको प्रभाव
अनागरिकपछि स–साना भूमिका फिल्ममा काम गरेका दयाहाङलाई ‘दासढुंगा’ले अभिनय क्षमता आत्मविश्वास जगाउने अवसर दियो । सो फिल्ममा उनी केन्द्रीय भूमिकामा नदेखिए पनि ड्राइभर अमर लामाको सशक्त भूमिकामा देखिएका थिए ।
अभिनयमा आत्मविश्वास जगाएको किस्सा सुनाउँदै उनी भन्छन्, ‘दासढुंगा दुर्घटना हुँदा अमर लामाहरुले खाना खाएकै घरमा सुटिङ थियो । मेरो अभिनय हेरेर त्यसघरकी महिला ठ्याक्कै अमर लामाजस्तो लाग्यो भनेर रुनुभयो । मेरो त्यसबेलाको मानसिकताले त्यो घटनालाई म अभिनयमा राम्रै रहेछु भन्ने ग्रहण गर्यो ।’
दयाहाङ अहिले जति व्यस्त छन्, कमाए पनि त्यति नै राम्रो छ । तर, सुरुमा विवाह बन्धनमा बाँधिएर मैतिदेवीको डेरा चलाउन पुग्ने मात्रै आम्दानी हुने गरेको उनी सुनाउँछन् ।
सन् २०१२ मा प्रदर्शनमा आएको चलचित्र ‘लुट’ले आफूले व्यावसायिक रूपमा स्थापित गराएको उनको बुझाइ छ ।
मण्डला परिकल्पना आफूले फिल्म खेल्दैछु भनेर परिवारलाई बुझाउन कठिन भएकाले अभिनय पढ्ने संस्था खोल्न आवश्यक महसुस भएको दयाहाङ बताउँछन् । ‘मैले संघर्षका दिनमा यो गर्दै छु भनेर परिवारलाई बुझाउने अवस्था नै थिएन । म नाटक–साहित्यको विश्व विद्यालय नगए पनि सानो संस्था र टिमसँग पढिरहेको थिएँ । यो कुरा परिवारलाई बुझाउन सक्ने अवस्था थिएन,’ उनी भन्छन्, ‘अनि त्यही भएर युवाहरूलाई आफ्नो परिवारलाई यो बाटोमा लाग्दै छु भन्ने बुझाउनका लागि मण्डलाले सहयोग गर्छ भन्ने नै परिकल्पना थियो । तर, निर्माण गर्न आर्थिक संकट थियो ।’
आर्थिक अभावका कारण पूर्णता नपाएको मण्डला थिएटरले आकार पाउनुमा दयाहाङ ‘लुट’ फिल्मको सफलतालाई जस दिन्छन् । उनी सम्झन्छन्, ‘लुटसम्म मैतीदेवीमा श्रीमती र म दुई वटा कोठामा बस्थ्यौँ । आम्दानी त्यहीँ खर्च गर्न मात्रै पुग्थ्यो । मण्डला परिकल्पना गरेर छानो मात्रै हालेका थियौँ । पर्खालहरू केही थिएन । लुट हिट भएपछि साथीहरूले ऋण नै भए पनि पत्याउन लागे ।’
लुटको सफलतासँगै आंकाक्षा बढ्दै गएपछि फिल्ममा झन् दौडधुप सुरु भएको उनको बुझाइ छ ।
कबड्डीका काजी
दयाहाङका लागि कबड्डी फिल्म विशेष छ, किनभने उनी केन्द्रीय भूमिका रहेको पहिलो फिल्म यही हो, जुन सुपरहिट साबित भयो ।
पहिला विदेशी फिल्मका भीसीडी किनेर सिकेको ज्ञान यसै फिल्मबाट पोख्न सुरुवात भएको उनको बुझाइ छ । उनी भन्छन्, ‘ती फिल्महरूले नै नेपालमा रहेका कथामा पनि फिल्म बन्छ है भन्ने चेतना हाम्रो सर्कललाई दिएको हो ।’
तर, त्यस फिल्ममा अनुबन्ध हुने बेलाको रोचक किस्सा छ । दयाहाङ भन्छन्, ‘मलाई अझै बाइक चलाउन आउँदैन । कबड्डीको स्क्रिप्टमा पहिला काजीले नै मोटरसाइकल हाँक्ने भन्ने थियो । बाइक चलाउन पर्छ भने मैले फिल्म खेल्दिनँ भनेँ । विजय बरालले बाइक चलाउने भएपछि बल्ल फिल्म खेलेको हुँ ।’
यो फिल्मपछि दयाहाङले आफ्नो यात्रामा पछाडि फर्किएर हेर्नुपरेको छैन । उनी अहिलेसम्म आइपुग्दा ०८० सालमा सबैभन्दा बढी, ८ वटा फिल्म दिने नायक बनेका छन् ।
दयाहाङले अहिले लिने मोटो पारिश्रमिकको विषय पनि चर्चामा छ । उनको व्यावसायिक सफलतासँगै मण्डला ब्रान्ड बनेर एउटा सुखद गतिमा सञ्चालन भइरहेको छ ।
संगतको असर
दायाहाङ आफू आज यो स्थानमा पुग्नुको जस संगतलाई दिन्छन् । तर, उनको लगानशीलता, निरन्तरता, संघर्ष, क्षमता र दृढ इच्छाशक्ति पनि उनी सशक्त कलाकार बन्नुको मुख्य कारक तत्व हुन् ।
पारिश्रमिककै कुरा गर्दा दासढुंगाबाटै आफ्नै मुखले बोलेको पारिश्रमिक पाए पनि उनलाई अहिले बजारमा चलेको पारिश्रमिकको दर ‘कुन फिल्मबाट लिन थालेँ ?’ भन्ने पत्तो छैन । उनी स्पष्ट पार्छन्, ‘फिल्म गर्दै जाँदा पारिश्रमिक बढाउँदै आएँ । तर, कुन फिल्मबाट कति बढ्यो त्यसको सिलसिला नै याद छैन । थोरै–थोरै बढ्दै जाँदा कुनमा कति बढ्यो याद नहुने रहेछ ।’
दयाहाङले आफूलाई अहिलेको चल्तीको नायक बन्नु पछाडिका संगतहरुलाई सम्झन्छन्, ‘धेरै पात्र छन् तर पहिलो त श्रीमती नै हुन् । ऊ संगीतकी विद्यार्थी भएकाले संगीतका धेरै साथीहरू चिनियो । अर्को बुद्धिसागर हो, जसले कविता गजल लेख्ने व्यक्तिको संगत दियो । निर्देशक रामबाबु गुरुङको सर्कलले एकथरी मानिसको संगत भयो ।’
उनी थप्छन्, ‘श्रवण मुकारुङ, राजन मुकारुङ, उपेन्द्र सुब्बा, स्वर्गीय अर्जुङ खालिङ जस्ता अग्रजको संगतले आँट, भरोसा, ज्ञान, चिन्तन, लगनशीलता बढ्यो ।’