राजनीति

छानबिन समितिको टीओआरमा कुरा मिलेन, संसद् नचलाउन सभामुखलाई विपक्षीको आग्रह

By खबरहब

May 19, 2024

काठमाडौं- नेपाली कांग्रेससहितका विपक्षी दलहरूले सहकारी ठगीबारेमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको टीओआरमा कुरा नमिलुञ्जेल संसद् बैठक अघि नबढाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।

विपक्षीको यो आग्रहसँगै आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक तत्कालका लागि अनिश्चित भएको छ । संसदीय समिति गठन नहुँदासम्म संसदका नियमित काम अघि बढ्न नदिने निर्णय विपक्षी दलहरूको बैठकमा भएको जानकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

संसद् अघि नबढाउन आग्रह गर्दै विपक्षी दलहरूको तर्फबाट शाही सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए ।

‘संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई आग्रह गरेका छौँ,’, शाहीले भने, ‘विपक्षी दलको बैठकको निर्णय हामीले सभामुखलाई जानकारी गराएका छौँ ।’

यता सहकारी ठगीसम्बन्धी कार्यदलमा सहमति गर्न सहयोग मागेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक सिंहदरबार पुगेका छन् ।