स्वास्थ्य

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

By खबरहब

April 19, 2024

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा वडा नम्बर-८ का दर्जनौँ महिला लाभान्वित भएका छन् ।

वडाको आयोजना तथा लालीगुराँस सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त एक दिने शिविरमा वडा नम्बर-८ आसपासका  एक सय ७२  जनाले निःशुल्क स्वास्थ्य चेकजाँच, निःशुल्क भिडियो एक्स-रे, मुटुको इसिजी, मुटु मिर्गौलाको चेकजाँच, स्त्री रोग,पाठेघरको मुखको क्यान्सर,तथा हात खुट्टा पोल्ने र झमझमाउने लगाएको परीक्षण तथा चेकजाँच गरेका छन् ।

शिविरमा विशेष गरी महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो।शिविरमा स्वास्थ्य परीक्षण गर्दा  विभिन्न रोग देखा परेका महिलाहरूलाई  औषधि  समेत  वितरण गरिएको वैतेश्वर गाउँपालिका-८ का वडा अध्यक्ष शान्त बहादुर जिरेलले जानकारी दिए।

शिविरलाई लालीगुराँस  सामुदायिक अस्पतालका डा. सुरेन्द्र तामाङ र विवेक सापकोटाले सहजीकरण गरेका थिए । शिविरमा ७४ जनाको भिडियो एक्स-रे,१२ जनाको इसिजी र अन्यलाई जनरल चेकजाँच गरिएको थियो ।

वडाले शिविरको अवसर पारेर वडाका स्वास्थ्य बिमा गर्न छुटेका बृद्धाबृद्धहरुको बिमासँगै सामाजिक सुरक्षा भत्ता समेत स्वास्थ्य चौकी बाटै वितरण गरेको थियो ।

वैतेश्वर गाउँपालिकाले मंगलबार र बुधबार पनि वडा नम्बर २ र ५ पनि दुई दिने नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा ग्रामीण भेगका दुई सय ८६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

सुबास बस्नेत