काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ? अवश्य पनि त्यही फुटेका टायल, बिजुली/टेलिफोनका पोल, भत्किएर पानी जमेको खाल्डो त्यसमा पनि बीचमा बनाइएका साना ठूला मठमन्दिर र सडकमा छरिएर हिँडेका पैदल यात्री नै होला । त्यसमाथि पैदलयात्रीलाई धकेल्दै आउने मोटरसाइकल र साइकल !
फुटपाथमा यी समस्या सदावहार छन् । उही पुराना समस्या – टायल टाँसिएका पेटी (फुटपाथ) पनि पैदलमैत्री छैनन् । कति ठाउँमा त पेटीका टायल उप्किएर खाल्डो परेको छ ।
यो त भयो हामी सबैले देखेका समस्या ! तर हामीले भोगेर पनि अड्कल नगरेको फुटपाथमा अर्को समस्या हो– बिजुलीका पोल वा तेर्स्याइएका पाइप, कहीँ पार्किङमा राखिएका मोटरसाइकल त कतै व्यापारिक सामानको बिक्रीस्थल !
विदेशी पाहुना नेपालमा हाम्रा प्राकृतिक सम्पदाको सौन्दर्यलीला सुनेर हर्षोल्लासपूर्वक यहाँ आउने गर्छन् । तर विमानस्थलदेखि नै शुरु हुने उकुसमुकुसले जो कसैलाई अत्यास लाग्छ । प्राकृतिक वातावरण जोगाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै विश्वमै पैदलयात्रीलाई पहिलो प्राथमिकता दिने गरिन्छ ।
काठमाडौंमा गाडीमा कुद्ने ल्याकत धेरैको छैन । राजधानीमा झन्डै ४० लाख जनसंख्या बसोबास गर्छन् । त्यसमा पनि ३० लाखले त फुटपाथकै प्रयोग गर्छन् । काठमाडौं केही घण्टा हिँडेरै छिचोल्न सकिने शहर हो । २० किलोमिटर हिँडे गन्तव्यमा पुगिन्छ ।
तर विडम्बना हिँड्नेहरू जति धेरै, बाटो उति कम, कम बाटो, बढी मिचाइ, जति मिचाइ, उति सवारीको किचाइ । ट्राफिक प्रहरीको रेकर्डमा पनि बढी दुर्घटना पैदल यात्रीका नै हुने गरेको पाइन्छ यसको कारण के होला त ?
यस्तै विभिन्न समस्याका कारण हाम्रा फुटपाथमा मान्छे विरलै हिँड्छन् । हिँड्न नचाहेर पनि हो । त्यो भन्दा पनि हिँड्न लायकै नभएर हुन सक्छ । काठमाडौं महानगरपालिका भित्र पूर्वाधार निर्माणका काम पनि बाह्रै महिना चलिरहेका हुन्छन् । कहिले सडक, कहिले ढल तथा खानेपानी र विद्युतका कामहरू । तर तीन चौथाइ मानिसले उपयोग गर्ने फुटपाथमा नीति निर्माताको ध्यान पुगेको देखिँदैन ।
फुटपाथ भत्काएको समयमै निर्माण सम्पन्न नगर्दा पैदल यात्रुले थप हैरानी व्यहोर्नु परिरहेको छ । अझ बागबजार लगायतका मुख्य सहरहरूमा ढल व्यवस्थापन, डिल्लीबजारमा विद्युत् प्राधिकरणका तार व्यवस्थापन जस्ता काम महिनौं वित्दा पनि सकिएका छैनन ।
उपत्यकाको सडकमा आमाबाबुका हात समातेका केटाकेटी सडकमै हुन्छन् । कतिपय आमाबुबा व्यस्त हुने हुँदा बालबालिका आफै स्कुल जाने र आउने समेत गर्छन् । बालबालिकामा पनि त्यही ठूलै मान्छेको देखावटी उनीहरू पनि सडकबाट नै हिँड्ने गर्छन । साथै सडकमै सामान बोकेका भरिया, साइकलमा फलफूल–तरकारी बोक्ने, वृद्ध र शारीरिक अपांगता भएकाहरू सबै मानिसहरू हुन्छन् । हिँडिरहँदा सधैँ एकनास भने हुँदैन कुनै बेला पछाडिबाट गाडीले छोइदेला ।
गाडी बाइक वा अन्यमा सवारहरू आँखा ठूला पार्दै हप्काउँदै भन्न थाल्छन्– ‘फुटपाथमा हिँड्नु पर्दैन, ठोकिदिउँ, मर्न मन छ देखि नाना थरीका बचन लगाउन थाल्छन् ? तिनलाई कसले सम्झाउने– थाहा नभएर होइन, फुटपाथको आकारअनुसार हामी अट्दैनौँ । लाइन कुरेर हिँड्दा स्कुल कलेज र कार्यालय समय हुन्छ । त्यसमा पनि दुवैतिरबाट आउने–जानेले पेलेर मान्छेको त्यो लाइन कहिले सर्नु ? यही हो पैदलयात्रीको समस्या !
भएकै फुटपाथमा पनि बीचमा गाडिएका बिजुलीका पोल, टेलिकम र निर्माण सामग्री छरपस्ट हुँदा झनै शारीरिक रूपमा नै सक्षम मानिसलाई त निकै समस्या परिरहेको छ भने दृष्टिविहीन वा शारीरिक अपांगता भएका मानिसलाई कति अप्ठयारो भएको होला भन्ने त हामीले अनुमान लगाउन नसकौँला ।
महानगरपालिकाले चालु आर्थिक वर्षमा २ अर्ब १५ करोड रुपैयाँको लागतमा पैदल मार्ग मर्मत तथा सुधार गर्ने योजना बनाएको थियो । के त्यो बजेट टायल फेर्न र ढलको लागि मात्रै हो त दीर्घकालीन सोच खै ? पैदल यात्रीका समस्या भने ज्युँका त्युँ छन् ।
महानगरले राम्रो काम त गरेको छ फुटपाथमा पसलहरू हटाएको छ, हिँड्न केही हदसम्म सजिलो भएको पद्मकन्या क्याम्पसमा अध्ययनरत छात्रा रचना बजगाईं भन्छिन् ।
उनी भन्छिन्, ‘फुटपाथका पसल मात्रै पैदल यात्रीका समस्या रहेनछन् । फुटपाथ निर्माण नै धेरै समस्या देखिन्छ ।’ उनी थप्छिन्, ‘उपत्यकाका फुटपाथ यति साँघुरा छन् कि दुई जना साथी पनि हात समातेर हिँड्न मिल्दैन । गफ गर्दै हिँड्दा हिँडेको थाहा हुँदैनथ्यो । तर मुख्य सडक फराकिलो पार्दा हिँड्ने बाटो मिचिएको छ । धेरैजसो एक मिटर चौडा छन् । कति त आधा मिटर । यस्तोमा फुटपाथ छ भनेर के गर्नु ? अफिस समयमा होस् या त स्कुल कलेजको समयमा होस् कुम जुध्छ ।’
रचनाकै साथी प्रतिमा कार्की भन्छिन्, ‘यो फुटपाथमा अटेसमटेस हिँड्नुभन्दा गाडीकै छेउ लागेर फटाफट हिँडौँ जस्तै हुन्छ । कतिपय अवस्थामा मोबाइल कामवश चलाएर हिँड्यो भने कुन पोलमा ठोकिने हो कि कुन खाल्डामा परिने हो ठेगान नै छैन ।’
अब घाममा छाता ओढेर हिँड्ने मन्छेले त झन् १० मिनेटमा पुग्ने ठाउँ २० मिनेटमा पनि नपुगिने, पुरै बाटो एउटा छाताले ढाकिने उनी बताउँछिन् ।
काठमाडौंको घट्टेकुलोमा १० वर्ष देखि किराना पसल गर्दै आएकी सरिता घिमिरेको पसल अगाडि दुई वटा बिजुलीका पोल छन् । त्यसैमाथि घर अलिक घुमाउरो ठाउँमा छ र दुवै तर्फबाट आएका सवारी साधनहरू महिनामा एक दुई पटक त लडेकै हुन्छन् । मानवीय ठूलो क्षति नभए पनि सवारी साधनमा भने केही क्षति हुने उनी बताउँछिन् । ती दुई पोल मात्रै हटाइदिए पनि निकै राहत मिल्ने घिमिरे बताउँछिन् ।
रामभजन शाह जो साइकलमा कवाडी बटुल्ने काम गर्छन्, उनको पनि गुनासो त्यही साइकल गुडाएर हिँड्ने ठाउँ नै छैन । उनी भन्छन्, ‘सडकमा साइकल चलाएर हिँड्दा अन्य सवारीचालकहरू रिसाउनु हुन्छ, फुटपाथमा बाटो सानो छ, त्यहाँ झन् गाली खानुपर्छ ।’
पैदल यात्रीलाई सहज होस् भनेर फुटपाथका पेटी सबै निर्माण भइसकेको र ब्लकहरू पनि छापेको काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर बताउँछन् । फुटपाथमा भएका बिजुलीका पोलहरू तत्काल अरू स्थानमा सार्न नसक्ने बताउँदै उनी भन्छन्, ‘विद्युत प्राधिकरण र टेलिकमले ठोस समाधानको बाटो पहिल्याएर सार्नुपर्छ, त्यसको लागि जग्गा महानगरले नै दिनुपर्छ । त्यसमा हामी समाधान खोजेर सार्ने वातावरण मिलाउँछौँ ।’
महानगरमा पैदल यात्रीका धेरै गुनासाहरू आउँछन्, त्यसमा अर्को व्यवस्था नहुँदासम्म यो यथावत् रहने उनको भनाइ छ । बिजुलीका पोल र टेलिकमका सामग्री व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
महानगरले सुरक्षित ठाउँमा नै फुटपाथ बनाएको छ त्यसमा पार्किङहरू पनि गर्न नदिइएको उनको भनाइ छ ।
महानगरले सडक पेटी (फुटपाथ) तथा अन्य सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न/गराउन र सवारी साधन पार्किङ गर्न पनि रोक लगाएको छ । तर त्यसको पुरै कार्यान्वयन भएको पाइएको छैन ।
व्यवसायी नअटेका उपत्यकाका फुटफाटमा प्राधिकरणका पोल र नेपाल टेलिकमका सामग्री बाधक देखिन्छन् । तर सरकारी निकायबीच तालमेल नमिल्दा वर्षौंदेखि समस्याले निकास पाएको छैन ।