देश/प्रदेश

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

By खबरहब

May 19, 2024

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकले छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने छ ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलको हिजो बालुवाटारामा बसेको बैठकले सहकारी ठगी प्रकरणमा छानबिनका लागि समिति गठन गर्ने सहमति भए लगत्तै कार्यदल बनाइएको थियो ।

कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

शनिबारको बैठकमा दलहरुबीच छानबिन समिति गठन गर्ने सहमति भए पनि सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा केही खुलाइएको छैन ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएकाले नाम किटेरै समिति गठन गर्नुपर्ने माग राख्दै पटक पटक संसद बैठक अवरुद्ध गर्दै आएको छ ।