राजनीति

राष्ट्रिय सभाको बैठक पनि सर्‍यो

By खबरहब

May 19, 2024

काठमाडौं– प्रतिनिधि सभा बैठक स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

राष्ट्रिय सभाको बैठक यसअघि दिउँसो १ बजेर १५ मिनेटका लागि डाकिएको थियो । अब सो बैठक ३ बजेर १५ मिनेटमा बस्नेछ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसद्को बैठक प्रभावित भएको छ ।  बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ ।

शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् ।  अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि मिसिएका छन् ।

अहिले कार्यदलमा छानबिनको दायरा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिँदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुन नसक्ने बताउँदै आएको छ ।