काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको छ । ललितपुरका पूर्वसांसद सिलवाल अहिले नेकपा एमालेको वागमती प्रदेश कमिटीका सचिव निर्वाचित भएका छन् । तर, कांग्रेस नेता उदयसमशेर जबराका कारण ०७९ को चुनावमा दोस्रोचोटि प्रतिनिधिसभा सदस्य बन्ने सिलवालको प्रयास भने सफल हुन सकेन ।
नेपाली प्रहरीको जिम्मेवारीमा रहँदा सिलवाल सधैं चर्चामा रहे । काबिल प्रहरी अधिकारीका रुपमा चर्चामा रहेका उनले राजनीतिक खिचातानीका कारण नेपाल प्रहरीको प्रमुख बन्ने अवसर पाएनन् । नेपाली कांग्रेसका साभापति शेरबहादुर देउवाले आफूमाथि अन्याय गरेको ठहर गर्दै उनी त्यही आक्रोशमा नेकपा एमालेमा प्रवेश गरे र ०७४ सालमा ललितपुरबाट सांसद निर्वाचितसमेत भए ।
अहिले देशको गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्हालेका छन् । विपक्षीले लामिछानेमाथि सहकारी प्रकरणमा मुछिएको आरोप लगाइरहेका छन् । प्रहरी प्रमुखले गत महिना संसदीय समितिमा उपस्थित भएर गृहमन्त्रीलाई निर्दोष करार गरेको विषय प्रहरी संगठनभित्र चर्चाको विषय बनेको अवस्था छ । यस्तो परिस्थितिमा प्रहरी संगठनको नेतृत्व र गृहमन्त्रीले कस्तो भूमिका निभाउनुपर्ला ? पूर्वडीआइजी सिलवालसँग हामीले यस सन्दर्भमा चासो राख्यौं ।
सिलवालले त्रिभुवन विश्वविद्यालयबाट सामान्य प्रशासनमा र अमेरिकाको भर्जिनियाबाट कानूनमा मास्टर्स गरेका छन् । विदेशी विश्वविद्यालयले समेत पत्याएका सिलवालसँग समाज र सुरक्षाका विषयमा विश्लेषण गर्न सक्ने राम्रो क्षमता छ । एमालेमा लागेपछि उनले मार्क्सवाद पनि पढेकै छन् ।
अहिले देशमा देखा परेको राजनीतिक अस्थिरता र जनतामा उत्पन्न निराशाले निम्त्याउन सक्ने चुनौतीहरु के कस्ता होलान् ? एक पूर्वप्रहरीको नजरमा अहिलेको राजनीतिक परिस्थितिलाई कसरी विश्लेषण गर्ने ? यीनै विषयमा खबरहबले एमाले नेता एवं पूर्वडीआइजी सिलवालसँग कुराकानी गरेको छ ।
तत्कालीन डीआइजी सिलवाल ०७४ बैशाखमा प्रहरी महानिरीक्षक बन्ने लाइनमा थिए । तर, सरकारले डीआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि सिलवालले मन्त्रिपरिषदको निर्णय स्वीकार गरेनन् । उनले आइजीपी अर्यालले बोलाएको बैठकसमेत बहिस्कार गरे । सिलवालले त्यति मात्र गरेनन्, अर्याललाई आइजीपी बनाउने निर्णय खारेजीको माग गर्दै उनी सर्वोच्च अदालत गए ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तिगत प्रतिशोधका कारण प्रहरी महानिरीक्षक बन्न नपाएको र देउवाले आफूलाई किर्ते मुद्दामा फसाउन खोजेको सिलवालको गुनासो छ ।
आइजीपी बन्नबाट बञ्चित भएका सिलवालले अमेरिका, युरोप र एशियाली देशका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा काम गरेका छन् । आस्थाको पहाड, शब्दविहीन आवाज र थोत्रो छाता लगायतका पुस्तक लेखेका सिलवाल ०७४ पछि प्रतिनिधि सभामा पनि खरो बोल्ने सांसदका रुपमा परिचित थिए ।
एमालेले उनलाई गृहमन्त्री बनाउने चर्चा पनि चलेको थियो, तर केपी ओलीको रोजाइमा सिलवाल परेनन्, रामबहादुर थापा बादल परे ।
उनै एमाले नेता एवं पूर्वप्रहरी सिलवालसँग देशको समग्र राजनीति, शान्ति सुरक्षा र नयाँ शक्तिबारे गरिएको कुराकानीको सम्पादित अंश :
देशको वर्तमान सुरक्षा स्थितिलाई कसरी विश्लेषण गर्ने ?
सुरक्षालाई अलग्गै हेर्ने भन्दा पनि राजनीति र सामाजिक अर्थत्रन्त्रसँग जोडिइहाल्छ । सामान्य मान्छेको जीवनमा पनि सुरक्षा महत्वपूर्ण हुन्छ । सामाजिक अर्थतन्त्रको दृष्टिकोणबाट र समग्र सुरक्षाको दृष्टिकोणबाट हेर्दा तीनवटा कुरा महत्वपूर्ण हुन्छन् : स्वतन्त्रता, सम्मान र सुरक्षा । यी तीनवटा कुराको अनुभूति गर्ने ग्यारेन्टी नभएसम्म पूर्णरूपमा मान्छेले आफ्नो क्षमता व्यक्त गर्न सक्दैन । कुनै पनि समाज वा व्यक्ति जतिसुकै क्षमतावान् भए पनि यी तीन कुराको प्रत्याभूत जबसम्म हुँदैन, तबसम्म उसले आफूसँग भएको क्षमता प्रदर्शन गर्न सक्दैन ।
मानिसलाई आफूले चाहेको हिसाबले जीवन चलाउने स्वतन्त्रता हुनुपर्छ । परिवार, समाजको भूमिकालाई त्यो ढंगले प्रस्तुत गर्न पाउने वातावरण हुनुपर्छ । अर्को, स्वतन्त्रता मात्र भएर भएन, मान्छले समानपूर्वक बाँच्ने, काम गर्ने र मुलुकप्रतिको दृष्टिकोणमा आफ्नो पोजिसन सम्मानजनक भएको हेर्न चाहन्छ । तेस्रो, सुरक्षा भनेको उ बाँच्न पाउनुप¥यो । उमाथि कुनै अन्याय हुनुभएन ।
व्यक्तिले आर्थिक, भौतिक र सामाजिक हरेक हिसाबले सुरक्षित छु र ममाथि कुनै प्रतिकुल वातावरण छैन भनेर प्रत्याभूति गरेपछि बल्ल समाज आर्थिक–सामाजिक रूपान्तरणको प्रक्रियामा सामेल हुन्छ । इन्जिनियर छ भने उसले आफ्नो क्षमताअनुसार काम गर्छ । सामाजिक कार्यकर्ता र राजनीतिज्ञले पनि त्यो ढंगले क्षमताअनुसार काम गर्छ । त्यसैले, हामीले यो आधारभूत वातावरण बनाउने काम गर्नुपर्छ ।
अहिले हामीले भोगिरहेको देशको अवस्था चाहिँ कस्तो हो ?
हाम्रो राजनीति कस्तो भयो भने एउटा खालको आन्दोलन र क्रान्तिमा मात्र च्यापियन भयो तर अब हाम्रो आन्दोलन सकियो । अब हाम्रो एउटा मात्र काम सामाजिक–आर्थिक रूपान्तरण हो । आर्थिक आन्दोलन गर्ने भन्ने हाम्रो बुझाइ हो । तर, कसरी ? हामीले समृद्धि ल्याउने कसरी ? युद्ध पनि ग¥यौँ । दुनियाँथोक गरौँ । तर, अब हामीले कसरी यो समाजलाई परिवर्तन गरेर समृद्ध बनाउने ? त्यो इन्जिनियरिङ, त्यो डिजाइन, त्यो भिजन, त्यो दृष्टिकोण बनाउनुपर्छ । अहिलेको राजनीति यो तरिकाले अगाडि बढ्नुपर्छ ।
हामी एउटाखालको वातावरणबाट आयौँ । अहिले पनि त्यही नेतृत्व छ । तर, अब अगाडिको बाटोचाहिँ क्लियर बनाउन सक्नु पर्छ । त्यसका लागि युवा र आम मानिस आवश्यक छ ।
यो राजनीति त खत्तम भयो, मुलुकको भविष्य छैन भन्ने स्थितिमा राजनीतिले भरोसा दिलाउन सक्नुपर्छ । अब आउने पुस्तालाई भविष्य छ भन्ने भरोसा दिने राजनीति निर्माण गर्नुपर्छ । यसमा हामी ‘क्राइसिस’ भन्ने या एउटाबाट अर्को ठाउँमा जान खोजेर पनि जान नसकेको अवस्था छ । तर, फेरि जानुपर्ने बाध्यता पनि छ । अहिले जुनखालको जुनखालको दृष्टिकोणसहितका व्यक्तिहरूलाई लिएर जानुपर्ने छ, त्यो प्रसव वेदना हामीसँग छ । मुलुक र जनताको सवालमा त्योखालको सोचाइ ल्याउनुपर्छ ।
हाम्रो समाज कस्तो छ भने हामीले पुरातन र पूर्वीय मान्यता मूल्यलाई छोड्न थालिरहेका छौँ । नयाँ पनि गर्न खोज्दै छौँ तर हामी पुगेका छैन । अलमल भएको छ । हाम्रो राजनीति र समाज बीच्चको, अन्तरिमखालको परिस्थितमा तैरेर गएको छ । यसले गर्दा अब ढिला नगरिकन हामीले एउटा बाटो पक्रनुपर्छ ।
तपाई प्रहरी संगठनमा हुँदा लोकप्रिय अर्थात सेलिब्रेटी हुनुहुन्थ्यो । काठमाडौंको प्रहरी प्रमुखदेखि सीआइबीको समेत नेतृत्व गर्नुभयो । अहिले फर्केर हेर्दा प्रहरी संगठनको काम र गतिविधि कस्तो पाउनुहुन्छ ?
प्रहरी संगठनलाई राजनीतिकरणर राजनीतिज्ञ, मन्त्री, प्रधानमन्त्रीले आफ्नो अनुकूल चलाउने खालको अभ्यास भयो केही समय । प्रहरी संगठनमा यसलाई यसो गर यसलाई नगर भनेर सरकारमा बसेका मान्छेले अह्राउन थालेपछि त्यो संस्थाको नियम कहाँ पुग्यो ?
केही समय अगाडिसम्म विदेशीहरूले समेत नेपालको सबैभन्दा राम्रो निकाय नै प्रहरी हो भन्थे । सार्कमा सबैभन्दा राम्रो, अनुसन्धानमा अब्बलको उपमा नै दिने गरी उदाहरणीय थियो नेपाल प्रहरी । अहिले फर्केर हेर्दा निरीह जस्तो, काम गर्न नदिएको जस्तो, नेतृत्वले होल्ड गर्न नसकेको जस्तो ।
पहिला सीआईबी भनेपछि जुन भरोसा थियो, विगतका केही घटनाले सीआईबी पनि यस्तो भन्ने भाष्य निर्माण गरेको छ । हिजो जसरी हामीले हेर्न चाहेका थियौँ, त्यो संस्था छैन
सीआईबीकै कुरा गरौंं । पहिला सीआईबी भनेपछि जुन भरोसा थियो, विगतका केही घटनाले सीआईबी पनि यस्तो भन्ने भाष्य निर्माण गरेको छ । हिजो जसरी हामीले हेर्न चाहेका थियौँ, त्यो संस्था छैन । यसलाई सुधार गर्नतर्फ पनि अहिलेको सरकार अथवा जिम्मेवारी लिएका गृहमन्त्री, प्रधानमन्त्रीले गरेको देखिएन । काम त्यो ढंगको छैन ।
अहिले प्रहरीको करियर प्लानको सवाल छ । ५ हजार ६ हजार मानिस छाडेर हिँडिरहेका छन् । प्रमोशन र अवसरका कुराहरूमा पहुँच नभई गलत संस्कार विकास भएको छ । प्रहरीलाई कानूनगत चल्ने संस्थाको रूपमा स्थापित गर्नुपर्छ ।
पहिले प्रहरीको एउटा चौकीलाई त्यो ठाउँमा कति पकेटमार छन्, को-को छ थाहा हुन्थ्यो । फलानो ठाउँमा छ, फिर्ता गर त भनेर च्याप्प पक्रेपछि काम हुन्थो । फलानोको केही हरायो भनेपछि प्रहरीले चोर पत्ता लगाएर च्याप्प पक्रन्थ्यो । त्यो खालको अनुसन्धानात्मक पहुँच थियो । कुन वडामा, कुन ठाउँमा को मान्छे बस्छ भन्ने प्रहरीलाई थाहा हुन्थ्यो । अहिले मेट्रो पुलिसमा त्यो सम्भव छैन ।
जुन ढंगले सुरक्षा चुनौती बढेको छ, त्यही ढंगको साधन स्रोत, सिप, कौशल र प्रशिक्षणमा कमजोरी भएको छ । सार्वजनिक बसमा मोबाइल चोरीका कुराहरु आइरहेका छन् । यो सामान्य युनिफर्म लगाएको ड्युटीमा खटिएको प्रहरीका लागि त यो ठूलो कुरा नै होइन । तर, यसमा फोकस भएन । न्युज र एटेन्सन नहुने कुरामा फोकस नै भएको छैन । अब प्रहरी कस्तो हुन थाल्यो भने कहाँ बढी हाइलाइट हुन्छ, त्यहाँ फोकस हुन थाल्यो । युनिफर्म लगाउने मान्छे सेलीब्रेटी बन्न खोजे । यहाँले मलाई सेलीब्रेटी भन्नुभयो, म त्यस्तो बन्न चाहेको नै होइन । काम गर्दै जाँदा भएँ ।
म काठमाडौं प्रहरीमा हुँदा १७ वटा वाइसीएल क्याम्प बन्द गर्नुपर्ने थियो । प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो । साथीहरूले घेर्न आए, बन्द नगर्नु भन्नुभयो । तर, तपाई त मुलुकको प्रधानमन्त्री हो । पार्टीको अध्यक्ष मात्र हो र ? कानुनको संरक्षण गर्ने तपाई होइन ? हामीले प्रधानमन्त्रीसँग डाइलग गरेर काम गर्यौं । यो व्यवस्था र कानुनभन्दा बाहिर जुनसुकै दस्ता आओस्, त्यो हुँदैन । इन अफ इन अफ भन्ने गरेका थियौं ।
अहिले प्रहरी किन एक प्रकारले दासताभित्र गएको छ ? किन यस्तो बनाइयो भन्दा म प्रहरीको नेतृत्वलाई दोष दिन्नँ, यो प्रहरी हाँक्ने राजनीतिमा रहेका, सरकारमा रहेका मानिसहरूले नै आफ्नो अनुकूल प्रयोग गरे, मुलुकको अनुकूल होइन । जनताको सेवामा भन्दा आफ्नो सेवामा बढी केन्द्रित भए । आफ्ना कार्यकर्ता छुटाउन पाइयोस्, अर्कालाई हाल्न पाइयोस् भन्ने छ । त्यसैमा हाईहाई छ । यो गलत हो । यसलाई सुधार गर्नुपर्छ ।
राजनीति पुरानै ढर्रामा चल्यो सबैले भन्छन्, तर यस्तो हुनुको खास कारणचाहिँ के हो ?
राजनीति नराम्रो होइन । मैले नेता नराम्रो भनेको छैन । भारतका प्रधानमन्त्री मोदीको उदाहरण हेरौं, मोदी रकेट साइन्सदेखि कृषकको खेतबारीको पानी कटाउनेसम्म च्याम्पियन हुन् र ? होइनन् । तर, अहिले इन्डियाले चन्द्रमादेखि कहाँ–कहाँ के गरेको छ ? नेता भनेको एउटा फिगर हो, गर्ने त एउटा टिम हुन्छ । त्यो विज्ञहरुको टिमलाई लगाएर काम गर्नुपर्ने त्यो संस्कार संसारमा छ ।
संसारमा एउटा पत्रकार, एउटा कलाकार आएर प्रधानमन्त्री बन्छ । तर, उसले कसरी काम गर्छ ? ६ महिना, एक वर्षमा कसरी गर्न सक्छ ? उसको टिम हुन्छ । विज्ञ बस्छन् र उनीहरुले भनेको कुरा बोल्छ मात्र । उसले सिक्छ र गर्छ । त्यो नेता आफैं भगवानजस्तो होइन । सामान्य मान्छे हो । तर ऊसँग मैले विज्ञबाट लिनुपर्छ भन्ने हुन्छ । लिडरसिपले त्यसरी राज्यसत्ता र पार्टी सञ्चालन गर्छन् ।
हाम्रो अर्थतन्त्र हेर्दा विदेशबाट पैसा ल्याउनुपर्छ । संसारभरिका मुलुकहरू बाहिरबाट पैसा आएर बनाउने हो । त्यो बाहिरको मान्छेले लगानी गर्दा मैले यहाँ लगानी गरेको छु, नाफा लिएर जानु भन्नेखालको वातावरण र कानुन पनि बनाउने ठाउँमा नभई हामी कसरी अगाडि बढ्छौँ र ? त्यो धान्न सक्दैन ।
यति धेरै काम गर्नुपर्ने छ, यो अर्थतन्त्रले कहाँ भ्याउँछ ? त्यसैले अब हामीले अगाडि बढ्ने सवालमा सोच्नुपर्छ । हाम्रा मान्छेले अमेरिकामा गएर पढाइरहेका छन् । युएनमा गएर ठूला–ठूला पोजिसनमा काम गरेका प्रोफेसरहरू छन् । एप्पल लगायतका कम्पनीमा इन्जिनियर छन् । एक से एक मान्छे छन् । सँगै काम गरौँ भन्ने हो भने त आउँछन् नि । तर, म नै जान्ने हो, मैले गरेपछि हुन्छ भन्नेखालको सोचबाट हाम्रो राजनीति अल्झिएको छ । अब विज्ञहरु राखेर काम गर्नुपर्छ ।
सबैभन्दा ठूलो समस्या सेवा प्रवाहको छ । पैसा नखाइकन कुनै जनताको काम हुन सकेको छैन । सरकारलाई सिंहदरबारबाट घर–घरमा लाने भनेर सुरु गरियो, यसलाई कसरी सुरु गर्ने भन्ने अहिले पनि दुबिधा छ । रोक्ने सवालमा जिम्मेवारी कसको हो ? समस्या छ तर समाधानका अनेक उपाय छन् ।
हामी भ्रष्ट्राचार यस्तो भो उस्तो भो भनेर बोल्छौँ तर यसलाई रोक्न उचित ध्यान छैन । समस्या मात्र देखाएर हुँदैन । यसरी जानुपर्छ, यो बाटो हो भनेर लाग्नुपर्छ । हाम्रो एउटा समस्या के हो भने हामी सिक्ने प्रयास गरौँ । राम्रा उदाहरण संसारभरि छन् । चाइना, इन्डियाको पनि अभ्यास हेरौं ।
यहाँले यसो भनिराख्दा हामीसँग व्यवस्थापकीय क्षमताको अभाव खड्किएको हो ? हामीले निपूर्णता देखाउन नसकेर देशको अवस्था यस्तो भएको हो ?
नेतृत्वले व्यवस्थापन नै गर्ने हो । हरेक क्षेत्रले आफ्नो ढंगले सही तरिकाबाट काम गर्नुपर्छ । तीन महिनामा गर्ने काम एक वर्षमा मैले भयङ्कर गरेँ भन्नु त्यो गलत हो । त्यो भ्रष्टाचार हो । तीन महिनामा गर्नुपर्ने काम मैले ६ महिनामा गरेँ भनेर जुन रेकर्ड गर्छन्, त्यो पनि भ्रषटाचार हो । उसले तीन महिनामा गर्ने काम तीन महिनामै गर्नुपर्छ । जनतालाई ढाँट्ने काम सार्वजनिक मान्छे र नेताहरूले गरेका छन् । राज्यको सोचाइ नै म कसरी सत्तामा टिकिरहने भन्ने भयो । एउटा प्रधानमन्त्रीले १२ घण्टा काम गर्ला, ८ घण्टा चाहिँ म कसरी टिक्ने भनेर बितिरहेको छ । ४ घण्टामा कति निर्णय गर्नु ? कति अध्ययन गर्नु ?
राष्ट्रिय–अन्तर्राष्ट्रिय सवाल होला । अर्थतन्त्रका सवाल होला, यी सबै सवालमा कहिले सोच्ने ? कृषि र उत्पादनका सवालमा खै त काम भएको ? खै त समय ? भनेपछि, यो त चलिरहेको छ भन्ने स्थिति भयो । अब हामीले नयाँ ढङ्गको सोच र दृष्टिकोण राख्नुपर्छ ।
मैले राजनीतिलाई दोष लगाएको हैन । हाम्रो मुलुक यस्तो भुमरीमा छ कि एउटा मान्छे मात्र दोषी छैन । प्रधानमन्त्री दोषी, फलानो मान्छे राम्रो भनेर मात्र भएन, उसका कमी कमजोरीहरू केलाउनुपर्छ । अहिलेको संविधान संशोधन गर्ने स्थितिमा पनि जानुपर्ने हुन सक्छ । नयाँ ढंगले जानुपर्ने अवस्था छ ।
जुन पार्टी भएपनि एकपटक सरकारमा आएपछि उसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ । राम्रो गरे निरन्तरता दिने र नराम्रो गरे जनताको अदालतमा गएर उसलाई हटाएर अर्को मान्छे ल्याउन सक्नुपर्ने प्रणालीमा हामी जानुपर्छ । यहाँ त मिलेर एउटाले यता गर्ने, अर्कोले उता गर्ने । स्टेयरिङ चलाउने ठाउँ नै ठीक नभएपछि अरू त सबै डामाडोल हुने अवस्था छ ।
राजनीतिमा देखा विकृतिले समाजलाई कस्तो असर पार्छ ? भ्रष्टाचार त्यतिकै बढेको छ । सहकारी र मिटरव्याजीको पीडा उस्तै छ । स्थिर सरकार नभएर यस्तो अस्थिरता र विचलन आएको हो ?
अंग्रेजीमा एउटा भनाइ छ । ‘कलेक्टिभ डिजेनेरेशन’ । अर्थात, सामूहिक अधोपतनतिर हाम्रो समाज गएको छ । हामी एक खालको सामूहिक अधोपतनतिर जाँदैछौँ । हाम्रा युवालाई भविष्य छ भनेर भरोसा दिन सकेका छैनौं । भने भरोसा दिने भनेको राजनीतिज्ञले हो । जनतालाई भविष्यप्रतिको भरोसा दिने नेतृत्वले नै हो । यसको स्रोतमा नै समस्या भएपछि यावत समस्या भयो कि भन्ने सवाल छ ।
राजनीतिकै कारणले भनेर त नभनौँला तर राजनीतिमा गाँसिएर आउँछ । जस्तो– इन्डियाकै कुरा गर्नुहुन्छ भने त्यहाँ राजनीति एकदम यताउता भइराख्दा पनि लाइफ सिस्टम सामान्य हुन्छ । त्यो किनभने, कोर संगठन बलियो हुन्छ । मन्त्री आओस, हटोस् सिस्टम राम्रो हुन्छ ।
पहिला प्रहरीमा हुन्थ्यो, एकजना मान्छे जाँदा पुरै शान्त, भोलिपल्ट फेरि ‘ब्याक टु जिरो’ हुने । कुनै पनि निकाय राम्रोसँग चल्नका लागि सबैभन्दा पहिला त्यो निकाय ग्रहण गर्न आवश्यक पर्ने संयन्त्र मेसिनरी बन्नुपर्छ । राजनीति ठीक नभएपछि संस्कृति ठीक हुँदैन । उसको सिस्टम ठीक हुँदैन ।
प्रणालीको व्यवस्थापन नहुँदा व्यक्तिविशेषतिर जान्छ । अहिले प्रणालीमा पनि राजनीतिले गोलमाल गरेको छ । सोसाइटीमा पनि त्यो छ । परिवार, समाज र राष्ट्रप्रति मेरो कर्तव्य के हो भन्ने कुरा भुल्न थालिएको छ । जिम्मेवारी नै भुल्न थालिएको छ । सामाजिक मूल्य पनि छाडिएको छ । यसलाई सुनिश्चित गर्ने राजनीतिले नै हो ।
तपाई यही कुराबाट अभिप्रेरित भएर राजनीतिमा लाग्नुभएको हो ?
राजनीतिमा लाग्ने सोच थिएन । जिन्दगी आफूले चाहेको जस्तो नहुने रहेछ । मेरो जीवनमा यस्तोखालको परिस्थिति निर्माण भयो कि सहभागीको प्रश्न त्यही कारण भयो । तपाई आफ्नो बलियो शत्रुसँग लड्दा त्यति नै बलियो अरू कुनैसँग जोडिनुपर्ने हुन्छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मलाई सिद्ध्याउन खोजेपछि पावरफूलसँग लड्न म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक भएँ । उहाँहरूसँग नजिक भएँ भने यो शक्तिसँग भिड्न सक्छु भन्ने भयो । मलाई सिद्ध्याउने भन्ने भएपछि म कसरी बाँच्ने भन्नेमा गएँ । त्यो बेला आफू बाँच्न कि मैले मुलुक नै छोडेर जानुपर्ने स्थिति थियो ।
तर, म युएनदेखि अन्य राम्रा ठाउँबाट अवसर आउँदा पनि मुलुक छाडेर जाने पक्षमा थिइनँ । यही मुलुकमा जनता र समाज परिवर्तनका लागि जे सकिन्छ, त्यही गर्छु, एउटा इँटा थप्छु भनेर बसेको हो । म परिस्थितिले राजनीतिमा आएँ । मेरो कुनै सोच थिएन । तर, परिस्थितिले यस्तो मोडमा ल्यायो कि राजनीति कि ‘नो मोर’ भनेपछि आएँ ।
मेरो एउटा सिद्धान्त के छ भने कि कुरा गर्दै नगर्ने, गरेपछि डुबेर सयप्रतिशत दिनेखालको छ । म पढाउँदा पनि सय प्रतिशत दिन्छु । म राम्रो नै गरौँ भनेर राति २ बजेसम्म तयारी गर्छु । हिजो म सरकारी सेवामा थिएँ । त्यहाँ पनि मैले सय प्रतिशत नै दिएको छु । त्यसैले मलाई नेपालीले रोल मोडलका रूपमा हेर्छन् ।
मैले राजनीतिमा आइहाले केही छैन भनेको भए पनि हुन्थो तर मैले यहाँ आएर इमानदारीपूर्वक समाज परिवर्तनका लागि पार्टीमा बसेर जनताका लागि काम गरिरहेको छु । मैले सय प्रतिशत दिने प्रयास गरिरहेको छु । मैले जनताको प्रतिनिधि भएर संसदमा बसेर पनि काम गरेँ । अहिले म प्रदेशको महत्त्वपूर्ण जिम्मेवारीमा छु । त्यसले गर्दा अब चाहेर भन्दा पनि परिस्थितिको दास भइयो । म यहाँ आइसकेपछि मैले इमानदारीपूर्वक राजनीतिलाई न्याय गर्नुपर्छ भनेर जनताको सेवामा लागिरहेको छु ।
यहाँको कुरा सुन्दा देशमा नयाँ तरिकाले अगाडि बढ्नुपर्छ भनिरहनुभएको छ ? एउटा शक्तिले खेदेपछि अर्को शक्तिलाई समाउनुपर्यो पनि भन्नुभयो यो अवस्था नआएको भए यहाँ एमालेमा नलागेर नयाँ पार्टीतिर पो रहनुहुन्थ्यो कि ?
त्यो बाध्यता नभएको भए म पढाएर बस्ने थिएँ होला । हुम्लातिर कुनै विद्यालयमा गएर कमसेकम एक वर्षमा ४०÷५० जना विद्यार्थीलाई असल नागरिक बनउन सकियो भने त्यसमा खुसी मिल्ने थियो । त्यसकारण म विदेशी युनिभर्सिटीमा पढाएर बस्नु भन्दा पनि जहाँ कोही मान्छे पुगेको हुँदैन, त्यहाँ गएर ती मानिसलाई अवसर बन्न सकिन्छ, कसरी मुलुकलाई अगाडि बढाउन सकिन्छ भन्ने सवालले बस्ने थिएँ होला । किताब लेख्थेँ र त्यो ढंगले काम गर्ने थिएँ कि ?
अहिले म गलत पार्टीमा छु कि भन्ने ढंगले तपाईँले सोच्नुभएको होला । त्यस्तो छैन । म जुन पार्टीमा छु, हामी सामाजिक न्याय र समृद्धिसहितको समाजवादमा पुग्ने भनेर त्यो दृष्टिकोण र मार्गचित्रमा मेरो पार्टी छ । म त्यसमा एउटा अभियन्ता छु । यसमा मिसन असल छ । म यो मिसनलाई बलियो बनाएर लैजान्छु भन्ने ढंगले लागेको छु ।
परिस्थितिले गर्दा राजनीतिमा लाग्नु नपरेको भए हुम्लामा नभएर कोलम्बिया यनिभर्सिटीतिर पो पढाइराख्नुभएको हुन्थ्यो कि ?
मेरी श्रीमतीलगायत परिवारको दबाब विदेशमै बस्नुपर्छ भन्ने थियो । तर, मलाई देशप्रति के भाव थियो, त्यसले स्वदेशमै ल्यायो । संसारमा जहाँसुकै गए पनि यहीँका डाडाँले लोभ्यायो । युएनमा काम गर्दा अफ्रिकादेखि धेरै देशमा गएँ, यहाँ नआई चैन मिलेन ।
अहिले म पूरै समय राजनीतिमा छु । म काम गर्छु । यहाँ बसेर काम गर्छु भनेरै आएको हुँ । अवसरहरू छोडेर यहीँ जीवन समर्पण गरेको छु ।
तपाई नेकपा एमालेको नेता एवं पूर्वसांसद पनि हुनुहुन्छ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ दलका रुपमा आएको छ । वर्तमान गृहमन्त्री त्यही पार्टीका हुनुहुन्छ । तपाईँ गृहप्रशासन बुझ्नु भएको व्यक्तिका नाताले रास्वपाका सभापतिमाथि संसदमा उठेका प्रश्नलाई कसरी हेर्नुहुन्छ ?
राजनीति गर्ने मान्छेको आधारभूत सामान्य जग भनेको इमानदार हुनुपर्छ । इन्मान्दारिता छैन भने त्यो व्यापार हो । धेरै राजनीतिज्ञले राजनीति अर्थात् समाजसेवा भन्दा आफ्नो उद्योगधन्दा चलाइरहेका छन् । त्यो गलत राजनीति हो ।
म ठूलो र पुरानो पार्टीको कार्यकर्ता हुँ । मैले बोल्दा आलोचना नै गर्छ भन्ने बुझ्छन् । तर, मैले र मेरो पार्टीको उद्देश्य यो मुलुकलाई समृद्ध बनाउने हो । अर्को कुनैले आएर मसँग उत्कृष्ट आइडिया छ, म चलाउन सक्छु भनेर आउँछ भने त्यसलाई स्वागत नै गर्नुपर्छ ।
रवि लामिछानेमाथि जुन प्रश्नहरू उठेका छन्, त्यो उहाँ आफैंले स्पष्ट पार्नुपर्छ । भागेर हुँदैन
उहाँहरू आएर केही सिट जित्दै गर्दा मलाई खुसी लाग्यो । मभन्दा राम्रो काम गर्न सक्नेलाई अगाडि बढ्न दिने हो । राजनीतिमा इमानदारिता चाहिन्छ भनेर आएको हुँ, त्यसैले उहाँहरूलाई सकारात्मक रूपमा लिएको हो । तर, पछिल्लो समयमा नयाँ आउने साथीहरूको जग, बोली, व्यवहार र कार्यशैली हेर्दा आशा गर्न सक्ने देखिएन । रवि लामिछानेमाथि जुन प्रश्नहरू उठेका छन्, त्यो उहाँ आफैंले स्पष्ट पार्नुपर्छ । भागेर हुँदैन ।
विकासोन्मुख देशका राजनीतिज्ञले सत्ता राजनीतिमा बढी विश्वास गर्छन् । नेल्सन मण्डलाले आफूले सिस्टम बनाइदिए, अब अरूले गर भनेका थिए । सधैँ मैले गरेर हुँदैन भनेका थिए । उहाँ एकपटक भन्दा बढी राष्ट्रपति हुनुभएन । महात्मा गान्धी आफै प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो तर नेहरुलाई बनाउनुभयो । समृद्ध मुलुकमा यो पद लिइदिनुपर्यो भन्दा म सक्दिनँ भन्ने संस्कार छ । अमेरिका पनि त्यही छ । विकासोन्मुख राष्ट्रमा सत्तामोह राजनीति हाबी छ ।
अमेरिकामा २००८ मा बाराक ओबामा राष्ट्रपति हुँदा बीमा, बैङ्कहरू टाट पल्टिन थालेपछि अब केन्द्रीय बैंक प्रशासन कसले सम्हाल्न सक्छ भनेर खोज्दै जाँदा एकजना अर्थशास्त्रका प्रोफेसर बेन बर्नान्कीको नाम आयो । राष्ट्रपतिले ह्वाइट हाउसमा चिया खान बोलाउँदा उनले एक महिनासम्म आउन भ्याउँदिन, सरी भन । विद्यार्थीको परीक्षा, थेथिस हेर्नुपर्छ भने । पछि सल्लाहकारले ओबामालाई उनकै घरमा भेट्न जान भनेपछि ओबामाले म नै तपाई कहाँ चिया खान आउँछु भने ।
भेटमा ओबामाले उनलाई फेडरल बैंकको गभर्नर बन्दिनु पर्यो भन्दा म सक्दिनँ, भनेर यो मेरो काम होइन भनेर पन्छिए । तर, मुलुकलाई नै आवश्यकता छ भनेपछि उनले मानेको उदाहरण छ । यसरी पद लिन नमानेका उदाहरण बाहिरी देशमा धेरै छन् । पद सबै कुरा होइन भनेर मान्छेले देखाएका छन् । हाम्रोमा चाहिँ पदका लागि जे गर्ने भन्ने छ ।
अहिले आएका नयाँ पार्टीहरूले नयाँ सोच देखाउँछन् कि भन्ने एउटा आशा छ । स्वतन्त्र पार्टीको अध्यक्षका कारण प्रतिनिधिसभा नै नचल्ने अवस्था देखिएको छ, यो जाँच हुनुपर्छ । उहाँलाई म निर्दोष छु भन्ने लाग्छ भने प्रमाणित गर्नुपर्यो । नत्र भागेर हिँड्न सक्नुहुन्न । उहाँले दुईवटामा एक गर्नुपर्छ– कि राजनीति नै छाड्नुपर्यो । कि म निर्देश छु भनेर प्रमाणित गर्नुपर्यो । यता पनि मिलाउने, उता पनि मिलाउने, पुलिसलाई सेकताप गर्ने र आफू अगाडि जाने हो भने के राजनीति गर्नु ?
यहाँको कुरा सुन्दाखेरि अहिलेको सरकारसँग सन्तुष्ट हुनुहुन्न जस्तो लाग्यो नि ?
मेरो पार्टी सरकारमा छ, किन असन्तुष्ट हुने र । गति लिन्छ भन्ने आश छ । किनभने, हाम्रो पार्टी सरकारमा आएपछि सही दिशाबाट सरकार अगाडि बढ्नुपर्छ भन्ने मेरो पनि धारणा छ । बिस्तारै हुन्छ । गठबन्धनमा पनि खटपट छ, आशा गरौँ राम्रो हुन्छ । अहिलेको समीकरणले पहिलेको गठबन्धन भन्दा राम्रो काम गर्छ । डेलिभरी गर्छ भन्ने छ ।
मेरो पार्टी पनि सरकारमा भएको नाताले मैले मेरा मन्त्री र साथीहरूलाई भनिरहेको छु, डेलिभरी चाहिन्छ । हिजोको हिसाबले हुँदैन । मैले मेरो पार्टीका मन्त्रीहरुलाई भेट्दा भनिरहेको छु । एमालेका मन्त्रीले केही नयाँ काम गर्यौं भन्ने स्थिति होस् भनिरहेको छु । उहाँहरूले हामी गर्छौं भन्नुभएको छ ।
तर, आधारभूत रुपमा प्रधानमन्त्रीले त्यो वातावरण दिनुपर्छ । हिजोका गल्ती, कांगेससँग बस्दाका कमी–कमजोरी र घात– प्रतिघात अनुभव गरेर आउनुभएको छ । अब केही गर्नुहोला भन्ने छ ।