राजनीति

संसद्‍मा रविले भने : म बहुलाहा होइन

By खबरहब

May 19, 2024

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायल गरेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले खेदेको बताएका छन्।

उनले आफूमाथि लागेको सहकारी ठगीको छानबिन गर्न संसदीय समिति बनाउन तयार रहेको पनि बताएका छन् ।

आफूहरू भर्खर राजनीति सिकिरहेको बताउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका आफ्ना सांसदहरूतर्फ लक्षित गरी कसैलाई नठगेको विश्वास दिलाए।

उनले कांग्रेसलाई सत्ता छाड्नुको पीडाले पोलेका पनि बताएका छन् । उनले वरिष्ठ गायक दीप श्रेष्ठको गीत सम्झिँदै आफूलाई जसले जे भने पनि फरक नपर्ने बताए।

‘वरिष्ठ गायक दीप श्रेष्ठको गीत छ नि, भन्नेहरूले जेसुकै भनुन्, आमा तिनीहरूले जेसुकै भनुन् बहुलाहा होइन’, उनले भने ।

रास्वपा सभापति लामिछाने वाइडबडीदेखि भृकुटीमण्डपसम्म भएका भ्रष्टाचारकाण्डमा मुछिएकाहरू अहिले संसद्मै नारा लगाउँदै बसेको बताए ।

उनले महामन्त्री गगन थापाले बाख्रा पाल्न लिएको अनुदानमा घोटाला भएकोदेखि अरु काण्डबारे पनि चर्चा गरे ।

उता उपसभापति धनराज गुरुङतिर लक्षित गर्दै कूटनीतिक राहदानी दुरुपयोग गरेर मानव तस्करी गरेको कुरा पनि बैठकमा उठाए ।