समाचार

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

By खबरहब

May 19, 2024

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो ।

निर्माणमा संलग्न इन्जिनियर विकास श्रेष्ठले ठेक्काको समयावधि सकिन एक वर्ष बाँकी रहेकाले सो अवधिमा जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । पुल निर्माणका लागि तीन वर्षको सम्झौता भएको थियो ।

इन्जिनियर श्रेष्ठले पिलर ठड्याउन पाइलिङ भइरहेको तथा बर्खाअगावै पिलर खडा गरिसक्ने बताए ।

स्थानीय दुग्ध व्यवसायी शिवचरण रानाले वर्षाका बेला नदी तर्न नसकेर कलुवापुर हुँदै धनगढी जानुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले पुल निर्माणपछि छोटो बाटोबाट एक घण्टाआगावै धनगढी पुग्न सकिने बताए ।

वडाध्यक्ष नवलसिंह रानाले नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघिको बाढीमा क्षतिग्रस्त भएपछि तिलकी, दुवाहा र दमलपट्टिका बासिन्दालाई नदी तर्न निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको बताए ।